मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

हामी छन्त्यालहरु किन मामा-फुपु चेला,चेली (छोरा,छोरी) विवाह गर्छौ ? 

- छन्त्याल कान्छा, हाल बेलायत

परापूर्व कालमा मान्छेमा आफ्नो जाति (Tribe) ले ठूलो महत्व राख्थ्यो । आफ्नो अस्तित्व बचाइ राख्नका लागि अन्य जातिहरु (Tribes) सँग लडाई गर्नु पर्थ्यो । मान्छेका जीवनमा आफ्नो जातिको भाषा, संस्कृति, परम्परा प्राणजस्तै प्यारा हुन्छन् । आफ्नो भाषा,संस्कृति, परम्परा र रीतिरिवाजलाई बचाइ राख्न मान्छेहरु कर्तव्य ठान्ने गर्दछन् । 

इतिहासमा अन्तर जातिय विवाह गर्दा यी सबै कुराहरु लोप हुने डर थियो । आफ्नो जातिको अस्तित्व रहदैन वा आफ्नो जाति (Tribe) नै रहदैन भन्ने डरका  कारणहरुले गर्दा अन्तर जातिय विवाह असम्भव जस्तै थियो त्यसताका। बिभिन्न जातिका आ-आफ्नै भाषा, संस्क्रिती, परम्पराले गर्दा पनि अन्तर जातिय विवाह मुस्किल थियो। त्यसैले सानो संख्याको हाम्रो जस्तो जातिले आफ्नो अस्तित्व बचाइ राख्नका निम्ती पनि आफ्नै नजिकको परिवारमा विवाह गर्नु पर्ने बाध्यता थियो।

मैले आज भोलि कतिपय नयाँ पुस्ताका मान्छेहरुको मुखबाट मामा फुपुको छोरा छोरी विवाह गर्ने छन्त्यालहरुको परम्परा गलत छ भन्ने गरेको सुनेको छु । वैज्ञानिकहरुको अनुसन्धानको हिसाबले पनि नजिकको नातामा विवाह गर्दा त्यस्ता जोडीबाट जन्मेका बच्चामा असर पर्छ भेन्ने गरेको सुनेको छु । तर हामीले यसो भन्दा कता कता हामीले हाम्रो अस्तित्व बचाएर हामीलाई छन्त्याल भनेर एउटा अलग्गै पहिचान भएको, भाषा,संस्किर्ती, परम्परा भएको जाति भनेर चिनाउन (बचाउन) ठुलो भूमिका खेलेका हाम्रा ती पुर्खाहरुलाई अपमान गरेको जस्तो लाग्दछ । वर्तमानमा रमाउन चाहने मान्छेको जातले बिगतलाई सजिलै भुलेको आभाश हुन्छ । आज हाम्रा परम्परा रितिरिवाजलाई कायम राख्नु पर्दछ भन्नेहरुको भन्दा पनि अरुको रितिरिवाज,परम्परालाई सिको गर्नु पर्दछ भन्नेहरुको होड लागेको देखिन्छ।

एउटा अचम्मको कुरो आजका मान्छेले मोटोपन वा मोटा मान्छे खासै मन पराउँदैनन्। बैज्ञानीकहरुको खोजले के पत्ता लगाएको छ भेने मानव अस्तित्वलाई बचाइ राख्न समयको कुनै काल खण्डमा मोटा मान्छेहरुको ठुलो भूमिका रहेको थियो । पृथ्वीमा जव जव खानाको कमि, प्रकिर्ती प्रकोप,रोग ब्यथा बढ्दा ती मोटाहरु मात्र बचेँका थिए । शरीरमा भएको बोसोले यी बिभिन्न कुराहरुसँग लड्न सफल भएका थिए ।

हामी कतिपयले नजिकको परिवारमा विवाह गर्नु हुँदैन बच्चा रोगी जन्मन सक्छन् भन्छौं। इटलीमा ओभोद्दा सर्दिनिया भन्ने एउटा ठाउँ छ । त्यहाँका मान्छेहरु संसारकै लामो उमेर बाँच्ने मान्छेहरु मध्यमा पर्दछन् । बैज्ञानीकहरुले त्यो ठाउँमा कसरी मान्छे यती लामो उमेर बाँच्छन् भनेर खोज गर्दा एउटा अचम्मको कारण पत्ता लगाएका छन्। कारण रहेछ त्यो ठाउँका मान्छेहरु सयौं बर्ष देखी नजिकैको नातामा विवाह गर्दै आइरहेका रहेछन्।

माथिका उदाहरणहरुको तात्पर्य यो हो कि हामी जस्ले जे भन्छ उतै हिंड्ने नगरौं। अरुका रितिरिवाजलाई सिको गर्नु भन्दा पहिले आफ्ना रितिरिवाजहरुको महत्व बुझौं र यी रितिरिवाजहरुलाई बचाउने कोशीस गरौं। मेरो अभिप्राय कसैले अन्तर जातिय विवाह गर्नु हुँदैन भन्नु होइन। कसैले आफुले रोजेको मान्छे सँग विवाह गर्न पाउने अधिकारलाई रोक्न खोजेको पनि होइन। मात्र के भन्न खोजेको हो भने हामी सबैलाई आफ्नो अधिकार (मानव अधिकार) प्रयोग गर्न पुरा हक छ। तर त्यसो भन्दैमा आज हाम्रो अस्तित्व बचाउन, एउटा छुट्टै जातिको पहिचान बचाउन मद्घत गरेका हाम्रा महत्वपूर्ण रितिरिवाज,परम्परालाई नबुझेरै सजिलै दोष दिने बानी राम्रो होइन । सक्छौं भने पुर्खाका देनहरुलाई मान गरौं, नसके पनि अपमान चैं नगरौं।