मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

जनजाति विद्यार्थी महासंघको नेतृत्व लेखाजोखा


– गोविन्द छन्त्याल
मे ३१, २०११/असमानता र विभेदको गर्भबाट २०५६ साल माघ १५ गते पृथ्वीनारायण शाहको आन्तरिक औपनिवेशीकरण पश्चात् सदियौदेखि राजनीतिक, सामाजिक, सांसकृतिक, आर्थिक, भाषिक लगायत उत्पीडनमा पारिएका आदिवासी जनजातिहरूका सचेत वर्ग विद्यार्थीहरूको साझा संगठन नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको स्थापना भएको देखिन्छ ।

आदिवासी जनजाति विद्यार्थी महासंघमा नेतृत्व सह्मालेकाहरू यो समयावधिमा को–कहाँ छन् ? र उनीहरूको सामाजिक–राजनीतिक हैसियत के–कस्तो अवस्थामा छ ? भनेर जनजाति विद्यार्थी आन्दोलनले जानकारी राख्न खोज्नु र जान्न उत्सुकता हुनु आफैमा अन्यथा होइन । त्यसैले पनि हिजोका दिनमा जनजाति विद्यार्थीका नेतृत्व सह्मालेकाहरूले सिङ्गो जनजाति आन्दोलनको चिन्तन–मनन गर्ने जिम्मेवारी अवश्य राख्छन् ।

नेतृत्व हैसियत

नेपाल आदिवासी जनजाति महासंघको स्थापना २०४७ सालमा भएको एक दशक पछि प्रथम राष्ट्रिय भेला २०५७ सालमा रामबहादुर थापा मगरको संयोजकत्वमा आदिवासी जनजाति विद्यार्थी महासंघको स्थापना भएको हो । मगर अहिले एकीकृत नेकपा माओवादीको तर्पmबाट समानुपातिक संविधानसभा सभासद छन् । ‘म यो पदमा आउन सक्नुको पछाडि मगर विद्यार्थी संघ हुँदै विद्यार्थी महासंघमा कार्य गरेको प्लेटफर्मले नै सम्भव भएको’ मगर बताउँछन्– ‘सभासदका लागि भलै विद्यार्थी महासंघले सिफारिश गरेन र गर्ने निकाय पनि होइन तथापि विद्यार्थी महासंघमा आफ्नो उमेरको उर्वर समय खर्च गरेकोमा गर्व गर्नुका साथै त्यसैको प्रतिफलस्वरुप राजनीतिक दायरा बनाउन सफल भएको दाबी गर्छन् ।’ जनजाति आन्दोलनलाई भ¥याङ बनाएर राजनीतिक फाइदा लिने गरेको र आदिवासी जनजाति समुदायलाई देखाएर मागीखाने भाँडो बनाएको आरोप लगाउने ठुलै हिस्सा जनजाति आन्दोलनमा छिपेको भने छैन ।

रामबहादुर मगर हुँदै लुइसाङ वाइवा, विजय लोप्चन, चन्द्रविक्रम राई, नविन लिम्बु र नरबहादुर तमुको नेतृत्वसम्म आइपुग्दा जनजाति विद्यार्थी महासंघका नेतृत्वको खोजीनीति गर्नु उपयुक्त हो वा होइन भन्ने बहस दुबै पाटोबाट गर्न सकिन्छ तथापि कुल नेपालको जनसंख्याको ३७.२८ प्रतिशत ओगट्नो आदिवासी जनजाति समुदायका सचेत विद्यार्थी वर्गको नेतृत्वका बारेमा जान्न खोज्नु जनजाति आन्दोलनकै निम्ति उपयोगी  विषय हो । एक दशकको विद्यार्थी महासंघको आन्दोलनका नेतृत्वको प्रवृति सकारात्मक र नकारात्मक, उपलब्धिमूलक र क्षयीकरण दुबै कोणबाट हेर्न सकिन्छ । प्रथम महाधिवेशन (२०६० पुष १२–१४) बाट आएका नेतृत्व (अध्यक्ष) लुइसाङ वाइवा तत्कालिन राजा ज्ञानेन्द्रको शासनलाई समर्थन गरेका कारण विद्यार्थी महासंघले कारबाही गरी निष्कासन गरेकोले नेतृत्व क्षयीकरण र गलत भएको देखिन्छ र उनी हाल जनजाति आन्दोलनको प्रभावकारी जिम्मेवारी भूमिका र स्थानमा मात्र नभएको होइन विदेशमा रहेका छन् । त्यस पश्चात् वाइवाको स्थानमा आएका विजय लोप्चन पनि अहिले तामाङहरूको साझा संस्था तामाङ घेदुङको केन्द्रीय सदस्य र एमाले निकट तामाङ लोकतान्त्रिक संघका महासचिव छन् । दोश्रो महाधिवेशन (२०६२ माघ ११–१२) बाट आएका का नेतृत्व चन्द्रविक्रम राई राईहरूको साझा संस्था किरात राई यायोक्खाका महासचिव छन् । तेश्रो महाधिवेशन (२०६५ असार २६–२८) बाट आएका नेतृत्व नबिन लिम्बु भर्खरै सम्पन्न चौथो महाधिवेशन (२०६७ चैत्र १८–१९) सम्पन्न गरी नरबहादुर तमुलाई जिम्मेवारी सुम्पेका छन् । विद्यार्थी महासंघको केबल नेतृत्व मात्र नभै जिम्मेवार पद सह्मालेकाहरू केही जनजाति आन्दोलनसँग जोडिएका जनजातीय संघसंस्था र जनजातीय मुद्दा र सवालमा आधारित पार्टीमा रहेका छन् भने अधिकांश भूमिकाविहीन जस्तो अवस्थामा देखिन्छन् । विद्यार्थी महासंघका प्रथम महाधिवेशनबाट आएका महासचिव रेशम तमु गुरुङहरूको साझा संस्था तमु ह्युला छोंज धिका महासचिव र सचिव चन्द्रनारायण चौधरी थरुहट स्वायत्त परिषदका महासचिव छन् ।

विद्यार्थी संगठनको प्रकृति

सैद्धान्तिक प्रकृतिका हिसाबले नेपालमा दुई खाले विद्यार्थी संगठनहरू क्रियाशील रहेका छन् । एउटा, राजनीतिक विद्यार्थी संगठनहरू जो सम्बन्धित राजनीतिक दलको सैद्धान्तिक लक्ष्मण रेखाभित्र आफ्नो गतिविधि सञ्चालन गर्दै आएका छन् भने अर्को आदिवासी जनजाति, दलित र मधेसी विद्यार्थी संगठनहरू जो न्याय, समानता, स्वतन्त्रता र पहिचानको खातिर सबैखाले विभेद विरुद्धको संघर्षमा क्रियाशील छन् । राजनीतिक दलका विद्यार्थी संगठनहरू राजनीतिक दलका भावी नेता उत्पादन गर्ने एउटा प्mयाक्ट्रीको रुपमा लिइन्छ र ती विद्यार्थी नेता तथा कार्यकर्ताहरू राजनीतिक लाभका पदहरू राष्ट्रपति देखि प्रधानमन्त्री, मन्त्री, सांसद हुँदै संवैधानिक अङ्ग, निकाय, प्रतिष्ठान, आयोग लगायतका फाइदा लिइरहेका हुन्छन् । त्यस्तै आदिवासी जनजाति विद्यार्थी महासंघको नेतृत्व सिङ्गो आदिवासी जनजाति न्यायिक आन्दोलनको नेता हुन सक्ने सम्भावना बोक्छन् । हालसम्म आदिवासी जनजाति विद्यार्थी महासंघमा सदस्य संगठनका रुपमा मगर, थारु, तामाङ, नेवार, राई, लिम्बु, गुरुङ, शेर्पा कुमाल, छन्त्याल, दनुवार, याख्खा, वालुङ, ह्योल्मो, माझी, धिमाल, भूजेल, बराम, सुनुवार, थामी, थकाली, पहरी, बाह्रगाँले विद्यार्थी गरी २३ वटा संगठनहरू संगठित छन् ।
जनजाति आन्दोलनप्रति चिन्ता

नेपालमा आदिवासी जनजाति आन्दोलन आरक्षण, समावेशीता, समानुपातिकता हुँदै स्वशासन र आत्मनिर्णयको अधिकारसम्मका अधिकार प्राप्तिसम्म उठेको छ । जनजातिहरूका प्रतिनिधिमूलक संस्थाहरूले बहसमा आएका र उठ्ने गरेका आदिवासीय मुद्दाहरूलाई थेग्न गा¥हो भइरहेको परिस्थिति संघारमा आइपुगेको छ । आदिवासी जनजाति सवालमा केन्द्रित राजनीतिक दलको आवश्यकताले मात्र अहिले उठान भएका आदिवासी जनजातिका राजनीतिक मुद्दाहरू सल्टाउन सक्ने एकथरी विश्लेषकहरू जोड दिन्छन् । तथापि दल, संगठन भावनाले मात्र चल्न भने सक्दैन । ‘राजनीतिक दल हुनको लागि दर्शनको निर्माण हुनैपर्छ र सिद्धान्तले गाइडेड हुनैपर्ने’ चन्द्रविक्रम राई भन्छन्– ‘आदिवासी जनजातिको दर्शन र सिद्धान्त निर्माण गर्न सकियो भने पार्टी बन्नैनसक्ने भने होइन ।’ राई भन्छन्– ‘आदिवासी जनजाति महासंघमा राजनीतिक दलको प्रत्यक्ष घिनलाग्दो हस्तक्षेपले गाँजेको कारण आदिवासी जनजातिको आन्दोलन उठ्न नसकेको हो ।’ यस्तो खुला राजनीतिक हस्तक्षेप भएमा पहिचान र अधिकार प्राप्त गर्ने कुरा राजनीतिक दलको निगाहमा मात्र सम्भव हुने हुन्छ तर आदिवासी जनजातिका अधिकार कसैले दिने र लिने विषय कदापि होइन यस देशको नागरिक भएका कारण समानता र मानवअधिकारसँग सम्बन्धित मुद्दाहरू भएकाले स्वाभिमानका साथ स्वत प्राप्त अधिकार हो ।

विद्यार्थी महासंघका नेतृत्वले सिङ्गो आदिवासी जनजाति आन्दोलनमा चिन्तन–मनन गर्दै नगरेको अवश्य होइन  तथापि विद्यार्थी महासंघको कार्यकाल समाप्तपश्चात् सुरक्षित अवतरण हुने ठाउँ नहुँदा आन्दोलनबाट विमुख भएको एउटा कारण हुनसक्छ । लोप्चन भन्छन्– ‘भूमिकाविहीन र विकल्पविहीन भएपछि राजनीतिक दलमा हाम फाल्नु आफैमा अन्यथा होइन ।’ स्वयम् आदिवासी जनजाति आन्दोलनलाई प्रभावकारी र सबल बनाउन हरेक परिवर्तनमा रुचि राख्ने युवाविद्यार्थीहरूको ऐतिहासिक, निर्णायक र नेतृत्वदायी भूमिकालाई आदिवासी जनजाति आन्दोलनले बुभ्mनैपर्छ ।  ‘विद्यार्थीलाई जनजाति महासंघ, जनजातीय संघसंस्था लगायतले आन्दोलन गर्दा मात्र सम्झिने र औपचारिक प्लेटर्फम अर्थात बाहिरी रुपमा देखिने ‘शो’ हुने खालको कार्यक्रममा प्रस्तुत नगराउने भएकोले भूमिकाविहीन भएको’ लोप्चन बताउँछन्– ‘जनजाति आन्दोलनको कुनै प्रभावकारी जिम्मेवारी, भूमिका र स्थानमा हुन नसक्नु तथा भएको नदेखिनुको कारण प्रयोग मात्र गर्न खोज्ने उपयोगवादी प्रबृति नै हो । युवा विद्यार्थीहरूको उर्वर उमेरलाई सही कामका लागि सही जिम्मेवारी र व्यवस्थापन गर्न सके परिवर्तन सम्भव भएको इतिहास साक्षी छ । स्थापना पश्चात एक दशकको समयावधिमा विद्यार्थी महासंघको नेतृत्व सह्मालेका जनजाति युवा विद्यार्थीहरू जनजाति आन्दोलनका नेता केही मात्र बन्न सकेको देखिन्छ भने अर्कोतिर आन्दोलनबाट विमुख हुँदै गरेको र विमुख हुने सम्भावना पनि नकार्न सकिदैन ।

बहुसङ्ख्यक कै दबदबा

बोलवालाहरूको दबदबा र हस्तक्षेप नेपालको राज्यसरकारको विशेषता हो । आदिवासी जनजाति आन्दोलनमा पनि बोलवाल र सबलको हालीमुहाली सर्ललक्क सरेको देखिन्छ र आदिवासी जनजाति विद्यार्थी महासंघ त्योबाट अछुतो छैन । प्रथम राष्ट्रिय भेलादेखि चौथो महाधिवेशन सम्म आइपुग्दा विद्यार्थी महासंघको नेतृत्व र जिम्मेवार पदहरूमा आदिवासी जनजातिभित्रका बहुसङ्ख्यक समुदाय मगर, थारु, तामाङ, राई, लिम्बु, गुरुङहरू नै रहेका छन् । न्याय, समानता र समान अवसरसहितको पहिचान र अधिकारको नारा बोकेता पनि उन्नत नेवारदेखि जंगली जीवन बिताइरहेका राउटेसम्म सबै हातेमालो गरेर सँगै अगाडि जाने व्यवहारिक प्रयोग भने भएको देखिदैन । बहुसङ्ख्यकहरूकै वर्चस्व कायम छ । सबल र कमजोर सबै सँगैजाने कुरा सिद्धान्ततः मात्र होइन व्यवहारमा पनि लागू हुन जरुरी छ किनकि भावनाले एकै ठाउँमा आएका सबै आदिवासी जनजातिहरू भावनामा नै चोट पुगे त्यसले सिङ्गो आन्दोलनमा असर गर्ने प्रष्ट छ ।