मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

छन्त्याल संघको संस्थागत विकासक्रम


-सर्वमान्य दिलवहादुर घरब्जा
अगष्ट १८, २०११/काठमाण्डौ । नेपाल एक बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक सम्पदाले भरिएको देश हो । यहाँ विभिन्न किसिमका जातजातिहरुले बसोवास गरेका छन । ति विभिन्न जातजातिहरु मध्ये अल्पसंख्यक, राजनितिक आर्थिक, शिक्षा लगायत अन्य क्षेत्रमा समेत पछाडि परेका नेपाल सरकारकाको ऐनमा सुचिकृत गरेका ५९ वटा आदिवासी जनजातिहरु मध्ये छन्त्याल पनि एक हो । हाल जातिय उत्थान, पहिचान र छन्त्यालहरुलाई एकतावद्ध गराउनको लागि विभिन्न प्रारम्भिक समितिहरु, क्षेत्रीय समितिहरु, जिल्ला समितिहरु र केन्द्रीय समिति गठन भइसकेको छ ।

 त्यसैगरीकन छन्त्याल संघलाई अझ मजबुद, आपसी सहयोग लगायत अन्य गतिविधि संचालन गर्दा सहयोग पु¥याउने हेतुले विभिन्न भातृसंगठनहरु पनि गठन भएका छन् । जसले गर्दा जातिय उत्थान र पहिचानको निम्ति थप इट्टा थप्ने काम भएको छ । हाम्रा पूर्वजहरुले माथिल्लो २२ खानी गाउँ तल्लो २२ खानी लगायत पश्चिम खानी गाउँहरुमा खानी खनेर गुजरा चलाउने हुँदा हाम्रो जातिलाई खनेल भनेर चिनिने गर्दथ्ये । तर खानी खन्ने प्रक्रियामा विभिन्न किसिमका वाधाहरु, आधुनिक हतियारको कमी लगायत सरकारलाई तिर्नुपर्ने भेजा (कर) तिर्न नसक्ने अवस्थाले गर्दा खानीहरु बन्द हुन पुगे । बुढापाकाहरुको भनाई अनुसार “रुख काटी पलाउने तर खानी भिर खने नपलाउने” हुँदा खानीहरु क्रमशः सिद्धिएर गए जसको फलस्वरुप सरकारलाई तिर्नुपर्ने कर (भेजा) पनि तिर्न नसक्ने अवस्था आएको हुदाँ वि.सं. १९७० साल देखी भेजबन्दी नियमावली लागू भएपछि खानी खन्नेकाम बन्द भएको भनि खानी इतिहासले वताउँछ ।

हाम्रा पूर्वजहरुले आफ्नो वुद्धि, विवेक, ज्ञान, र अनुभवले खानी पाइने ठाउँको माटो या ढुङ्गाको रङ्ग र त्यसको प्रकृति हेरेर सहजैसंग कुन प्रकारका धातुका खानी पाइछ भन्ने कुरा पत्ता लगाउन सक्दथे जसले गर्दा छन्त्यालहरु खनेल थिए भनेर भन्न सकिन्छ । खानीवाट विस्थापित भएपछि हाम्रो जाति खेतीपाती लगायत व्यापार व्यवसाय आदि अंगालेको पाइन्छ । यसरी हरेक तह र तप्कामा पछाडी परेका छन्त्याल जातिलाई उत्थान, भाषा, संस्कृतिलाई संरक्षण तथा सम्र्वधन गर्नको लागि विं स.२०३६ सालमा मेरो संयोजकत्वमा छन्त्याल हित उप–समिति गठन गरिएको थियो । हाल सम्म विभिन्न प्रचार प्रसार गर्दै अहिले सम्म ४ वटा राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेको छ । जसको जनसंख्या लगभग १५ हजार जति पुगेको अनुमान गर्न सकिन्छ । जसको मूलथलो म्याग्दी र वाग्लुङ्ग जिल्ला भएतापनि बसाईसराईको कारणले विभिन्न जिल्लाहरुमा बसोवास गरेको पाइन्छ । 

छन्त्यालहरुको जातिय प्रचारको अभावले गर्दा व्रिटिस इन्डियन मा लाहुरे लगायत सरकारी निकायहरुमा काम गर्दा पुन, थापा, राना थर लेख्न विवश थिए । जसले गर्दा मगरहरुले पनि छन्त्याललाई मगर समुदायमा राख्ने गर्दथे तर अहिले जातिय प्रचार प्रसारले गर्दा छन्त्याल जाति पनि छुट्टै सामाजिक रितिरीवाज, चालचलन, चाडपर्व, देवी देवता, भाषा, संस्कार, संस्कृति, भेषभुषा, विश्वास आस्था, मूल्यमान्यता एवं प्राकृतिक श्रोत साधनहरुको उपयोग गर्ने तरीका लगायत अन्य गतिविधि मगरहरुको भन्दा छुट्टै भएको हूँदा मगर समुदायभित्र पर्दैन भन्ने कुरामा कुनै दुइमत छैन । जातिय उत्थान र पहिचानको लागि, छन्त्यालहरुलाई संगठीत गर्नको लागि विं सं २०४३ सालमा नेपाल छन्त्याल परिवारको गठन गरिएको थियो । यसै क्रममा विधान तयार गरि काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा २०४८÷०४९ साल दर्ता नम्बर ३६१ म दर्ता भई स्थापना भएको हो । संघको स्थापना पश्चात नेपाल आदिवासी जनजाति महासंघमा आवद्धता, आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको ५९ जनजातिको सुचीमा सुचिकृत र समाज कल्याण परिषदमा दर्ता गरिएको थियो । वि.स. २०५२ बेनीमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशन देखि नेपाल छन्त्याल संघको नामाकरण गरेको थियो । हाम्रो जातिको जनसंख्या २०५१ सालमा अधिराज्यको १५ जिल्लामा लागत लिदा घरधुरी १५१२ र जनसंख्या लगभग १०५५० जति थियो । तर विंस. २०५८ सालको केन्द्रीय जनसंख्या तथ्याङ्क विभागवाट लिएको जनसंख्यामा ९८१४ जना छ । जुन ३० जिल्लामा वसोवास गरेको पाइन्छ । जसमध्य लगभग ६००० जतिले आफ्नो मातृभाषा वोल्ने गरेको पाइन्छ । अशिक्षा र जनचेतनाको अभावले गर्दा राजनितिक क्षेत्रमा पनि स्थानिय स्तर वाहेक राष्ट्रिय स्तरमा हाम्रो पहुँच हुन सकेको छैन ।

छन्त्याल जातिका १२ थरहरु

घरब्जा, भलञ्जा, तथप्जा, झिङराजा, वुढाथोकी, खड्का, पुराने, पोत्लाङ्गे, डाँडामारे, घर्ति, सिंगे रघ्याप्चन ।
यी १२ थरहरुमध्ये घरब्जा, भलञ्जा र तथप्जा उपथरहरु पनि हुन । हाम्रो जातिभित्र एक थर र अर्को थर वीच विवाह गर्ने चलन छ । हाम्रो समूदायमा फुपू चेला मामा चेली विच विवाह गर्ने चलन छ । एउटा उखान नै छ । मामाको छोरी रोजी रोजी फुपूको छोरी खोजी खोजी भन्ने चलन, चल्दै आएको छ । यसरी विवाह गर्दा थर, गोत्रलाई ध्यान दिने चलन छ ।

छन्त्याल संघले गर्नु पर्ने कामहरु

१) जातिय उत्थान र पहिचानको लागि विभिन्न प्रचारात्मक कार्यक्रमहरु गर्ने ।
२) छन्त्याल समूदाय भित्रका १२ थरहरुको थर अनुसार जनसंख्याको लागत तयार गर्ने ।
३) छन्त्याल जातिको प्रचार प्रसारको अभावले गर्दा विभिन्न क्षेत्रमा व्यावसाय वा नोकरी गर्दा मगर थर थापा, पून, राना, लेख्न विवश भएका छन्त्यालहरुको थर सच्याउन को लागि सम्वन्धित निकायहरुमा पहल गर्नुपर्ने ।
४) छन्त्यालहरुलाई सचेतना मुलक र अभिमुखीकरण रुपी तालिमको लागि विभिन्न निकायहरु संग परामर्श गरी विभिन्न कार्यक्रमको आयोजना गर्ने ।
५) शैक्षिक स्तर बृद्धि गर्नको लागि विभिन्न शैक्षिक सम्बन्धित कार्यक्रमहरु संचालन गर्ने ।
६) मातृ भाषालाई संरक्षित गर्नको लागि छन्त्याल जातिहरुमा मातृभाषा सम्वन्धि कक्षाहरु संचालन गर्नुपर्ने ।
.............................................
सन्दर्भ सामाग्रीः चिनारी नेपाल छन्त्याल बिधार्थी संघको मुखपत्र