मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

संस्कृति र विगतको सम्झना

- योगेन्द्रमिलन छन्त्याल
सेन्नामा धुरीमा सूर्य उडाउँन के शुरु हुन्थ्यो, आमाले झोलीबाट सिक्का पैसा निकाल्नु हुन्थ्यो । तरुल, अक्षता, तील र पैसा एउटा दुनामा राखि दिनु हुन्थ्यो । मेरो बुवाले कमाण्ड गर्नु हुन्थ्यो 'जाम ए छोरोहरु हो मङ्र (मकर) नुहाउन ।'

जाडो ऋतुले बिदा लिइसकेको हुँदैनथ्यो । अल्छी लाग्दालाग्दै 'छुट दिनुभए पनि हुन्थ्यो बुवाले' भन्ने सोच्दै नुहाउन हिडिन्थ्यो, किनकि त्यो दिन - माघे संक्रान्ति । दुनाले हाम्रो शिरमाथि मन्छाउदै (घुमाउदै) ग्रह गति मुक्त गराइ दिन भगवानसँग बिन्ति गर्नु हुन्थ्यो बुवाले । दुना खोलामा बगाएपछि नुहाउन शुरु गर्थ्यौ ।

जाडोले कुरकुर कामिन्थ्यो नुहाएर घर फर्कदा । आमाले तोरीको तेल तताएर राखि दिनु हुन्थ्यो । बुवा, माहिला र मैले हल्का हल्का लाउथ्यौ तेल । कान्छा भाइ अलिक सानै थिए, हँसाउने खालका पनि । अञ्जुलीभरि हाल्दा रैछन् तेल अनि भूइँमा चुहाउदै कपालबाट
तर्कला जस्तो हुने गरी लाउँथे । तेलले थोरै जाडो भगाइसकेको हुन्थ्यो । बाँझ र खर्सुङका दाउराको राँपिलो आगो ताप्न दिनु हुन्थ्यो एकछिन ।

छोरोहरुको सबै कुरा राम्ररी बुझ्नु हुन्थ्यो हाम्रा बुवा आमा । अब धेरै जाडो महशुश हुन छोड्दै गरेको बेला तीला बनाउन भन्नु हुन्थ्यो । मैले गिन्ती गर्थे : दिदी १, बहिनी २, चिजा भतिजी ३, चिजाका ३ वटी बहिनीहरु ६, माहिली फुपु ७, बिनोदको बज्यै फुपु ८, कालुको बज्यै फुपु ९, बालकुमारको आमा दिदी १०, जोखे सालाको आमा फुपु ११ - - - - - यसरी ४५ - ५० वटा तीला तयार गर्थे ।

विद्यार्थी जीवन, आमाले दिनुभएको पैसा जोगाएर राखेकोबाहेक आम्दानीको श्रोत नै हुँदैनथ्यो । तीलामा राख्न कहाँको पैसा हुनु ? फेरि आमालाई माग्नुपर्ने । आमाले हाम्रो मर्म कत्ति मज्जाले बुझ्नु हुन्थ्यो : माघे संक्रान्तिमा खुद्रा पैसा माग्छ भनेर पहिल्यै जोहो गरेर झोलीमा जगेडा राख्नु हुन्थ्यो ।

सबै तीलामा ५/५ रुपैयाँ राखौ भने २५० को हाराहारीमा खर्च हुने ! २/२ रुपैयाँ राखौ भने कहीकतै जिस्काउनेहरुले लज्जित बनाउँथे । त्यसैले एउटा उपाय थियो त्यत्तिबेला करिब आमाको ८० रुपैयाँमा माघे संक्रान्तिको तीला साट्नलाई । हो, जसले चुरोट खानु हुन्छ उहाँहरुलाई चुरोट र चुरोट नपिउनेलाई पैसा नै दिने हो भने खर्च कम हुन्थ्यो ।

झण्ड सस्तो देउराली चुरोटका ४/४ वटा कोसा राख्ने हो भने ६ प्याकेट भए ३० जना फुपुहरुलाई पुग्ने बाँकी १५/२० जनामध्ये १२/१५ जना सानी सानी बहिनी भतिजीलाई २/२ र बाँकी ५/७ दिदीबहिनीलाई ५/५ को नोटसहितको तीला दियो भने सकिन्थ्यो माघेको कर्म ।

चेलिबेटीहरुको घर-घरमा पुगेर तीला दिदै ढोग वा नमस्ते गरी घर नफर्कुन्जेल केही खाँदैनथ्यौ । तरुल, सख्खरखण्ड, गिठा, फलफुल, सेलरोटी, दुध राखेको चिया, रक्सी आदि परिकारहरु रोजी रोजी खाएपछि पाकेको सानो भात र मासु तरकारी पनि बाँकी रहन्थे । गाउँमा तारो,पासा, रमी, म्यारिज जम्थे । किशोरीहरु मामाजुरे खेल्थे तर थुप्रै वर्ष भएको थियो नेपालमै छँदा पनि मामाजुरे खेलेको देख्न नपाएको ।

मेरो गाविसमा माघे संक्रान्ति मेला लाग्थ्यो र लाग्दैछ । त्यहाँ भलिवल, फुटबल, दोहोरीगित, लोकगित, साँस्कृतिक प्रस्तुति, छेलो, घैटो फोड आदि विविध प्रतियोगिता र खोरखोरे, रिंग, चिट्ठा खेल्न पाइन्थ्यो  । विदेशिएको ३ वर्ष भैसकेछ । बुवा बित्नुभएको ४ वर्ष पुग्ने थालेछ । हामी तीनै भाइ देशमा छैनौ । आमा केटाकेटीसंग गाउँमै हुनु हुन्छ । उहाँले नै धान्नु भएको छ - माघेसंक्रान्ति, साउने संक्रान्ति, दशैतिहार र हाम्रा सबै चालचलन । म जस्ता हजारौ छन्त्याल युवाहरु वाध्यता र विवशताका कारण विदेशी भूमिहरुमा संघर्ष गर्दैछन् ।

मलाई लाग्छ, सबै परदेशीको सम्झना व्युँझाइदिन्छ माघे संक्रान्तिले । छार-म्हेङदेखि दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । यसलाई सूर्य दक्षिणायणबाट उत्तरायण हुने दिन मानिन्छ । यस दिनदेखि जाडो हट्दै जाने वा घमाउदै जाने विश्वास गरिन्छ ।

सरकारले २०६५ सालमा आधिकारिकरुपमा माघे संक्रान्तिलाई सम्पूर्ण नेपालीको राष्ट्रिय पर्वको रुपमा घोषणा गरेपछि विगतदेखि यो पर्व मनाउदै आएका जनजातिहरु खुशी हुनु स्वभाविक हो । हाम्रा अग्रजहरु हाम्रो नयाँ वर्ष माघे संक्रान्तिबाटै शुरु हुने बताउनु हुन्छ । यो भनाइ सही हो भने कम्तिमा हाम्रो संघले प्रकाशन गर्ने भित्तेपात्रो माघ महिनाभन्दा पहिले निकालिए विश्वासिलो मान्यता स्थापना हुने थियो न कि बैशाखमा ।

थुप्रै युवाहरुले आफ्ना बालबच्चा पोखरा, काठमाडौँ र विदेशमा पुर्‍याएका छन् । उनीहरुले डिस्को, र्‍याप र पप मात्र मन पराउँछन् । हाम्रा गाउँका लालै, सोरठी, मारुनी र यानीमायाहरुको शीला खोज्दा पनि भेट्न गाह्रो भैसकेको छ । छार म्हेङ होइन मलाई पनि माघे संक्रान्तिको थाहा छ । मेरो आमालाई फोनमा 'छार म्हेङ कसरी मनाउँदै हुनु हुन्छ' भनेर सोध्दा 'के हो र छार म्हेङ भनेको जेथा' भनेर उल्टै प्रतिप्रश्न गर्नुभयो । मैले अचेल बुझेको कुरा भने । आमाले 'ए त्यसो पो' भन्नुभयो ।

चिन्ताको विषय झन्डै नामोनिशान मेटिएको छन्त्यालका जातिय पहिचान, भेषभूषा, भाषा संस्कृति, रीतिरिवाज र उत्पत्ति विकासबारे अध्ययन अनुसन्धानसहित साझा धारणाको विकास गराउन ढिला भैसकेको छ । हाम्रा अवशेषका रुपमा रहेका चालचलनमा वाह्य प्रभाव परिरहेका छन् । पछिल्ला पुस्ताले वास्ता राख्न छोडेका छन् सामाजिक र जातिय कुराहरुमा । संघ, अगुवाहरुले हाम्रा पहिचानलाई जीवन्त राख्दै जातिय उत्थानका लागि तत्काल कसाकसीका अभियानहरु थाल्नुपर्छ ।

हामी सबैले अहिल्यै हातमा हात, काँधमा काँध र साथमा साथ मिलाउन जरुरी छ । बेलैमा संरक्षण नभएका चाडवाड, पर्व र खुशियाली मनाउने दिवसहरुमा अरुका स्वाद मिसिएर खिचडी बन्यो भने विशेष मज्जा हराउदछन् । त्यत्तिबेला इतिहासमा बिलय भएका संस्कृतिको सम्झना कसैले गर्दैनन् बरु जे भेटिन्छ त्यसैमा रमाउछन् । यही महत्वलाई बुझेजस्तो छ छन्त्यालहरु : छन्त्याल संघले माघे संक्रान्तिलाई सबैभन्दा ठूलो चाड मानेर हरेक वर्ष विविध कार्यक्रम गरेर छार म्हेङ मनाएको थाहा पाएको छु । यो वर्ष पोखरा, बुटवल, युके र अष्ट्रेलियामा रहेका छन्त्यालहरुले पनि छार म्हेङ मनाएका छन् ।

देशका २९ जिल्ला र विदेशी भूमिमा रहेका पन्ध्रौ हजार छन्त्यालहरुले हाम्रो यो मुख्य चाडका बेला जातिका लागि जहाँ, जहिले, जत्ति, जसरी, जे गर्न सक्छौ प्रण गर्नुपर्छ र काम गर्न शुरु गर्न सक्नु पर्छ । छारम्हेङको अवसरमा यही शुभकामना !