मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

जेठको यात्रालाई सम्झदा


- गोविन्द डाँडामारे छन्त्याल
ऐतिहासिक जनगणना २०६८ को पर्यवेक्षण गर्न छन्त्याल गाउँबस्तीहरुमा जान पाउनुमा उत्सुकताका चाङहरु र कौतुहलताहरु कायम नै थिए । पहिलो उद्देश्य, पर्यवेक्षण समितिले दिएको जिम्मेवारी पुरा गर्नु थियो भने दोस्रो छन्त्याल गाउँहरुमा घुम्न पाएको अवसरलाई केही सिक्ने थियो । त्यसैले पहिलो उद्देश्य पुरा गर्न त्यति कठिन भएन तर दोस्रोका लागि भने केही सिकेर नासोसहित फर्केर आएँ । नासो बुन्दै मनभित्र खेलिरहेका साना योजनाहरुलाई कसरी पोख्दा सान्दर्भिक र सार्थक हुन्छ होला ? भनेर कनी टोपल्छु र मनमनै म आफै गुन्छु सायद कुनै दिन पुरा हुनेछ ।

विस २०६८ असार २ गतेको हिजोपल्ट टिकट बुक गरेबमोजिम बिहान १० बजे बनस्थली काठमाडौंबाट माइक्रो बसको पहिलो सिटमा मेरो यात्रा बेनीबजार म्याग्दीको लागि तय हुन्छ ।

एमालेनिकट युवा संघका अध्यक्ष हिरासतमा परेकाले आप्mनै दलका अध्यक्ष सरकारको प्रमुख रहेको भएपनि आफै झाक्री आफै बोक्सी भने जस्ते रिहाईको माग गर्दै धादिङको गल्छीमा लगभग ३ घन्टा चक्का जामको कारणले बेनीबजार राति १० बजे पुगियो । त्यस राति छन्त्याल संघ म्याग्दी जिल्लाका अध्यक्ष मुकुन्द खड्का छन्त्यालको घरमा बसाई भयो । असार ३ देखि पर्यवेक्षणको कार्य शुरु गरेँ । बेनीबजारमा पर्यवेक्षणका लागि भेट्नुपर्ने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङ लिम्बु, जनगणना अधिकृत किशोर केसी, सुपरभाइजरहरु, गणकहरु, आदिवासी जनजाति महासंघ म्याग्दीका अध्यक्ष, छन्त्याल संघका जिम्मेवार व्यक्तिहरु, दलित संघ/संस्था, पत्रकार, नागरिक समाजसित भेटघात, छलफल, बहस र साक्षात्कार गरेँ । छन्त्याल समुदायलगायत अन्य घरपरिवारमा भइरहेको जनगणना प्रक्रियाबारे बेनीबजारका गणकहरुले लागत फाराम भरेको विशेष ध्यान दिएर पर्यवेक्षण गरेँ । बेनीबजारमा प्रायः छन्त्यालहरुको घर आगँनमा पुग्ने सौभाग्य पर्यवेक्षण कामले नै जुरायो । चासोका साथ मराङ गाविसबाट बरंजाका सुर्यमान छन्त्यालले जनगणनामा देखिएको भ्रमसम्बन्धी जानकारीसमेत गराउनुभएको कुराले हामी छन्त्यालहरु पनि कुनैपनि विषयमा सचेत र चासो लिन थालेछौं भन्ने लाग्यो ।

मनभित्रभित्रै उत्सुकताका ठेलीसित गुम्सेको छन्त्याल गाउँबस्तीहरु मंगलेखानी, खरिबोट, ध्याँसीखर्क, द्वाडी ढाँर, चौरखानी, झिङखानी (छन्त्याल पहिचान निर्माणको इतिहास जोडिएको ऐतिहासिक स्थल), कुइनेखानी, मल्कबाङ, मलम्पार र ठाडाखानीलगायत ऐतिहासिक थातथलो पुग्ने इच्छा र आकाक्षांलाई बास्तविकतामा परिणत असार ७ गते बेनीबजारबाट भएको प्रस्थानले बनायो । हुनत असार ६ गते नै बेनीबजारबाट छन्त्याल गाउँहरु प्रस्थान गर्ने योजना थियो तर साथी बिना नजानू भन्ने सुझाबले गर्दा जान सकिन ।

असार ७ गते बिहान ५:३०/५:३५ वरिपरि ओम छन्त्याल सोल्टीको फोन आयो र पुलका सामान लैजानेहरुसित जानू, तिनीहरु मथि गाउँमा नै जाने हुन् भन्ने सुझाबसहित बिहान ६:०० बजेतिर मुकुन्द दाईको घरबाट अत्यावश्यक सामानहरुसित मात्र प्रस्थान गरेँ किनकि बेनीबजारबाट नै पैदल हिड्नुपर्ने भएकोले ग¥हौँसित हिड्न सकिन्न भन्ने लाग्यो । एक जना म भन्दा उमेरले पाका र अर्को काचा देखिने दुई जना छन्त्यालहरुलाई गलेश्वर र बेनीबजारको बिच बाटोमा भेटेर सामान्य कुराकानी गर्दै गलेश्वर पुगियो । उनीहरु चिया खाजा खान थाले भने म एउटा उमेरले परिपक्व देखिने पसलेकहाँ ग्लुकोज किन्न थालेँ । पसले दाइको बोलीचाली छन्त्यालको जस्तो लागेकोले मेरो आफ्नो परिचय दिँदै सोधेँ उनी आप्mनो थातथलो छोडेर कुइनेखानीबाट बसाई सरेका रहेछन् र म आफू जान खोजेको गाउँको बारे जानकारी गराए पछि राहुघाट खोला पारी पखेरामा औंलाले देखाउँदै माथि चिमखोलासम्म जाने तीन जना मगर केटाहरु भर्खर गएका छन् यिनी सामान बोकेकासित जादाँ ढिला हुन्छ भन्ने अर्ति दिएपछि म टाउको हल्लाउदै लुरुलुरु लागेँ ।

धवलागिरी हिमालको तीनवटा भागबाट बगेर आउने तीन नदी/खोलाहरु कालीगण्डगी, म्याग्दी र राहुघाटखोलाहरुलाई स्थानीय बासिन्दाहरु क्रमशः जेठी, माइली र कान्छी तीन बहिनीका संज्ञा दिन्छन् । चिमखोला जाने तीनजना पुन मगर सोल्टीहरुसित सामान्य चिनजानपछि उकालो यात्रा शुरु भयो । राहुघाटको गाडी गुड्ने पक्की पुल तरेपछि पश्चिम–उत्तर अलिकति छड्के राहुघाटको खोला तिरैतिर हिडेपछि बाटो उकालो शुरु हुन्छ । छड्के बाटो हिड्दै गर्दा अध्यक्ष इन्द्रजित भलञ्जा दाईले फोन गर्नुभयो । घतान गाबिसको गलेश्वरबाट लगभग २ घन्टा हिडेपछि दगनाम गाबिसको तल्लो गाउँ पुगिन्छ । असारको महिना जताततै तारीखेतमा धान रोपाईको चटारो छ । बिहानको समय तारीमा खेतालाहरु धानको बिऊ निकाल्दै र हलीहरु हलो जोत्दै ब्यस्त छन् भने कतै हलीहरु जोली गोरुहरु खेड्दै छन् । भोक र थकाई लागेकाले थकाइ मार्दै हामीले केरा र फ्रुटी जुस किनेर खायौं । त्यस गाउँबाट अलिकति हिडेँपछि एउटा भिर भेटिन्छ अनि सानो ठाडो खोला तरेपछि बाटो खन्ने डोजर भेटियो अनि त्यसैमा चढेर अर्को सानो भिर सम्म पुगियो जहाँसम्म डोजरले कच्ची मोटरबाटो खनेको थियो । डोजरलाई छोडेर अलिकति हिडेँपछि हर दुःखमा पनि सधै मेरो पढाईमा चिन्ता गर्ने आदरणीय सम्मानित प्यारो बुबाले जन्मघर थातथलो (घैयाखानी) बाट फोन गर्नुभयो त्यो फोन नै बेनीबजार फर्कदासम्मको लागि मेरो मोबाइलमा अन्तिम फोन थियो । त्यसपछि साढे १ घन्टा जति हिडेपछि दगनामको गाउँ भेटिन्छ जहाँ मगरहरुको घना बस्ती छ । स्थानीय समुदायहरु कतै–कतै आलु मकैमा उकिँरा लगाउँदै छन् । अलिकति तेर्पाले–तेर्पाले हिडेँपछि ठाडो खोलाको झोलुङ्गे पुल नजिक एउटा स्थानीय होटेल रहेछ । जहाँ बिहानको खानाको रुपमा चाउचाउ र अण्डा पकाएर खायौँ । दगनामदेखि बाटो त्यति उकालो छैन ।

दगनामबाट दक्षिण पश्चिमतिर पाखापानी, झिँ, पात्लेखेत गाबिसका अधिकांश मगर गाउँहरु देखिन्छन् । दगनामको भिरले भने पहिलोचोटि जानेको जिब्रो टोक्ने बनाउँछ नै । डरलाग्दो भिर जहाँबाट खच्चड खसेको अनि रक्सी खाएर मातेको मान्छे खसेको कुरा मगर सोल्टीहरुले नै बताए । सबभन्दा पुरानो बाटो भिरभन्दा माथिबाट थियो र त्यसपछि अहिलेको बिचबाटो भन्दा तलबाट थियो र तलको बाटोमा भ¥याङ (स्थानीय भाषामा लिस्नो) समेत हालेर मान्छे हिड्ने गरेको कुरा बताए । यस भिरमा राक्षसको बास भएकोले पहिलोचोटि आउनेले जोकोहीले फूल चढाउनुपर्ने समेत उनीहरुले बताए । दगनामको भिर पार गरेपछि दर्मिजा मगर गाउँ पुगिन्छ । त्यस गाउँबाट तेर्सो–तेर्सो पश्चिम–उत्तर दिशा लगभग साढे १ घण्टा हिडेपछि चिमखोला पुगिन्छ । 

चिमखोलादेखि खरिबोट पुग्न साढे १ घण्टा जति नै लाग्छ । राहूघाट खोलाको उत्तरी पहाडमा अवस्थित मंगलेखानीको जरा राहुघाट खोलाको उत्तर किनारामा बाटो वरिपरिको गाउँ नै खरिबोट हो जहाँ भलञ्जा, खड्कालगायत छन्त्यालहरुको लगभग १२/१५ घरहरु छन् । ‘आँशु’ नामक कवितासंग्रहका लेखक बेलबहादुर छन्त्यालसँग बाख्रालाई ‘झाँप्र्रा’ (निगालो तथा चुयाँको पातसहितको घाँस) बोकेर आउँदै गर्दा घ्याँसीखर्क पुग्नुभन्दा अलिकति तल सानो पहिरो नजिक भेट भयो । हामीबीच पहिल्यै चिनजान भएकोले केहीबेरको कुराकानीपछि साँझ परेकाले छुट्टियौं । घ्याँसीखर्कमा एउटा भर्खर प्रस्तावित माध्यमिक विद्यालय (जहाँ अहिले कक्षा ९ सम्म पढाई भैरहेको छ) हुँदै अन्दाजी लगभग ४ दशक अघि बनाएको पुरानो झोलुङ्गे पुल तरे पछि घ्याँसीखर्क एउटा छन्त्याल गाउँ पुगिन्छ जुन राहुघाट खोलाको दक्षिण–पश्चिम किनारामा अवस्थित छ ।