मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

छन्त्याल युवाहरु सम्वेदनशील हुनुपर्ने


- हिम छन्त्याल
जुन २२, २०११/आज हामी २१औ शताब्दीमा आइपुग्दा पनि आफ्नै भाषा र संस्कृतिदेखि बन्चित छौ । यो हाम्रो ठूलो कमजोरी हो । समय र परिस्थितको परिवर्तनसंगै हामी छन्त्याल जातिलाई आफ्नो परिचय भन्न पनि लाजमर्दो भैसकेको छ ।

त्यसैले हामी सबै एकजुट भई हाम्रो भाषा, संस्कृति र परम्परालाई खोजी हातेमालो गर्दै यसको उत्थान गर्न जागरुक बन्नु प्रमुख आवश्यकता देखिन्छ । तब मात्र भोलिका छन्त्याल पिंढीहरु आफ्नो हक र अधिकार खोज्न सक्षम हुनेछन् ।

छन्त्यालहरु आफ्नो भाषा र संस्कृतिप्रति निकै चिन्तित हुन जरुरी छ । त्यस्तै रितिरिवाज र संस्कारको संरक्षण गर्न संघ संस्थाले बिशेष कार्यक्रमहरुको योजना तर्जुमा गर्दै छन्त्याल समुदायहरुमा कार्यान्वयन गरिनुपर्छ  । अधिराज्यभर  छरिएका छन्त्यालहरुलाई पुर्खाका नासो जोगाउन  धौ-धौ परेको छ ।

किनकि आजका युवा पिंढीले न त छन्त्याल भाषा बोल्न आउछ न त हाम्रो धर्म, संस्कार र संस्कृति यी यस्ता हुन् भन्ने प्रयाप्त ज्ञान छ । वास्तवमा हाम्रो धर्म, भाषा संस्कृति जोगाउने जिम्मा आजका छन्त्याल युवाहरुको काँधमा आएको छ । छन्त्याल युवाहरुमा आफ्नो भाषा र संस्कृतिप्रति  कम चासो हुनु र विदेशी संस्कृतिप्रति आकर्षण बढ्नु दु:खको कुरा हो ।

आज हाम्रो छन्त्याल संस्कृति एवं समस्त नेपाली संस्कृति र संस्कारमाथि विदेशी छाडा संस्कृति, साहित्य र संस्कारको प्रभावले  हाम्रो समाजमा  नकारात्मक प्रभाव परिरहेको छ भने अर्कोतिर हाम्रो छन्त्याल युवायुवतीहरु कुलत र दुर्व्यसनमा  फसिरहेका छन् । जसले गर्दा हाम्रो छन्त्याल पहिचान संकटमा परेको छ । छन्त्याल भाषा, कला तथा संस्कृतिको संरक्षण गर्न हामी छन्त्याल युवाहरु एकजुट भएर लाग्नु समयको माग हो । नत्र  हाम्रो छन्त्याल संस्कृति र संस्कारको नाम निशाना मेटिने छ । त्यसैले आ-आफ्नो ठाउँबाट उठेर आफ्नो भाषा र संस्कृतिको स्थलगत अध्ययन गरी सहयोग पुर्‍याऔ र आफ्नो जातीय संरक्षण गर्नको लागि आफू पनि जागौं र अरुलाई पनि जगाऔं ।  जय छन्त्याल !