मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

छन्त्याल भएकोले मैले पाएको माया


कुरो आजभन्दा १४-१५ बर्ष पहिलेको हो, त्यो ताका म बुटवलको एउटा स्कुलको होस्टेलमा बसेर पढ्थे । हजार १२ सय विद्यार्थी भएको त्यो स्कुलमा छन्त्याल म एउटा मात्र थिएँ ।

हाम्रो स्कुलमा बुटवल नजिकैको गाउँको एउटा दाईले काम गर्नुहुन्थ्यो। उहाँ भन्ने गर्नु हुन्थ्यो उहाँका गाउँमा पनि छन्त्यालहरु छन् भनेर ।

एकदिन ती दाई एकजना अधबैसे महिलालाई लिएर हाम्रो होस्टेलमा आउनु भयो।

"तिमी छन्त्याल हो ?" भनेर ती महिलाले मलाई प्रश्न गरिन्, मैले हो हजुर म छन्त्याल हो भनेर जवाफ दिएँ ।

अनि उनले भनिन् "म पनि छन्त्याल हो ।" ती महिला म एउटा छन्त्याल भएको नाताले मलाई भेट्न आएकी रहिछिन् । उनी म्याग्दीकी रहिछिन् ।

मेरो मन खुशीले गद् गद् भयो। खुशीका आशु मेरा आँखाबाट झर्न मात्र बाँकी थिए। कता कता मलाई मेरी आफ्नै आमाले,दिदीले भेट्न आएको जस्तो महशुस भयो। म त्यत्ति साह्रो खुशी हुनुमा अर्को कुरो पनि थियो। म बाग्लुङको एउटा गाउँबाट आएर बुटवलमा पढ्थे। घर जाने मौका भनेको जाडो र गर्मीको छुट्टीमा मात्र हुन्थ्यो।

त्यो पनि घर जाँदा तीन दिन लगाएर जानुपर्थ्यो । एक दिन गाडीमा अनी दुई दिन हिंडे पछि मात्र घर पुगिथ्यो । त्यसैले पनि आफ्नो परिवारसँग भेट्ने मौका भनेको बर्षमा मुस्किलले २-३ पटक मात्र हुन्थ्यो।

मेरो आफ्नो स्कुले जीवनलाई फर्केर हेर्दा, सम्झँदा अझै पनि ती दिदी मेरा आँखाका वरिपरि घुम्छिन् । सम्झँदा पनि माया लागेर आउछ, श्रद्दाले झुक्छ यो मन ती दिदी प्रति। कहिले काही सम्झन्छु हामी छन्त्यालहरु अन्य जातिको तुलनामा थोरै छौं त्यसैले पनि होला हामी एक अर्कालाई बढी नै माया गर्छौं, इज्जत गर्छौं र एक अर्कालाई परेको बेलामा साथ दिन पनि पछि हट्दैनौं ।

- छन्त्याल कान्छा
(हाल बेलायत)