जुन ३, २०११/ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अनुसार सूचिकृत ५९ वटा आदिवासी जनजातिहरु मध्ये छन्त्याल एक आदिवासी जनजाति हो । छन्त्याल जातिको उत्पत्ति र इतिहासको तथ्यगत प्रमाणहरु हालसम्म नपाइए तापनि वर्तमान समयमा मध्य पहाडी क्षेत्र अन्तर्गत धवलागिरी अंचलको म्याग्दी जिल्लाको उत्तर पश्चिमको कुइने, मंगलेखानी, गुर्जाखानी, मल्कवाङ्ग, पाखापानी, बरंजा, ताकम आदि र बाग्लुङ्ग जिल्लाको तमान, खुंखानी, बोङ्गादोभान, अधिकारी चौर, बुर्तिवाङ्ग देविस्थान, दमेक, लेखानी, धम्जा, अमरभूमि आदि तथा गुल्मी जिल्लाको वामीटक्सार, भार्से, वडा गाउँ, डिप्रुङ्ग, विसखुर्क, तम्घास खानीगाउँ, दुवीचौर आदि गा.वि.स. हरु मूल थलो हुन ।
त्यसैगरी प्यूठान जिल्लाको स्याउलीवाङ्ग, खवाङ्ग गा.वि.स. मा पनि बसोबास रहेको छ । त्यसैगरी यस जाति रुकुम, रुपन्देही, दाङ, काठमाडौं, कास्की आदि जिल्लाहरुमा पनि पैmलिएर रहेका छन् । छन्त्याल जातिले आफ्नो बसोवास स्थल वरिपरिको भौगोलिक वातावरण र अवस्थासँगै आफ्नो छुट्टै भाषा, संस्कृति, धर्म, संस्कार र मूल्य मान्यताको विकास गरेको पाइन्छ । यस जातिको ऐतिहासिक उत्पत्ति, सामाजिक रीति थिति, चालचलन, चाडपर्व, देवी देवता, धर्म, संस्कार, संस्कृति, भेषभूषा, विश्वास, आस्था, मूल्य मान्यता एवं प्राकृतिक श्रोत साधनहरुको उपयोग गर्ने तरिका अन्य जातजातिहरुको भन्दा फरक हुनु नै यस जातिको मौलिक पहिचान हो ।
मानव जातिले उत्पत्तिको समयदेखि वर्तमानसम्म आइपुग्न विभिन्न युग र चरणहरु पार गरेको कुरामा सबै विद्वानहरु एकमत भएको पाइन्छ । मानवले आफूलाई विकसित गराउँदै आउने क्रममा ढुङ्गेयुग, जंगली युग हुँदै निश्चित समूहमा घुम्ने, शिकार गर्ने अवस्थालाई पार गरेको भनाईहरु पाइन्छन् । यसै क्रममा अनेक मानव समूहहरु घुमन्ते सामाजिक अवस्थाबाट निश्चित ठाउँमा बसोवास गर्ने, एउटै भाषा बोल्ने, एकै किसिमको सामाजिक व्यवहारहरुको अभ्यास गर्ने र साझा आर्थिक जीवनमा आबद्ध हुने, सामाजिक अवस्थाबाट संक्रमण गरेपछि जातिहरु अस्तित्वमा आएको अनुमान गर्न सकिन्छ ।
यस क्रममा नेपालमा थोरै संख्यामा रहेको आदिवासी जनजाति छन्त्यालको अध्ययन गरी उत्पत्ति र इतिहासबारे थाहा पाउन निकै कठिन र चुनौतीपूर्ण भएको देखिन्छ । यस जातिको परम्परा, सामाजिक चालचलन र व्यवस्था, संस्कृति, भाषा, धर्म र बुढापाकाहरुको भनाई र हालसम्म विभिन्न व्यक्तिहरुद्वारा प्रकाशित पुस्तक, पत्रपत्रिकाका आधारमा यस जातिबारे केही महत्वपूर्ण कुराहरु थाहा पाउन सकिन्छ । जुन कुराहरु यस जातिको उत्पत्ति र इतिहाससँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धित छन् । यस जातिका बुढापाकाहरु आफुहरु मंगोलियन वंशको भएको बताउँछन् । उनीहरुको अनुसार यस जाति नेपालको उत्तराखण्डबाट शिकार खेल्दै विभिन्न ठाउँमा अस्थायी बसोवास गर्दै नेपाल आएको हो भन्छन् ।
बुढापाकाको भनाईमा अनुसार छन्त्यालहरुको पूर्खा, उहिल्यै प्राचीन समयमा छयान्टुङ भन्ने ठाउँमा वसोवास गरी त्यहीँ खानी खनेको र कालान्तरमा म्याग्दी, बाग्लुङ्ग जिल्लाको विभिन्न ठाउँमा खानी खोज्दै आएर त्यही पेशालाई निरन्तरता दिएका थिए । हाल यो जाति बस्ने मूलथलोहरुमा प्रशस्त मात्रामा खानीका सुरुङ्गहरु जीवित छन् । यस जातिको उत्पत्तिको तथ्यगत प्रमाण, अभिलेख, वंशावली र अन्य दस्तावेजहरु पाउन सकिएको छैन । तैपनि एउटा कुरा सहजै के अनुमान गर्न सकिन्छ भने कुन ठाउँमा कहिलेदेखि वसोवास गरी खानी खन्न थाले भन्ने कुरा यस जातिको बसोवास रहेको गाउँहरुमा भएका खानीका सुरुङ्गहरुको अध्ययन गरी पत्ता लगाउन सकिने सम्भावना छ ।
- लेखक नेपाल छन्त्याल संघका महासचिव हुनु हुन्छ