मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

छन्त्यालहरुबाट सहयोगको अपेक्षा राखेको छु : चित्र छन्त्याल


छन्त्याल जातिहरुमा कलाकारितामा लागेकाहरु कमै छन् । तर संघर्ष गर्दै चित्र छन्त्याल गायक, शब्द तथा लय संकलक र ट्रेकिङ्ग गाईड बन्न सफल भएका छन् । बच्चैदेखि गाउन रहर गर्ने र गाउँदै पनि आएका छन्त्याल सामुन्ने गाउँघरतिर चल्ने रोधिमा हत्तपत्त प्रतिस्पर्धीहरु भैटिदैन थिए ।

बागलुङ्गको बोंगादोभान ७ भयरकटेरीका छन्त्याल जसले रेडियो नेपालमा हरिदेवी कोईराला र लोकबहादुर क्षेत्रीलाई सुन्दासुन्दै प्रेरणाका स्रोत बनाए र पछि आफु पनि गायक बन्ने सपना बुने । रेडियो नेपालमा गीतहरु सुन्दासुन्दै र गाउँघरतिर आउने गाईनेको सारङ्गीको धुन सुनेर आफै सारङ्गी बनाएर बजाउन थाले ।
आर्थिक स्थिति कमजोर भएका र राम्रोसँग पढ्ने मौका नपाएकोले पढाईलाई अण्डर एसएलसीमा नै रोक्नुपर्‍यो । पढाई छोडेर ट्रेकिङ्ग गाईड गर्न थाले । ट्रेकिङ्ग गाईड गर्दागर्दै बच्चादेखिको गायक बन्ने सपना पनि उनले पुरा गरे ।

अहिलेसम्म ओईली झर्‍यो फूल र गाउँघरको सालैजो गरी २ वटा एल्बम निकालीसकेका उनको पहिलो एल्बम उनकै भाषामा झुर भए पनि दोश्रो एल्बम भने राम्रै चल्यो । उमेरले ३९ वर्ष लागिसके पनि उनी अझै अविवाहित नै छन् । पछिल्लो समय नाम नजुरिसकेको तेश्रो एल्बमको तयारीमा जुटिरहेका छन्त्यालसँग हाम्रा सहकर्मी भरत तथप्जाले गरेको कुराकानी :

तपाई गायन र शब्द संकलन गर्न थालेको कति भयो ?
– अनौपचारिक रुपमा त पहिले पनि गाईन्थ्यो तर ०६२ सालमा पहिलो एल्बम ओईली झर्‍यो फूल निकालेपछि औपचारिक रुपमा गायनतर्फ लागे त्यसपछि अर्को एल्बम गाउँघरको सालैजोले स्रोतामाझ चिनायो । दोश्रो एल्बमको पनि ढोरपाटनको बनजङ्गलमा न्याउली चरी कराउँछ बोलको गित हिट भएको थियो । मेरो एल्बममा शब्द र लय म आफैले संकलन गर्ने गर्छु ।
तपाईको एल्बमहरु कतिको सफल भए ?
– नढाँटी भन्नुपर्दा पहिलो एल्बम ओईली झर्‍यो फूल सुपरफ्लप भयो जसले मलाई ६० हजार घाटा भयो । पहिलो एल्बम निकाल्दा मलाई वितरकले पनि घात गर्‍यो जसको कारणले म डुब्नुपर्‍यो । तर दोश्रो एल्बम गाउँघरको सालैजोको ढोरपाटनको बनजङ्गलमा न्याउली चरी कराउँछ बोलको गित हिट भएकैले अझै यस क्षेत्रमा लाह्गीपर्ने हौसला मिलेको छ । दोश्रो एल्बमको त्यही गित गाउँघरको सालैजोको दोश्रो भागको श्रोताहरुबाट पनि अफर आएको थियो तर बिचमा मेरो व्यवसायको असफलता र आर्थिक समस्याको कारणले निकाल्न सकेनँ ।
अहिले गायन क्षेत्रमा लागेकाहरुलाई एक हिसाबले हेर्ने हो भने फुर्सद नै छैन तर तपाई त फुर्सदिलो नै हुनुहुन्छ नि । प्रतिष्पर्धा गर्न नसकेर हो ?
– व्यस्त हुने भनेको कि त महोत्सवहरुमा हो कि भने वैदेशिक कार्यक्रमहरुमा तर त्यसको लागि चर्चामा आउने गरि एल्बमहरु बबाल हिट हुनुपर्दो रहेछ । अनि अहिलेको जमानामा सिकेर आएका नयाँ कलाकारहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने हामी जस्तो नसिकिकन यो क्षेत्रमा आएकाहरुलाई गाह्रो पर्दोरहेछ । अनि हिट हुनको लागि पनि मिडियाबाजी गर्न सक्नुपर्दो रहेछ । मिडियासँग नयाँ आउनेहरुको राम्रो लिंङ्क नभएकोले उनीहरु स्थापित हुन गाह्रो पर्दोरहेछ । अनि प्रतिष्पर्धा गर्न नसकेको भन्ने प्रसंगमा चाहि एल्बम चही चलेकै हो तर संगित क्षेत्रमा पर्याप्त सिप र मिडियासँग च्यानल भएका गायकहरुले गर्दा अलि ओझेलमा मात्र परेको हो ।
मिडियाको कुरा ल्याउनु भयो मिडिया तपाईसम्म पुग्न नसकेको हो कि तपाई नै मिडियासम्म पुग्न नसक्नुभएको ?
– दुवै हो भन्नुपर्‍यो । मिडियासम्म पुग्नको लागि विभिन्न कलाकारहरुले विभिन्न गसिपहरु बजारमा ल्याईराख्छन् जुन मलाई आउँदैन । अर्को कुरा मिडियालाई साथ लिनको लागि कि त मिडियाका मानिसहरुलाई साथि बनाउनुपर्‍यो कि भने गोजिमा टन्न पैसा हुनुपर्‍यो दुवै मसँग छैन । अनि मिडिया मसम्म नआईपुग्नुमा चाँहि मिडियाले चर्चित कलाकारहरुलाई मात्र हेर्ने भएकोले त्यसो भएको होला ।
गायनको विभिन्न विधाहरु छन् तपाईले दोहोरी विधा नै रोज्नुको कारण ?
– पहिले पहिले रोधीतिर गाउँने भए पनि पछि एकपटक मलाई पप संगीत अति नै मन पर्थ्यो । दुईचारवटा पप गित लेखेको पनि थिएँ । पछि अध्ययन गर्दै जाँदा विश्वको सबैजसो देशमा आफ्नो लोक सँस्कृति रहेको पाएँ त्योमध्ये पनि लोकगितहरु सबैजसो देशमा रहेछ । अन्य देशमा लोकगित भएता पनि नेपालमा जस्तो दोहोरी नभएको फेला पारेँ त्यो हिसाबले हेर्दा दोहोरी नेपालको साँगितिक चिनारी रहेछ त्यसकारणले मैले दोहोरी विधा अँगालेको हुँ ।
तेश्रो एल्बम निकाल्ने तरखरमा हुनुहुन्छ, यसमा कस्ता खालका गितहरु समावेश गर्नुभएको छ ?
– यो एल्बममा सबै लोकगितहरु नै हुनेछ । त्यो मध्ये एकतिरको साईडमा चारवटा मेरो जाति छन्त्याल भाषाको गित समावेश गराउने सोँचमा छु र अर्को साईडमा नेपाली भाषामा दोहोरी गित हुनेछ । जसमा मेरो जातिको भाषाको गित नभएकोले चारवटा गित रेकर्ड गर्न लागेको हुँ ।
तपाईले निकाल्न लागेको नयाँ एल्बममा नेपाली भाषाको गितहरु राखेर पैसा कमाउन पनि त सक्नुहुन्थ्यो, तर छन्त्याल भाषामा नै निकाल्नुको कारण ?
– म काठमाडौँतिर बस्दा आदिवासी जनजातीका कार्यक्रमहरुमा गईराख्दथे । कार्यक्रमहरुमा अन्य आदिवासी जनजातीहरुले आफ्नै भाषाका गितहरुमा नृत्य गर्ने तर छन्त्यालहरुले आफ्नै भेषभुषा भएता पनि नृत्य भने नेपाली गितमा गर्नुपर्ने बाध्यता भएकोले मैले हाम्रो भाषाको गित पनि हुनुपर्छ भन्ने महसुस भएर नयाँ एल्बममा छन्त्याल भाषाको गितहरु समावेश गर्न लागेको हुँ ।
अनि तपाँईलाई छन्त्याल भाषा आउँछ त ?
– बागलुङ्गका प्राय सबै छन्त्यालहरुलाई छन्त्याल भाषा आउँदैन त्यो मध्यमा म पनि पर्छु । अनि नआउनुको कारण पनि कस्तो छ भने अन्य आदिवासीहरुले आफ्नो भाषाको संरक्षण गर्नको लागि निशुल्क तालिमहरु दिईरहेका हुन्छन् । हाम्रो जातिमा भने त्यसको ठिक उल्टो छ जसले भाषा जानेको छ त्यसले भाषा नजान्नेलाई सिकाउन खोज्नु त टाढाको कुरा भाषा नजान्नेलाई छन्त्याल नै होईन भन्ने खालको दृष्टिकोणले हेर्ने गर्छन् त्यहि कारणले गर्दा मजस्ता भाषा सिक्न चाहनेहरुले सिक्न नसकेको हो ।
भाषा आउँदैन भन्नुहुन्छ शब्द संकलन गर्दा गाह्रो पर्दैन त ?
– पर्छ तर मैले गित नेपालीमा लेख्छु अनि छन्त्याल भाषा जान्ने एकजना साथी हुनुहुन्छ उहाँलाई अनुवाद गर्न लगाएर गित पूरा गरिरहेको छु ।
छन्त्याल गित भन्नुभयो यसमा तपाईका अलावा अरु पनि छन्त्यालको साथ चहिन्छ होला नि ?
– अवश्य पनि । वास्तवमा गित आदिवासीको कार्यक्रमहरुमा नृत्य गर्नको लागि बनाउन लागिएकोले त्यसमा अवश्य पनि महिला स्वर हुने भएकोले महिला पनि
छन्त्याल नै राख्ने सोँचमा छु । त्यसैगरी गित निकालीसकेपछि म्युजिक भिडियो निकाल्दा पनि छन्त्याल मोडलहरु नै राख्ने योजना छ । समग्रमा भन्नुपर्दा संगितकार छन्त्यालहरु नभएकोले संगित संयोजन बाहेक अन्य सबै काममा छन्त्याल नै राख्ने योजना छ ।
कहिलेसम्म सुन्न पाईन्छ त तपाईको नयाँ एल्बम ?
– निकाल्न त सकेसम्म छिट्टै निकाल्ने हो । अहिले शब्द तथा लय संकलनको काम भईरहेको छ । शब्द तथा लय संकलनको काम भैसकेपछि पैसाको चाँजोपाँजो मिलाउनुपर्ने हुन्छ अनि पैसा हुने बित्तिकै रेकर्डिङ्गको काम सुरु हुन्छ । आर्थिक सहयोगको लागि केहि ठाउँमा कुरा चलाईराखेको छु हेरौँ कस्तो हुन्छ ।
आर्थिक सहयोगको अपेक्षामा हुनुहुन्छ, कतिसम्म लगानी गर्नुपर्दो रहेछ एउटा एल्बमको लागि ?
– एल्बम मात्र निकाल्न ८०–८५ हजार लाग्छ । त्यसबाहेक भिज्युअलसमेत जोड्दाखेरी लगभग डेढ देखि दुई लाखसम्ममा सबै काम सकिन्छ । छन्त्याल गित पनि समावेश गर्न लागेकोले छन्त्याल दिदीबहिनी तथा दाजुभाईले पनि सहयोग गर्दिए हुन्थ्यो भन्ने अपेक्षा लिएको छु ।
अन्त्यमा छन्त्याल डट कम मार्फत केहि भन्न चाहनुहुन्छ ?
– छन्त्याल भाषाको संरक्षणको लागि भाषासम्बन्धित निशुल्क क्लासहरु छन्त्याल संघको पहलमा सञ्चालन हुनु पर्छ । भाषा, संस्क्रिति, भेषभुषाको संरक्षण र सचेतनाका लागि छन्त्याल डट् कमले गरेको प्रयासको सह्राहना गर्नुपर्छ । यो अवसरका लागि तपाईलगायत छन्त्याल डट् कमलाई धन्यवाद ।