मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

'खुशीले बोल्नै सकेको थिएनँ' : तेजिन्द्र


गुड स्टार्ट अकाडेमीले एउटा कलिला छन्त्याल विद्यार्थीले स्कूलको नाम बचाइदिएकोमा पाँच हजार रुपैयाँ पुरस्कार दिएर सम्मान गरेछ तेजिन्द्र छन्त्याललाई ।

एउटा मध्यम परिवार रोजगारी हुँदैन । विदेश गए कमाइन्छ कि, कमाएपछि यो बोंगाखानीको दु:खबाट जिन्दगीलाई अलिकति सुधार्न सकिन्छ कि ? यही सोच्छ परिवारले । एकछिन मुहार नदेख्दा तिर्सना बढ्ने उमेरमा ओमबहादुर पूर्णकुमारीलाई केटाकेटीको जिम्मा लगाएर कतार विदेशिनुहुन्छ । नेपाल फर्केपछि जे त होला भनेर राजधानी बसाइँ सर्छ यो परिवार ।

थुकतेल दुखजिलो गरेर तीनवटा नानीहरुको शिक्षामा जोड दिइन्छ । यही परिवारको सपना हो डिष्टिङ्सनमा एसएलसी उत्तिर्ण गर्ने तेजिन्द्र ।

'प्रिन्सिपल सरले ५ हजार पुरस्कार दिनुहुँदा खुशीले बोल्नै सकेको थिएनँ।' तेजिन्द्रले छन्त्याल डट् कमसँग फेसबुकमा कुराकानी गर्दै भने, 'मैले ३ कक्षादेखि यही स्कूलमा पढे, स्कूलको एसएलसी दिने हामी पहिलो ब्याच हौ ।'

सायद उनले मोर्गन इन्टरन्याशनल कलेज, बसुन्धरामा होटेल म्यानेजमेन्ट पढ्नेछन् सबै कुरा उनले सोचेको र चाहेजस्तो भयो भने । जिन्स र पाइन्ट लगाउन मन पर्छ तेजिन्द्रलाई, तर चाडपर्वमा छन्त्यालकै माघे संक्रान्ति मन पर्छ ।

उनको दिदी सुजन १० र भाइ सबिन ८ कक्षामा पढ्दै छन् । परिवार, शिक्षक र साथीहरुले मिहेनत गर्न प्रेरणा दिए रे उनलाई । त्यसैले त उनलाई ८५ प्रतिशतभन्दा माथि आउँछ होला भन्ने आशा रहेछ ।

२०५२ साल फागुन १९ गते जन्मिएका तेजिन्द्रले अंग्रेजीमा सबैभन्दा बढी अंक ९१, विज्ञानमा ९० र सबैभन्दा थोरै नेपालीमा ६४ प्राप्त गरेका छन् । ८०० पूर्णाङ्कमा उनको कुल प्राप्ताङ्क ६५९ अर्थात ८२.३७ प्रतिशत रहेको छ ।

स्कूलबाट एसएलसी दिएका ७ जनामध्ये उनी मात्र हुन् डिष्टिङ्सनमा उत्तिर्ण भएका । अरु सबै प्रथम श्रेणीमा उत्तिर्ण भएछन् । 'हामीले सँगै रिजल्ट हेर्दै थियौ, प्रदीप गौचनले मलाई सबैभन्दा पहिले बधाइ दिए । थुप्रैबाट आशीष पाएँ ।' तेजिन्द्रले हामीसँग बताए ।

छन्त्यालहरुको संघ छ भन्ने कुरा थाहा रहेछ तेजिन्द्रलाई । उनको चाहना छ, सबै छन्त्यालहरु मिलेर जातिको पहिचान र उत्थानका लागि जुट्नुपर्छ ।

(तेजिन्द्र, बधाइ छ ! यो सफलताको स्तर तल घट्न दिनुहुँदैन । छन्त्याल डट् कमकोतर्फबाट अरु प्रवेशिका परीक्षा उत्तिर्ण सबै छ्न्त्याल भाइबहिनीहरुलाई पनि बधाइसाथै उज्ज्वल भविष्यको कामना !)