मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

विदेशमा गठित संगठन नेपाल छन्त्याल संघको मातहतमा वा स्वतन्त्र ?


- कप्रसाद झिङराजा
हामी जहाँ बसोबास गरे पनि हामी छन्त्याल हौ । विदेशी भूमिमा पनि आफ्नो जातीय पहिचान, रहनसहन , संस्कृति,रीतिरिवाजको संरक्षण र संवर्द्धन गर्न जातीय संगठन निर्माण गरिरहेका छौं । विदेशी भूमिमा आइपर्ने विभिन्न व्यक्तिगत तथा सामाजिक समस्याहरुसँग सामना गर्न पनि संगठित हुनुपर्ने अवस्था छ ।

आर्थिक, सामाजिक साँस्कृतिक तथा अन्य समस्याप्रति सबै छन्त्यालहरुलाई सचेत गराउँदै गोलबन्द गरी भइपरी आउने समस्याहरुमा हातेमालो गर्नु संगठनको प्रमुख उद्देश्य हुने गर्दछ । नेपालभन्दा बाहिर गठन भएका तथा भविश्यमा गठन
गरिने छन्त्याल संगठनहरु नेपाल छन्त्याल संघसँग निकट रही जातीय विकास र उत्थानमा समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नु पर्दछ । अलग अलग देशमा अलग अलग कानूनहरु हुन्छन् ।

हामी एउटै जातीय वंशहरु भए पनि आ- आफ्नो वसोवास गर्ने राष्ट्रका नियम कानूनहरु स्वत: पालना गर्नुपर्ने हुन्छ । अहिले विदेशमा बसोवास गर्ने तमाम छन्त्यालहरु केही त्यही राष्ट्रका नागरिक भइसकेका तथा अन्य नागरिक हुन नजिक पुगेका देखिन्छन् । नेपाल राष्ट्रको अहिलेसम्मको घटनाक्रमहरु विदेशमा बसोवास गर्ने नेपालीहरुलाई दोहोरो नागरिकता दिनेबाट रोक्ने परिस्थिति विद्यमान छ । विदेशमा बसोवास गर्ने र त्यही देशका नागरिक बनिसकेका व्यक्तिहरु नेपालको सर्बोच्च पदमा पुग्न त के प्रशासनिक पद धारण गर्नसमेत नपाउने प्रावधान छ ।

गहन विश्लेषण गर्न किन पनि जरुरी छ भने हामी तमाम छन्त्यालहरु जो बिदेशमा बसोवास गरिरहेका छौं, हामी पनि बिदेशी नागरिक भएका कारण स्वदेशको प्रशासनिक पदमा रहेर काम गर्ने कानूनी आधार समाप्त भइसकेको छ । हामी सम्पूर्ण छन्त्यालहरु जहाँ जुन अवस्था र परिस्थितिमा बसोवास गर्ने भएता पनि हामी तमाम छन्त्यालहरुको हितमा हातेमालो गर्नु पर्दछ ।

विदेशमा अर्थात अन्य देशहरुमा गठन गरिएका तथा गरिने छन्त्याल जाति अन्तर्गतका जातीय संगठनहरु "नेपाल छन्त्याल संघ" सँग बिचारको आदान प्रदान गर्दै सामाजिक दायित्वहरुमा छलफल र समन्वय गर्ने बातावरण निरन्तर तय गर्दै अगाडि बढ्नु पर्दछ । विदेशमा गठन गरिएका र भविश्यमा गठन गर्न सकिने हाम्रा जातीय संगठनहरु नेपाल छन्त्याल संघ अन्तरगत रहेका जिल्लागत, क्षेत्रीय तथा प्रारम्भिक साथसाथै अन्य भातृ संगठनहरु झै “भातृ” संगठनको रूपमा बुझ्न नमिल्ने देखिन्छ ।

हामीले देखेको बेलायतमा मात्रै नभएर विश्वको कुनै पनि देशमा रहेका बिभिन्न जनजातीय संस्थाहरु नेपालका आ-आफ्ना जातिका संघका भातृ संघका रूपमा रहने गरेका पाइँदैन । आउँदा दिनहरुमा यस बिषयमा अरु बहस र सामुहिक छलफलबाट एउटा निचोडमा पुग्न सकिने छ ।
(लेखमा अभिव्यक्त विषयहरु लेखकका निजी विचार हुन् ।)