मे २, २०११/छन्त्यालहरुले परम्परागत रुपमा मनाउने चाडपर्व आफ्नै किसिमका छन् । जसले विशेष महत्व बोकेका हुन्छन् । ती परम्परागत चाडपर्वहरु माघे संक्रान्ति र श्रावणे संक्रान्ति, भूमेपुजा र कुलपुजा आदि हुन् । यसमध्ये पहिलो र दोश्रो पर्व यस जातिले बढी महत्वपूर्णका साथ मनाउने गरेको पाइन्छ ।
माघे संक्रान्ति (छारमेङ्ग)
माघे संक्रान्ति यस जातिको नयाँ वर्षको प्रथम दिन हो । त्यसैले यसलाई नव वर्षको रुपमा पनि मनाइन्छ । यस दिनदेखि जाडो मौसम विस्तारै कम हुँदै जाने र गर्मी मौसमको शुरुवात हुने, वर्षे बाली भित्र्याएर हिउँदे बाली लगाई सकिएको हुनाले साथै यसदिन देखि तारा हान्ने खेल (आर्चरी) शुरु हुने भएको कारणले गर्दा छोरमेङ्ग हिउँदे पर्वको रुपमा धुमधुामसँग मनाइएको देखिन्छ ।
यस पर्वमा बिहानै घर लिपपोत गरिन्छ । बिहान नजिकैको खोलामा गएर नुहाई धुवाई गरी तामाको पैसा, मासको दाल, अक्षता पाती आदिलाई पवित्र विरुवा गोगनको पातमा राखी बत्ती बालेर जलदेवताको नाममा नदीमा बगाई टिलाकुटी साटी चेलीबेटीहरुलाई दक्षिणा गरिन्छ । त्यसपछि घरमा आएर सगुनको रुपमा पकाएको विभिन्न परिकारहरु तरुल, भ्याकुर, गिठ्ठा, रोटी, रक्सी मासु आदि मिलाएर पितृ चढाइन्छ ।
यस पर्वमा तरुल, भ्याकुर, गिठ्ठा, आदि विभिन्न कन्दमुलका परिकारहरु विशेष रुपले महत्वपूर्ण हुन्छन् । घरपरिवार इष्टमित्रहरु भेला भएर खानपान गरिसकेपछि पुरुषहरु एक ठाउँमा भेला भै तारा खेल शुरु गर्दछन् भने महिलाहरु एक आपसमा रमाइलो गरी मनाउँछन् । यदि गाँउमा कुनै बालकको पुतपुराउ खाने रहेछ भने साँझ परम्परा अनुसार तयारी गरी पुतपुराउ खान नाचगान गर्ने चलन रहेको पाइन्छ ।
श्रावणे संक्रान्ति
यस जातिले श्रावणे संक्रान्तिलाई दोश्रो ठूलो पर्वको रुपमा मनाउँछन् । श्रावण महिना कालो महिना हुनुको साथै बढी बाढी पहिरो हुने र मर्ने बाँच्ने कुनै ठेगान नहुने भएकोले राँके बोक्साको पुजा गरी लुतो फाल्दा परिवारमा आइपर्ने विभिन्न विपत्तिहरु, रोग, व्यथा, घाउ खटिरा नहुने साथै यस महिनादेखि धामी झांक्री देवी देवता ओपा (जमीन) भित्र पस्ने हुनाले यस पर्व मनाउने गरेको पाइन्छ ।
यस पर्वमा बिहानै घर लिपपोत गरी चोखो बनाउँदछन् । त्यसपछि विभिन्न परिकारहरु सेल रोटी, खीर, माछा मासु, लगायत जाँड, रक्सी बनाएर पितृ चढाई सबै इष्टमित्र नातागोता भेट भएर खुशीयाली मनाउँदै खान पान गर्दछन् । साँझ भलायो, राँके झार, सरेतो, टिमुर, कुरिलोको हाँगा जम्मा गरी आँगनको डिलमा रेखी लगाई दियालो बाली धुप बत्ती गरी विभिन्न सगुनहरु चढाएर राँके बोक्साको पुजा गरिन्छ । पुजा सकिएपछि अगेनाबाट चारवटा अगुल्टो चारै दिशापारी राँकेपाके, लुतो पुतो, घाऊ, खटिरा, रोग व्याधी, हैजा सबै यसै लुतोले लैजा भन्दै अगुल्टाको लुतो फाल्दछन् । लुतो फालिसकेपछि दगुर्दै घरभित्र पसी केही समय ढोका बन्द गरी बस्दछन् ।
यदि ढोका बन्द नगरेमा राँके बोक्सा घरभित्र छिरेर अनिष्ट गर्दछ भन्ने जनविश्वास रहेको पाइन्छ । उक्त अवसरमा आफ्ना दाजुभाई चेलीबेटी भेला भई पुजाआजा गरी मनाउँदछन् । साँझमा धामी झाँकी बस्दछन् । श्रावणे संक्रान्ति पछि देवीदेवता ३ महिनाको लागि ओपा पस्छन् । त्यसैले यस समयावधिमा ढ्याङ्ग्रो बजाएर झाँकी बस्नु हुँदैन भन्ने विश्वास छ । यी २ पर्वसँगै भूमे पुजा, कुलपुजालाई पनि पर्वको रुपमा मनाउने गरेको पाइन्छ ।
यस बाहेक गैर परम्परागत चाडपर्व दशैं, तिहार, जनैपूर्णिमा, तीज, चैते दशै, होली पूर्णिमा, बुद्ध पूर्णिमा आदि पर्वहरु मनाउने गरेको पाइन्छ । यी चाडपर्व मनाउँदा पनि छुट्टै मौलिक शैलीमा आफ्नै परम्परा अनुसार मनाउँदछन् । शास्त्रमा उल्लेख भएको विधि अनुसार मनाउने चलन भएको त्यति पाइदैन ।
यस जातिले हिन्दु चाडपर्वहरु विशेषत यस धर्मसँगको सम्पर्क र प्रभावसँगै विस्तारै मान्दै आएको भन्ने भनाई बुढापाका राख्दछन् । उनीहरुका अनुसार हिन्दु धर्मावलम्बीहरु आफ्नो प्रभाव सबै क्षेत्रमा पैmलाउन चाहन्थे र पछि सफल पनि भए । सोही अनुसार राज्यमाथि हस्तक्षेप गरी नीति निर्धारण तहसम्म पहुँच पुर्याउने अवस्थामा पुगे । अन्ततः राज्यका कानून, ऐन, नियमहरु हिन्दु धर्मको ग्रन्थ मनुस्मृतिका आधारमा बन्न थाले । जुन प्रक्रिया हालसम्म पनि छ । यसको असर गैर हिन्दुहरुको जीवनको हरेक पक्षमा प्रभाव रहँदै गयो र अन्त्यमा नेपालका आदिवासी जनजाति लगायत सबै समुदायले यी हिन्दु चाडपर्व मान्न थालेका हुन् ।
यी चाडपर्व विशेषत २ प्रकारले मनाउन थालेको देखिन्छ । कुनै पनि व्यक्ति वा समुदायले अर्को भिन्न परम्परा, संस्कृतिको सम्पर्कमा आएमा वा उनीहरुसँग घुलमील भएमा एकले अर्काको धर्म, संस्कार संस्कृति अनुसरण र देखासिकी गर्दछ जुन कुरा यहाँ आदिवासी जनजातिहरुमा लागु भयो । दोस्रो बाध्यात्मक स्थितिले गर्दा, जुन राज्यद्वारा मान्यता पाएर नीति नियम बनाएर लागु गरेको हुनाले मान्न थालेको कुरा श्री राम बहादुर छन्त्याल बताउँछन् ।