मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

मौका पाए छोरी पनि कम हुँदा रहेनछन्


कुरा गएको चैत्रको महिनाको हो । १५ वर्षीया सरिता (नाम परिवर्तन) स्कूल जान भनेर बिहानै मल बोकेर खेत गइन् । भेट्ट्याउनै मुश्किल छ अचेल, पात पात टिपेर मल बोकेको राङ्गेमा भारी हरियो बोकेर घर अगाडि बिसाइन् । आटो पस्केर खान लागेकी थिइन्, आमाले गाली गर्न थाल्नुभयो । किन यत्तिका चाँडो घिच्नुपरेको होला ? 'आमा मेरो परिक्षा छिट्टै शुरु हुँदैछ, स्कुल जानुपर्छ ।' हाँस्दै बिन्ति गर्छिन् प्यारी आमालाई सरिता ।

तर आमालाई टेन्सन छ आज सरिताको दाइ र बुवा छिमेकी गाउँमा ३ दिनसम्म लाग्ने राम हेर्न गएका छन् । नजाऊ वा छोराको पढाइ बिग्रिन्छ, नलैजाउ भन्दा २ लात् हानेका रहेछन् आमालाई बुवाले । आमाले भन्नुभयो : 'तेरो गत्तिलो बाउ क्या रे, पढ्छस् खुबै । फेरि छोरी मान्छे पढेर पनि के पो नाप्लिस् र ? आजको दिन भैसी चराएर आइज म यो काम्लो बुनेर सिध्याउँछु ।' 

सरिता जिद्धी गर्न थालिन् : 'आमा, म जानै पर्छ । आठ पिरियड रेगुलर हुन्छ ।' भनाइ सिध्याउन नपाउदै उनले आमाको अर्थुलको एक चोट र छेवैको लौरोको अर्को चोट भेटी सकिन् टाउको सुन्निने गरेर । बिचरी सरिता ३ दिन गयल हुनुपर्‍यो, बुवा र दाइको कारण । डेढ महिनापछि दोश्रो भएर नौ कक्षामा प्रवेश गरिन् सरिता । उनको दाइ रमेश (नाम परिवर्तन) २० वर्षको भए, अझै कक्षा ९ मा फेल हुँदैछन् ।

चैत्र महिनामा एसएलसी परिक्षा पनि भएको रहेछ । त्यसको नतिजा संसारभर चासोकासाथ हेरिएको बेला ताकम गा.वि.स. सिबाङ घर भइ बेनी, म्याग्दीको न्यू वेष्ट प्वाइण्ट उच्च माध्यमिक विद्यालयमा अध्ययन गरेकी जोनी छन्त्यालले एसएलसी परिक्षा २०६७ मा ८५.१२ % अंक प्राप्त गरेर म्याग्दी जिल्लाकै सर्वोत्कृष्ट विद्यार्थी बन्नुभएछ । गिरीप्रसाद छन्त्याल रहेछ जोनीको बुवाको नाम र विश्व छन्त्याल हुनु हुदोरहेछ आमा । बुवा श्री हेम उच्च मावि ताकमका प्रधानाध्यापक र आमा सोही स्कूलमा प्रार्थमिक तहकी शिक्षिका । पढेलेखेका बुवाआमाको इज्जत राखिन जोनीले ।

जोनीका बहिनीहरु रन्जनी छन्त्याल, विपना छन्त्याल र प्रतिभा छन्त्याल हेम उच्च मावि ताकममा क्रमश : कक्षा ९, कक्षा ६, कक्षा ४ र भाइ प्रतिक छन्त्याल कक्षा २ मा पढ्दैछन् । उनको दिदी सोनी छन्त्याल बीबीए पहिलो बर्षमा अध्ययन गर्दै हुनुहुन्छ रे । सोनीको परिवार होस् वा रमेशको, यहाँ किंवदन्ती लेख्न खोजिएको छैन । वास्तविक दुई छन्त्याल परिवारको कथा हो यो ।

दुई परिवारले सबै छन्त्याल समुदायका प्रतिनिधित्व पनि गर्दैनन । तर यी दुई परिवारबाट छोरीहरुलाई पनि मौका दिने हो भने छोराभन्दा पछि पर्दा रहेनछन् भन्ने साना साना उदाहरण चाँहि बनेका छन् जोनी र सरिता । सरिता र जोनी हाम्रा बहिनीहरु हुन्, हाम्रा गौरव हुन् । बाध्यता, विवशता र पछौटेपनका शिकार बन्नु परेको छ, हाम्रा विकट र दुर्गम वस्तीका छन्त्याल बालबालिकाहरु । तर पनि विश्व र गिरीजस्ता नमूना छन्त्याल आमाबुवाले पनि योगदान दिनु हुँदैछ छन्त्याल छोरीहरुलाई सशक्त बनाउन ।

यो वर्ष छन्त्याल जातिको नाम राख्ने अनुपम, कमल र लोक्वनको पिछा गर्दै बेनीजस्तो राजधानीबाट ८३० किलोमिटरको दूरीसँगै आकाश पातालको शैक्षिक स्तरको भिन्नताका बाबजुद पनि जोनीले प्राप्त गरेको अंकलाई सम्मान गर्नुपर्छ हामीले । भौतिक विज्ञान अध्ययन गरेर कम्प्युटर इन्जिनियर बन्ने सपना साँचेकी जोनीको चाहना पूरा होस् भन्ने कामना गर्नुपर्दछ । किताबी किरो मात्र होइन वर्तमान प्रतिष्पर्धाको जमानामा चौतर्फी जानाकारी राख्नुपर्छ भन्ने कुरालाई सिद्ध गर्छिन् जोनीले छोटो अभिव्यक्तिमा पनि । उनी भन्छिन् : 'छन्त्याल एक जाति हो जसको छुट्टै भाषा, भेषभूषा र छुट्टै पहिचान छ । छन्त्याल संघले छन्त्याल सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्ने गर्छ । साँस्कृतिक सम्पदाको जगेर्ना गर्ने र छुट्टै पहिचान देखाउन पहल गर्दछ ।'

कुन कलेज पढ्ने हो ? कलेजको निधो भने गरिसकेकी छैनन् जोनी ।
(बलमान छन्त्यालको सहयोगमा योगेन्द्रमिलन छन्त्याल)