मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

'पठाओ चालक' गंगा भन्छिन्- पोलियोले मेरा पाइला रोक्न सकेन

'जीवनभर अरूको भर परेर बाँच्नु पर्ने त होइन,' २८ वर्षीया गंगा छन्त्याललाई कुनै बेला यस्तै सोचले खाइरहन्थ्यो।

२०४७ सालमा बागलुङको नरजाहानीमा जन्मिएकी गंगाका खुट्टामा जन्मँदै समस्या देखिएको थियो। उनलाई पोलियो रहेछ। स्कुल धेरै टाढा थियो। दुई घन्टा लगाएर भए पनि पढ्न जान्थिन्। घाँस-दाउरा पनि त गर्नैपर्थ्यो।

छोरीको कठिनाई आमाबाबुलाई पनि कहाँ सह्य हुन्छ र! उनीहरू सबै काठमाडौं आए। गोंगबुमा चिया पसल खोले। गंगा कक्षा ७ देखि खगेन्द्र नवजीवन केन्द्रमा पढ्न थालिन्। गोंगबुकै नवोदित कलेजबाट प्लस टु पनि गरिन्।


'तर पनि खुट्टामा समस्या भएकाले धेरै ठाउँमा अपमानित र दयाको पात्र भइन्थ्यो,' गंगाले भनिन्, 'यस्तै व्यवहारले अरूमाथि भर परेर जीउनुपर्ने हो कि भन्ने लागिरहन्थ्यो।'

गंगाले आज यो सोचबाट मुक्ति पाएकी छन्। आफ्नै बलबुतामा खटिएर आम्दानी गर्न सक्षम भएपछि आत्मविश्वास बढेको उनी बताउँछिन्।

गंगा दुई पाङ्ग्रेमा यात्रुलाई सेवा दिने 'पठा‌ओ' मा आवद्ध छन्। तर उनी अरूभन्दा अलग चार पाङ्ग्रे स्कुटरबाट यात्रुलाई सेवा दिँदै आएकी छन्। पठाओमा राइड लिएर महिनामा ३५ हजारसम्म कमाउने उनी बताउँछिन्।

'दाम मात्र होइन, आत्मनिर्भर भएपछि अरूले आफ्नो नाम भन्ने तरिका पनि फेरिँदो रहेछ,' गंगाले भनिन्, 'हामीलाई धेरैले केही गर्न सक्दैनन् भन्ने सोच्छन्। मुखले राम्रो भन्नेहरूले पनि सहकार्य गर्न मान्दैनन्। कलेज पढ्दाको अनुभव छ, साथीहरूले घुम्न जाने भने। मिल्ने साथीले मलाई नि कर गरेपछि म गएँ। तर केही साथीहरूले म गएको रुचाएनन्। यस्ता घटना बच्चैदेखि भोग्दै आएको हो।'

समस्या सधैं समस्या मात्र कहाँ हुन्छ र !

२०७२ सालको भुइँचालो गएको केही साता बितेको थियो। गंगाको बास गोंगबुको टहरामा थियो। एक नजिकका साथीले 'पासपोर्ट निकाल्न परराष्ट्र मन्त्रालय जाम्' भने। उनी भर्खरै स्कुटर चलाउन थालेका थिए। मन डराए पनि साथीलाई साथ दिन उनी गइन्। थापाथलीमा उनीहरू दुर्घटनामा परे।

साथीलाई सामान्य चोट लाग्यो। गंगाको भने त्यही पोलियो लागेको कमजोर खुट्टा भाँचियो। हड्डी चोइटिएर खुट्टामा प्लास्टर नै गर्नुपर्यो। टहराको बास, त्यसमाथि भाँचिएको खुट्टा। गंगाका दिन झनै कष्टकर बने।

यो कष्ट गंगाका छिमेकी कुशल तामाङले देखिरहेका थिए। उनले मनै थाम्न सकेनन्। सिन्धुपाल्चोकका कुशल र गंगा ८ वर्षदेखि एकअर्कालाई प्रेम गर्दै आएका थिए। मन मिले पनि जात, ठाउँका नाममा दुवैतिरका परिवार बिहेका लागि राजी थिएनन्। तर आफूले माया गरेकी गंगाको त्यो अवस्था कुशलले हेरिरहन सकेनन्।


'उहाँले म तिमीलाई स्याहार्छु, हेरेर बस्न सक्दिनँ भन्नुभयो। यो सुनेपछि हाम्रो माया कति छ भन्ने सबैले बुझे। खुट्टा भाँचिएको एक सातामै बिहे भयो,' गंगाले भनिन्, 'बिहे गरेको तीन महिनापछि बल्ल प्लास्टर खोलेको हो।'

गंगा सहज हुँदै गए पनि गोंगबुबाट जावालाखेल धाउन सकस हुन्थ्यो। उनी राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघमा आबद्ध थिइन्। आउजाउमा मुश्किल भएपछि उनले स्कुटर चलाउने सोच बनाइन्।

'पहिला स्कुटर चलाउँछु भन्ने सोचेकै थिइनँ। झन् दुर्घटना भए पछि त आँट कसरी होस्,' उनले भनिन्, 'तर आउजाउमा निकै समस्या हुन थाल्यो। गाडीमा सिट पाउनै मुस्किल। कहिलेकाहीँ त डेढ दुई घण्टा पर्खनु पर्ने। आफू लडेर छिर्न पनि नसक्ने।'

यही बीच उनी गर्भवती भइन्। आफ्नोभन्दा बढी चिन्ता बच्चाको लाग्न थाल्यो। अनि भने उनले कोरिया गएका आफ्ना भाइसँग सल्लाह गरिन्। भाइले तुरुन्त पैसा पठाइदिए।

गंगाका श्रीमान कुशल डराए। एक त खुट्टामा समस्या, त्यहाँमाथि स्कुटर!

गंगाले 'विस्तारै चलाउँछु, चारपाङ्ग्रे हो, दुई पाङ्ग्रे जस्तो लड्दैन' भनेपछि कुशलले मन बुझाए।

स्कुटरले उनको दिनचर्या सहज बनायो। यही क्रममा गंगालाई दुर्घटनामा परेका उनै साथीले फोन गरेर भने, 'हामीले मान्छे पुर्याइदिने रे, पठाओमा। दिनको एक हजार दिन्छ रे।'

'के रहेछ, गइदिऊँ न त, स्कुटर छ, कमाइ पनि होला भनेर गएँ। राम्रै लाग्यो र राइड सेयरिङ काम सुरु गरेँ,' उनले भनिन्, 'सुरुकै दिन १८/२० जनालाई पुर्याएँ होला।'

यो सात महिनाअगाडिको कुरा हो। अचेल उनी बानी परिसकेकी छन्। थरीथरीका यात्रु हुन्छन्, कोही देख्नेबित्तिकै चढ्न मान्दैनन्, कोही स्याब्बासी दिन्छन्।

'कोही त चारपाङ्ग्रे देखेर नाक खुम्च्याउनुहुन्छ। कोही भने एकदमै तारिफ गर्नुहुन्छ। एकपटक एक जना दाइसँग कुपण्डोलबाट न्युरोडसम्म गएँ। उहाँसँग केहीबेर गफ पनि भयो। झर्ने बेलामा खुसी भएर उहाँले पाँच सय दिनु भयो,' उनले सुनाइन्।

तीता–मीठा अनुभवले उनलाई झनै ऊर्जा दिएको छ।



'अहिले आफूलाई भाग्यमानी ठान्छु। घर सम्हालेको छु, सामाजिक संस्थामा पनि छु। अलिअलि आयआर्जन पनि छ। अरू कोहीभन्दा कम त छैन नि,' उनले हाँस्दै भनिन्।

उनको यो हाँसोमा खुसी देखिन्छ। यही खुसी आफूजस्ता अरूसँग पनि बाँड्ने उनको चाहना छ।

'अपांगता हुनु जीवन सकिनु होइन' भन्दै अरूलाई पनि बुझाउँदै छिन्। अपांगता भएका महिलाहरूका मुद्दा उठाउँदै आफू स्विटजरल्यान्ड पनि पुगेको सुनाइन्।

गंगा यतिमा मात्र कहाँ सीमित छन् र! श्रीमान कुशल गार्मेन्टसम्बन्धी काम गर्छन्। उनीसँगै मिलेर अलिअलि यो काम पनि गर्छिन्।

'जीवनभर अरूको भर परेर बाँच्नु पर्ने त होइन,' भनेर सोच्ने गंगा श्रीमान र दुई वर्षे छोराको मात्र होइन, यात्रुहरूको पनि 'भर' बनेकी छन्।

भन्छिन्, 'पोलियोले मेरा पाइला रोक्न सकेन।' - सुधिर भण्डारी/सेतोपाटी