मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

जतनले टालिराखेको परिचय

- शेरबहादुर छन्त्याल
दैनिकी जोहो गर्नको लागि श्रम बेच्यो, पसिना बगायो, रगतको मुल्य केही मात्रमा भए पनि घटायो अनि फर्कियो बासस्थान । दिनभरी मनमा अनेकौ झोका र हुरी पतालिन्छ । कहिले सागरको गहिराइमा पुरायो कहिले पहाडको तुप्पो त कहिले फेदिमा । मन न हो रोकिने होइन बहिरहन्छ जसरी प्रकृतिका नियमहरु युगौ देखी युग सम्म चलिरहेका छन । जब मन बरालिँदै पहाडका खोल्सा खाल्सीमा अड्किन पुग्छ अनयासै हतासिन्छ र निसासिन्छ । लाग्छ अब मेरो मन यही खोल्सामा नै तुरुलुंग कुभिन्डो झै झुन्डिने भयो । झसँग हुन्छु र यसो तानतुन गरेर फाटेको मनलाई जतनले सिलाउछु । तर जतनले सिलाएको मन अजम्बरी रहिरहने त होइन । आज साँझ पर्‍यो भोली मिर्मिरेमै फेरी च्यातिएको हुन्छ । फेरी उही तानतुन गर्‍यो र सिलायो यस्तै भएको छ मनको दैनिकी।

कुरो यस्तै १४ बर्ष पहिलेको हुनुपर्छ । अनकन्टार तारे भीरको तल फेदमा सानो तर फुङ उडेको गाउमा केही अपरचित तर लवाइखवाइ, भेषभुषा र बोलिब्यबहारको उतारचढाब ठ्याकै मिल्दोजुल्दा एक हुल छिरे । रङ खुइलिएको त्यो गाउ झन प्रकृतिले पनि काचुली फेर्न नपाएको मौसम । चैत बैसाखको तन्तलापुर घाम, आकाशमा बादलको छिटा पनि नदेखिने समय । भोकमरीको उपहार नै पाएको जस्तै त्यो तारेभिरको खाल्डो। एकाध घर बाहेक अरुको अन्नबालीको भकारी रित्तिसकेको नै हुन्छ फागुनतिरै । तैपनी दिलका धनी छन् मनका फरासिला छन् ती गाउका बासिन्दा ।

आफु भोको पेटमा पटुकी कसेर पनि पाहुनालाई सकी नसकी अैचो पैचो गरेर खस्रा मसिना जे जस्तो हुन्छ सेवा गरेर मुस्कान बाँड्छन । नयाँ अनुहार कोही गाउमा आइपुगे छरछिमेकमा साउती चल्छ । हेर त फलानोको घरमा फलानो गाउबाट पाहुना आएका छन । लौ है सकेको स्वागत गर केही नभए पनि एक बचन मिठो बोल, गएर भेटघाट गर यस्तै कुरा एकले अर्को लाई अर्कोले झन अर्कोलाई गर्दा क्षणभरमै एक कान दुई कान हुँदा गाउभरी पुगिसक्छ न कर्ड्लेसको जरुरत न मोबाइल । बिना कुनै संचारको साधन सबैको कानमा कस्को घरमा अनि को पाहुना आइपुगे झ्यामझुम्मै थाहा हुन्छ । कुनै 'थाहा' आन्दोलनको जरुरतै पर्दैन ।


भर्खरै उडुँ कि बुडुँ भएको थियो आफ्नो जवानी । ती हुल छिरेको पत्तो पाएं मैले पनि मेरै दुंवाली या यसो भनौ न जिग्री दोस बाट। मेरा अरु लगौतिया यार पनि नभएका त होइनन तर ति जिग्री दोस चाही हुनुकै नजिक थिए केही कुरा आयो कि स्याटेलाइट भन्दा पनि छिटो खबर गर्न सक्ने । लौ जाऔ त हेर्न को रहेछन ? कहाँ बाट हाम्रो अनकन्टार खाल्डोमा पदार्पण गरे ? बुझौ। बुझ्नु के थियो र ? बस् उनिहरुको अनुहार देखे संसारै जितियो कि झै लाग्ने । अनि परिवारका अरु सदस्यहरु सँग गफ दिने, बा मैले त यो देखे, त्यो यस्तो थियो । उसको नाक थेप्चो, अर्कोको अनुहार गोरो, डल्लो...अनि अर्को त सिमल झै सुलुक्क अग्लो झन अर्को ह्याँमानको पाखुरा भाको........ । गुडी कुरो के हो बुझ्ने बेला त भएको थिएन तैपनी यसो कता कता बुझे जस्तै लाग्ने ।  सुनेर दिमागमा केरकार गर्न नसके पनि सुनेको त हुँ भन्न सकिने ।


ती हुलको पाहुना सत्कार सकिए लगत्तै हाम्रै गाउका प्राथमिक विधालयका प्र. अ. दाइले कुराको पोयो खोले । उत्सुक मन थियो गाउका छरछिमेक भएका जती सबै जम्मा भएका थिए । कुराको उकेरा लाउदै हेडमास्टर दाइले यी पाहुनाहरु हाम्रै जातिको खोजिनिती गर्न र हाम्रो जातिको बारेमा बुझाउन आएका हुन त्यसैले पाहुनाहरु यसै बिषयमा छलफल गर्नु हुनेछ। निकै लामो गन्थनमन्थन गरे छन्त्याल जातिको बारेमा। छन्त्याल जाती लोप हुन लाग्यो । हाम्रो संस्कार, संस्क्रिती हराउन लाग्यो। हाम्रा पितापुर्खाका परिचय खसोखस खत्तम हुन लाग्यो । लौ हामी छन्त्यालहरु नै नजागी त हुँदैन बा नत्र आउँदा दिनमा हामी को हौ? हाम्रो परिचय के हो? पूर्ण रुपले नामेट हुनेछ। हो त सबैले हो मा हो मिलाए हामी पनि के चन्चले मन न हो शुरु गर्यौ हल्लाखल्ला गर्न ।

लौ छन्त्याल त यस्तो पो हो रे हाम्रो जातिले पहाड खोपेर हिरा निकाल्न सक्थे रे। माटो सुंघेर खानि पत्ता लगाउन सक्थे रे। उ जमानामा तामा खानिका धनी छन्त्याल, बिना कुनै उपकरण माटो सुँघेको भरमा खानि पत्ता लगाउन सक्ने क्षमता, कुनै बैज्ञानीक उपकरण बिना पहाड भित्र हजारौ मिटर गहिराइमा छिना र हठौंडाको भरमा तामा निकाल्न सक्ने हिम्मत र साहस भएका खानी पेसाका माहिर जाती छन्त्याल आज २१ औं सताब्दिमा आइपुग्दा आफ्नै परिचय दिन पनि शिला खोज्नु पर्ने भएको छ । 

नजिकका मगर गाउमा मेला भर्न जाँदा ठिटिहरु "मुसा" भन्दै मायालु पारामा ठट्टा गर्थे आज दिन ढल्किदै जाँदा पो थाहा भएको छ छन्त्याललाई "मुसा" किन भनेको होला भनेर। आखिर हाम्रा पुर्खाले गरेको साहसिक क्षमताको अर्को उपनाम पो रहेछ । उहिलेका दिनमा मलाई "मुसा" भनेर गाली गर्दा कम्ती रीस त उठ्दैन थियो ।  अहिले भने यसो च्याटमा मेरा मगर मित्रहरुले "मुसा" भन्दै ठट्टा गर्दा पनि गौरब लाग्छ । मेरो पुर्खाको परिचय छिमेकिले पनि भुलेका छैनन "मुसा" नै सहि ।  खयर दिनैदिन जतनले सिउनु पर्ने यो मनमा यिनै रमाइला क्षणले तालतुल गरेकै छ र त जिउन सिक्दैछु आफ्नै परिचयको परिक्षामा ।