मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

दिलबहादुर घरब्जाको योगदानमा आधारित वृतचित्रको भव्य प्रदर्शन

काठमाण्डौ, २४ भाद्र । आज काठमाण्डौमा सर्वमान्य नेता दिलबहादुर घरब्जाको योगदानमा आधारित वृतचित्रको भव्य प्रदर्शन भएको छ । प्रदर्शनका लागि छन्त्याल संघको भवन मनमैजुमा आयोजित कार्यक्रममा युके छन्त्याल छात्रवृति पाएकी म्याग्दीकी जोनी छन्त्याललाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।

सहभागीहरुले  वृतचित्रमा उल्लेख भएजस्तै जातिय अधिकार र पहिचानका लागि काम गर्न सकेमा दिलबहादुरप्रति सच्चा सम्मान गरेको ठहरिने बताएका छन् । प्रमुख अतिथिको संक्षिप्त मन्तव्यमा वरिष्ठ पत्रकार प्रेम कैदीले सचेत युवाहरुले ठिक समयमा वृतचित्रको निर्माण गरेर अत्यन्त सह्राहनीय काम गरेको उल्लेख गर्नुभयो ।

"अबको युग युवाहरुको युग हो । युवाहरु सचेत भए समाज, देश र विश्वलाई परिवर्तन गर्न सक्तछन्" कैदीले दाबी गर्नुभयो, "बेलायत छन्त्याल संघ र छन्त्याल डट् कमका पदाधिकारीहरुले जुन मिहेनत खर्चेका छन्, यसले छन्त्यालका लागि मात्र हैन, सम्पूर्ण जनजातिका इतिहासमै एउटा जिउँदो अभिलेखको काम भएर चिनिने भएको छ ।"

विशिष्ट अतिथि सर्वमान्य दिलबहादुर छन्त्यालले वृतचित्र हेरिसकेपछि युवाहरुको कामबाट उहाँलाई साह्रै खुशी लागेको प्रतिक्रिया दिनुभएको छ । उहाँले अझै थुप्रै कामहरु गर्न आवश्यक रहेकाले देशविदेशमा रहेका छन्त्यालहरुलाई जातिबारे चासो राख्न सुझाउनुभएको छ । नेपाल छन्त्याल संघका पूर्व अध्यक्ष चित्रबहादुर घरब्जाले सबै छन्त्याल मिलेर भाषा संस्कृति र इतिहासको अध्ययन गर्नुपर्ने टड्कारो आवश्यकता औल्याउँनुभएको छ ।

थकाली सेवा समितिका सल्लाहकार सोमप्रसाद तुलाचन र नेपाल छन्त्याल विद्यार्थी संघका अध्यक्ष कृष्ण पुराने छन्त्यालले वृतचित्र निर्माण र छात्रवृति प्रदान गर्ने बेलायत छन्त्याल संघ र छन्त्याल डट् कमको कार्यलाई अनुकरणीयको संज्ञासहित खुलेर प्रशंसा गर्नुभयो ।

कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार विद्यार्थीलाई दिइने युके छन्त्याल छात्रवृति पाएकी जोनीलाई ११ र १२ कक्षा गरी दुई वर्षको मासिक शुल्क बराबरको छात्रवृति उपलब्ध गराइने कुरा बताइएको छ । "म मेरा छन्त्याल अग्रजहरुले दिनुभएको यो सम्मानबाट अत्यन्तै खुशी छु । मेरो जातिप्रतिको जिम्मेवारी बढेको महशुश भएको छ यो गलामा पहिरिएको खादासँगै ।" प्रमाण पत्र हातमा लिएकी जोनीले छन्त्याल डट् कमसँग भनिन् : "मेरो मुटु धड्किदै छन्त्याल जातिलाई बाँचुञ्जेल बिर्सनु हुँदैन भन्ने बाचा गराउदै रहेको आभास हुँदैछ । जातिय उत्थान र विकासका लागि म मेरो बर्गत र बुट्टाले भ्याएसम्म लागिपर्नेछु ।"

७६ वर्षीय दीर्घबहादुर भलञ्जाको अध्यक्षता, छन्त्याल विद्यार्थी संघका महासचिव टुकप्रसाद भलञ्जाको स्वागत र विद्यार्थी संघका पूर्व अध्यक्ष खुमबहादुर तथप्जाको सञ्चालन रहेको कार्यक्रममा छन्त्याल डट् कमका कार्यकारी सम्पादक बलमान छन्त्यालले कार्यक्रमबारे जानकारी दिनुकासाथै वृतचित्र तयारी र छात्रवृतिसम्बन्धि निर्णय गर्न सहयोग पुर्‍याउनुभएका सबै महानुभावहरुलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा विभिन्न उमेर समूहका सयौ छन्त्यालहरुको सहभागिता रहेको थियो ।