मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

छन्त्याल थातथलोको अनुभव


- गोविन्द डाँडामारे छन्त्याल
असार ७ गते बेनीबाट १३/१४ घण्टा लगाएर बेलुकी लगभग ७:३० बजेतिर घ्याँसीखर्क पुँगे जहाँ लगभग १८/२० घरधुरीमा घरब्जा, तथप्जा, खड्का पुराने, भलञ्जा थरका छन्त्यालहरू बसोबास गर्दछन् । त्यसदिन पदम तथप्जाको घरमा बास बसाइँ भयो । कुइनेमंगलेका सुपरभाइजर र गणक अच्युत शर्मा (विवेक) र चन्द्रमान घ्याप्चन छन्त्याललाई कुइनेमा आपूm घ्याँसीखर्क आइपुगेको फोनबाट जानकारी गराएँ भने अर्का गणक रेसबहादुर बिकलाई उनको परिवारका सदस्यहस्ते खबर पठाएँ ।  लगातार हिँडाइको थकाइले विहानको उठाई अलि ढिलो भयो र असार ८ गते खाना खाइसकेपछि छन्त्यालहरुले प्रयोग गरेको ऐतिहासिक तामाको भाडाँ रोँचेको तस्विर खिच्न र अध्यक्ष इन्द्रजित भलञ्जा छन्त्यालको घर हेर्ने उद्देश्यले स्थानीय (लघु जलविद्युत कार्यालयमा कार्यरत) सित घ्याँसीखर्कबाट उत्तर–पश्चिम लघु जलविद्युतको कार्यालय हुँदै द्वाँडी–ढारतिर लाग्यौ । 

द्वाँडीमा ४/५ घरधुरी छन्त्यालहरु छन् भने तल्लो ढारमा ३/४ घरधुरी र माथिल्लो ढारमा ३/४ घरधुरी छन् । हेलिकोप्टरबाट विद्युतको सामान त्यस ठाउँमा अवतरण बनाइएको कुरा इन्द्रजित भलञ्जाले पहिल्यै नै बताइसकेका थिए । माथिल्लो ढाँरमा सर्वमान्य दिलबहादुर घरब्जाले विसं २०५०/५२ सालतिर खिचेको रोँचेको तस्विर अलवा अर्को रोँचेको पनि तस्विर खिँचे । छन्त्याल खाम भाषा मात्र बुभ्mने ९० वर्षकी बज्यैले ती ऐतिहासिक महत्व राख्ने तामाका रोँचे, खर्कुन्डो, ताउली, माना, पाठी लगायत भाडाँहरुको तस्विर लिँदा यो रोँचे र खर्कुन्डो बनाएको हिजोजस्तै लाग्छ भन्दै अतित सम्झेर उनका आँखाबाट सुकेका आँसुहरु झर्दा त्यस क्षणमा यदि ढुङ्गाको मन भएमा पनि पग्लन्छ जस्तो लाग्यो । एउटा रोँचे घरब्जा र अर्को तथप्जाको घरमा छ । तिनै तथप्जाको घरमा चिया–खाजा खाएर दिउँसोको ३:०० बजेतिर आकासको पानी रोकिएपछि घ्याँसीखर्कतिर फर्कियौं । द्वाँडी, ढार र छहरे एकअर्कामा लगभग आधा घण्टा ४५ मिनेटको दुरीमा रहेका ५/७ घरधुरीहरु भएका छन्त्याल बस्तीहरु हुन् । प्राकृतिक सम्पदा वन जंगल, खोलानाला, जडिबुटी, घाँस, बुट्यानलगायतको उपलब्धता मात्र होइन अनुपम प्रकृतिका सुन्दर बस्तीहरु पुग्न पाउँदा को नै खुसी हुँदैन र ?

घ्याँसीखर्कमा म बसेको घरमा पदमजीको स्थानीय पसल पनि छ । कुइनेखानीबाट विवेक, चन्द्रमानजीहरु आइसकेका रहेछन् र घ्याँसीखर्कका विद्यालय शिक्षकहरुसित चिनाजानी पश्चात् एकछिन गफगाफमा रमेऔं । र नन्द पुराने छन्त्याल –शिक्षक)सित पहिल्यै छन्त्याल विद्यार्थीमा काम गर्दा चिनजान थियो । पदमजीको घरमा खाजा खाइसकेपछि बिदाइ भएर विवेक, चन्द्रमान र रेसबहादुर सरहरुसित पूर्व–दक्षिण उकालो बाटो चौरखानी अर्को छन्त्याल बस्तीतिर उकालियौं । जुन घ्याँसीखर्कबाट ३०/३५ मिनेट हिडेपछि चौरखानी पुगिन्छ जहाँ ४५/५० घरधुरीहरु छन् । गतसाल पहिरो गएकाले विद्यालय पछाडि मास्तिरबाट सिमेन्ट बालुवासहितको कुलो बनाएर पहिरो रोकथामको प्रयास गरिएको छ । 

कालान्तरमा छन्त्याल पूर्खाहरु पश्चिमबाट चौंरीको बथानसहित घाँसैघाँस भएको ‘घ्याँसीर्खक’ आई बसेका थिए र यस पाखा(हालको चौंरखानी)मा चौंरीहरुको चरन भएकाले चौंरखर्क भनियो तर त्यस भूमिमा बसेपश्चात छन्त्याल पूर्खाहरुले तामाखानी खनेकाले चौंरखर्कको सट्टा चौंरखानी नामाकरण भएको स्थानीय जानकारहरु बताउँछन् । घ्याँसीखर्क र चौंरखानीको भौगोलिक अवस्थिति हेर्दा जुन रुपमा रहेको मिथक सत्यको धेरै नजिक मान्न सकिन्छ । विभिन्न समसामयिक विषयमा गफिदैं र उत्तरतिर पर्ने मंगलेखानी छन्त्याल गाउँको तस्विरहरु लिदैँ चन्द्रमान सरको घरमा पुगियो । अर्को छन्त्याल गाउँ मंगलेखानी चौरखानीको खोला पारी उत्तरतिर अवस्थित छ जहाँ भलञ्जा, खड्का, घरब्जा थरका ३५ देखि ४५ छन्त्याल घरधुरीहरु छन् । विसं २०४६ सालको प्रजातन्त्र पुनर्बहाली हुनुभन्दा पहिले राहुघाट खोला हुँदै विदेशी पर्यटकहरु लामकालाम धवलागिरी हिमालको दक्षिण मोहडाको बेसक्याम्पसम्म ट्रेकिङ जाने कुरा स्थानीय छन्त्यालहरुले बताए । पर्यटकहरुले बदमास स्थानीयहरुबाट पाएको दुःख र सास्तीले गर्दा असुरक्षित महसुस गरी अहिले यस रुटमा पर्यटकहरु आउन छाडेको उनीहरु बताउँछन् । छन्त्याल घरधुरीमा गणकहरुले जनगणना गरेको पर्यवेक्षण गर्नुपर्ने निर्देशित दायित्व भएकोले एकछिनको आराम पश्चात् साँझमा दुई/तीन घरधुरीमा गणना गरेको चेक लिस्ट भरेँ । त्यसपछि भूपू गाविस अध्यक्ष हरिप्रसाद घरब्जा छन्त्यालको घरमा लोकल कोदोको घरेलु उत्पादनमा रम्न कहाँ बाँकि राखियो र ? त्यस रातको खाना चन्द्रमान सरकहाँ खाएर चिसो शान्त वातावरणमा हरिप्रसाद घरब्जा (भाई गोपाल घरब्जाको बउ)को घरमा सुताई भयो ।

असार ९ गते विहानै उठेँ । सुपरभाइजर र गणकहरुको चेक लिस्ट भर्नु थियो चियाको चुस्कीसँगै चन्द्रमान घ्याप्चन सरको आँगनमा विहानीको शान्त र शालीन वातावरणमा हरियाली नियाल्दै चेक लिस्ट भर्दाभर्दै ८:०० बज्यो । हिजोपल्टको कुराकानी अनुसार पदम तथप्जाजीको म्याडम (स्वयमसेविका) कुइनेखानीका बच्चाहरुलाई पोलियो खुवाउन जाने भएकोले सँगै जाने सल्लाह भएबमोजिम उपस्वास्थ्य चौकीमा काम गर्ने घरब्जा थरका दाई म बसेको घरमा लिन आउनुभयो र हतार–हतार बिदा मागेर दक्षिण–पश्चिम उकालो यात्रा सुरु ग¥यौं । वर्षायामको यात्रा आपैmमा कठिन नै हुन्छ तथापि जंगलको बाटो अप्ठ्यारो नै हो । बिहानको खाजा चिया मात्र भएकोले उकालो हिड्दै गर्दाको भोकमा भुइँ काफल (भुइँमा पाइने रातो रङको एक प्रकारको फल) खादैँ र सुस्केरा हाल्दै उकालो हिड्नुको विकल्प थिएन । ‘झिङखानी’लाई पूर्वी बायाँ पारेर लगभग चार घण्टाको उकालोपछि ऐतिहासिक पवित्र ‘झिङखानी’को मन्दिर पुगिन्छ । वर्षाको समय भएकोले जुका जिउँबाट फालेर सकिदैन । एकछिनको हिडाइँपश्चात ढुङ्गामाथि चढेर फाल्ने अनि फेरि हिड्ने सम्झनायोग्य यात्रा । चौंरखानीका हरिप्रसाद घरब्जाका कथनअनुसार– ‘आजभन्दा चार/पाँच सय वर्ष पहिले छन्त्यालहरु ‘झिङखानी’मा बस्दथे र त्यस पौराणिक थलो ‘झिङखानी’ बाट कुइनेखानी, मंगलेखानी, चौंरखानी, मल्कबाङ, मलम्पारतिर बिस्तार भएका हुन् ।’ 

कुइनेमंगले गाविसका जनताहरु मात्र नभै ऐतिहासिक ‘झिङखानी’ मन्दिरमा टाढा–टाढाबाट पूजाआजा गर्न आउने कुरा तिनै यात्राका साथी बनेका घरब्जा थरका दाईले बताए । ‘झिङखानी’ मन्दिर धुरी (डाँडा) नजिक छ । मन्दिरको तस्विर लिँदै उकालो काँटे । तर कुहिरोले पहाडहरु ढाकेकाले ‘झिङखानी’को ऐतिहासिक भूगोल राम्ररी हेर्न नपाएकोमा ठकठकी लागेर आयो र धुरीमा फूल चढाउँदै मन भित्रभित्रै प्रण गरेँ अवश्य एक दिन आउनेछु ।

धुरीबाट कुइनेखानी जाँदा बाटो पश्चिमतिर तेस्रो लाग्छ । चौरमा आराम गर्दै मसँग भएको एउटा चाउचाउ दुबै जना बाँडेर खायौं । धुरी–डाँडाहरु कुहिरोले ढम्म ढाकेको छ कहीँ कतै देखिदैन । पानीको प्यासले सताइरहेकोले धेरैबेर नबसी तेस्रो लाग्यौं । केही अगाडि बढेपछि घरब्जा थरका गाई गोठाला भेटियो । धुरीबाट दुई घण्टा जति तेस्रो हिँडेपछि बाटो ओरालो लाग्छ र ओरालो लाग्ने ठाउँ नजिकै फूल चढाउँदै म पनि लुरुलुरु ओरालिएँ । खुट्टा दुखाईले पटक्कै हिड्न सकिन अनि आफूले आफैलाई मनमनै जिस्काउँदै भने– काठमाडौंमा बिग्रेको चामलको भात खाएर भौतिक र शारीरिक काम बेगर बसेको डाँडामारेको हालत बल्ल देखिएको छ । त्यसैले हिडेर, डुलेर, घुमेर फरक–फरक जीवनपद्धति नियाल्दै ज्ञान हासिल गर्नुपर्छ नेपालको भूगोलका रेखा–रेखाहरु र छन्त्याल बस्तीहरु अनि मात्र भन्न सुहाउँछ छन्त्याल पहिचानसहितको नेपाली ।

भेडा र भेडाका पाठाहरु कराएको टाढा–टाढासम्म सुनिने कुइनेखानीको उत्तरतिरको भिरमा छन्त्यालहरुकै भेडा गोठहरु रहेछन् । भेडा र भेडा गोठका तस्विरहरु खिच्दै ओरालो र तेस्रो बाटो लगभग साढे १ घण्टा हिडेपछि छन्त्यालहरुको एउटा ऐतिहासिक बस्ती कुइनेखानी दिउँसोको २:०० बजेतिर पुगियो । सुन्दर गाउँ, हरियाली डाँडाकाँडामाथि कहीँकतै कहिरोले ढाकेर सुन्दरतालाई पुष्टि गरेको जस्तो देखिने कुइनेखानीको भूगोल सामुद्रिक सतहदेखि १७ सय देखि १९ सय मिटरको उचाईमा हुनुपर्छ ।