मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

छन्त्यालहरुका कवि नविन छन्त्याल

भरत तथब्जा, माघ १६,२०६८। भनिन्छ, साहित्यमा रमाउने व्यक्तिहरु बाहुबलमा भन्दा कलमको बलमा विश्वास गर्छन । यो कुरा कवि नविन छन्त्यालमा पनि लागु हुन्छ । सानोमा अति नै रिसाउने र एकान्तप्रेमी बानी भएका नविन छन्त्याल जबदेखि साहित्यप्रति लगाव राख्न थाले तबदेखि उनमा परिवर्तन आयो । साहित्यप्रति मोह बढ्न थालेपछि शालिन र भद्र बनेका कवि छन्त्याल, छन्त्याल युवाहरुले त्यति प्राथमिकतामा नराखेको विधा साहित्यका एक उदाउँदा तारा हुन् ।

बागलुङ्ग जिल्ला बोंगादोभान गाविसको छन्त्याल बस्ती कटेरीमा बिक्रम संवत् २०३८ सालमा जन्मिएका छन्त्यालले श्री जन जागृति माविबाट माध्यमिक शिक्षासम्मको अध्ययन गरेका छन् । आदिकवि भानुभक्तलाई आफ्नो आदर्श मान्ने छन्त्यालले १८ वर्षको उमेरबाट साहित्यप्रति लगाव राख्न थालेका हुन् । साहित्ययात्राको सुरुवातमा खोज र मनोवाद लेख्ने छन्त्यालले पछि भने कवितालाई प्राथमिकतामा राखे । एउटा कविता संग्रह क्षितिज पारिको चन्द्रमा प्रकाशनमा ल्याएका कवि छन्त्यालका अनुसार कविता पढ्न र अध्ययन गर्न सजिलो प्रकृतिको विधा हो । कवि छन्त्यालले रेडियो नेपालको त्रिवेणि कार्यक्रम सुन्दासुन्दै साहित्य प्रति रुचि जागेको बताउछन् । 

साहित्य यात्राको सुरुवातिमा भावना र मनोवाद त्यसपछि कविता र पछिल्लो पटक गजल, मुक्तक र यात्रा संस्मरणमा पनि कलम चलाईरहेको छन्त्यालले बताए ।  किसान परिवारमा जन्मिएको कारणले अन्य किसानका छोराछोरी जस्तै कवि छन्त्यालपनि विदेश टेकेका छन् । एकचोटि मलेसिया गएर आएपछि आफ्नो कवितासङ्ग्रह निकालेका छन्त्याल यसपटक भने साउदिको अल्मराई गईसकेका छन् ।

छन्त्यालका प्रवाशमा रहँदा त्यहाका साहित्यिक पत्रपत्रिकाहरुमा आफ्नो सृजनाहरु प्रकाशन भईरहन्थे । सोहि क्रममा उनका विभिन्न साहित्यिक पत्रपत्रिकामा लगभग ५०० वटा कविताहरु प्रकाशित भएका छन् । उनको विचारमा साहित्य एक त्यस्तो कला हो, जसलाई प्रत्यक्ष जिवनसँग गाँसेर हेर्न सकिन्छ । छन्त्यालले गरिबिलाई कारण देखाएर आफ्नो कला बेच्न नहुने विचार राख्छन् । 

उनको प्रथम कृति क्षितिजपारिको चन्द्रमाले लगानि उठाउन भने सकेन । लगानि डुब्नुमा पनि उनले वितरक र पब्किेशनको दोष रहेको बताउछन् । उनले वितरक र पब्लिकेशनसँग बजार व्यवस्थापन र प्रकाशनको सम्झौता गरेकोमा पब्लिकेशन र वितरकले बजार व्यवस्थापन फितलो गर्दिएकोले आफ्नो पहिलो कृतिबाट नै घाटा बेहोर्नुपरेको बताए । छन्त्याल संघको पोखरामा भएको महाधिवेशनमा १०० प्रति बेचेको भएपनि बाँकि ९०० प्रति वितरकको कारणले बजारमा जान नसकेको उनले बताए । 

उनले कृति प्रकाशन सम्बन्धि नबुझेकोले आफुले कृति प्रकाशन गर्दा सास्ति पाएको बताए । उनले नयाँ आउने सर्जकहरुलाई पहिले प्रकाशन सम्बन्धि धेरथोर बुझेरमात्र प्रकाशन गर्न सुझाव दिन्छन् । प्रकाशन सम्बन्धि नबुझेर प्रकाशन गरेमा प्रकाशक र वितरकले ठग्नसक्ने सम्भावना बढि रहने उनले बताए । नयाँ आउने सर्जकहरुलाई उनको अर्को पनि सुझाव छ कृति प्रकाशन गरेपछि फाईदाको आस नगर्नु । 

साहित्यमा लागेर बाँच्न नसक्ने भएकोले नै आफु विदेशिनुपरेको उनले स्पष्ट पारे । नेपालमा रोजगार नभएकोले र साहित्यमा लागेर हातमुख जोड्न गाह्रो पर्ने भएकोले आफु विदेशिनुपरेको कुरा बताउछन् । आफु विदेशबाट फर्केपछि अर्को कृति प्रकाशन गर्ने उनले बताए । अर्को कृतिमा सकेसम्म गजल विधालाई पनि समेट्ने उनले बताए ।

नेपाली साहित्यमा बढ्दो सर्जक र घट्दो पाठक रहेको कुरालाई कवि छन्त्यालले पनि स्विकार्छन । पाठक घट्दै जानुमा पनि सर्जकहरुकै गल्ति भएको उनले बताए । उनका अनुसार पुराना लेखकहरु पत्रपत्रिकाको स्तम्भमा सिमित हुनु र पछिल्लो पुस्ताका लेखकहरुमा गुणस्तरियताको कमि हुनुले पाठक घटेको उनको दाबी छ । कवि छन्त्यालका अनुसार उनि आफै पनि उत्कृष्ट लेखक होईनन् । 

उनलाई आफ्नै लेख पनि नराम्रो लाग्दोरहेछ । अहिलेको नेपाली साहित्य आकाशमा वियोगी काईला, मञ्जुल, खगेन्द्र सँग्रौला हस्ति भएको उनले बताए । साहित्यकार मोदनाथ प्रश्रितको नयाँ आउनेलाई सघाउने बानि पनि उनलाई मन प¥यो । उनले आम सञ्चारमाध्यमले अग्रजलाई मात्र हेरेको भने कत्ति पनि मन परेको छैन । उनलाई सञ्चारमाध्यमले साहित्यकारहरुलाई स्तम्भ लेख्न लगाएर सर्जकहरुलाई आम्दानीको स्रोत बढाईदिएकोमा सम्पुर्ण सञ्चारमाध्यमप्रति आभार रहेको पनि बताउछन् । आफुलाई पनि स्तम्भ लेख्न मन लागेको तर प्रवाशमा त्यो सम्भव नभएको र नेपालमा रहँदा ग्रामिण भेकमा सम्भव नभएकोले लेख्न नभ्याएको उनको गुनासो छ ।

नेपाल छन्त्याल संघ केन्द्रिय समितिका अध्यक्ष चित्रबहादुर छन्त्यालका अनुसार नविन कृती प्रकाशनका आधारमा छन्त्याल जातिका दोश्रो कवि हुन् । छन्त्यालहरुका कवि नविन छन्त्यालको दुखद क्षणहरुपनि धेरै छन् । उनको जिवनको दुखद क्षण सम्झँदा आफुलाई जन्म दिने बुवालाई गरिबिको कारणले राम्रो उपचार गर्न नसकेर गुमाउँदा उनि अत्यन्त दुखि भएका थिए । अर्को दुख भनेको प्रवास मलेसियामा हुँदा एकजना साथिले जाँड खाएर झगडा गर्दा कम्पनिको ४५ जना नेपाली कामदारहरुसँग आफुपनि जेल जानुपर्दाको क्षण थियो । जेलमा उनले ५ दिनसम्म शारिरीक र मानसिक यातना भोग्नुपरेको थियो । जेल जिवनको त्यो ५ दिन सम्झँदा आज पनि ज्यानमा काँडा उम्रन्छन् । 

जेलमा रहँदा आफुलाई विदेशिनु नै सबैभन्दा ठुलो गल्ति गरेजस्तो लागेपनि अहिले आएर गरिबिको कारणले फेरि विदेशिनुपरेको उनि बताउँछन् । दुखद क्षणहरु सम्झिरहँदा प्रवाशमा रहँदा आफुले लेखेको ६० वटा उत्कृष्ट लेखहरु चोरि भएको क्षण पनि आफ्नो जिवनको दुखद क्षण भएको बताउन भुलेनन् । कसले चोरी ग¥यो भन्ने कुरा उनि नेपाल फर्कदाँ समेत पत्ता लाग्न सकेन । प्रवासको खतरनाक माहौलका कारण पनि उनले खोज्न हिम्मत गरेनन् । उनलाई अहिले आएर खतरा मोलेरै भएपनि आफ्नो चोरि भएको सृजना खोजेको भए हुन्थ्यो भन्ने लाग्छ ।

यसरी छन्त्यालहरुको साझा समस्या गरिबिको विचबाट पनि छन्त्याल युवाहरुले प्राथमिकतामा राख्न नसकेको साहित्यलाई अगाडि बढाईरहेका छन् कवि नविन छन्त्याल । उनी साउदी अल्मराईको लागि नेपालबाट उड्नुभन्दा २ दिन पहिले पंक्तिकार सँगको भेटमा गबिले आफु विदेशीय पनि नेपाली गुन र नेपाली नुन कहिल्यै नभुल्ने बताएका थिए । कमाईको लागि नेपाली भुमि छोड्नुपुर्व नेपाल फर्कदा नेपाली साहित्यको लागी एउटा कृति साथमै ल्याउने वाचासमेत गर्न भ्याए । सुन्दर कृतिका साथ छिट्टै नेपाल फर्किउन् कवि छन्त्याल हामी सबैको......उनलाई शुभकामना ।