मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

के पन्ध्रौ हजार छन्त्याललाई आफ्नै जातिको गतिविधि बुझ्ने अधिकार छैन ?


जुन ३,२०११/अब केही महिनापछि ११ औं राष्ट्रिय जनगणना २०६८ शुरु हुँदैछ । छन्त्यालहरुले बेलैमा यसबारे सशक्त कार्यक्रम शुरु गर्नुपर्ने हो । समय छँदै नसोच्ने, कामकुरो भैसकेपछि पछुटाउने र अरुलाई दोष दिने हाम्रो प्रवृति बन्दै आएको छ ।

केन्द्रले मामुली छलफल मञ्चको सामग्रीहरुलाई बैठकको मूल एजेण्डा बनाएर समितिका कोषाध्यक्ष बलमान छन्त्याललाई 'म्होला' लगाउने भलाकुसारी भएछ । फलस्वरुप उहाँ हामीसँग टाढिनैपर्ने बाध्यतामा पुगेको संकेत दिनुभएको छ । हामीलाई प्रश्न गर्न मन लाग्यो कि : काम छोडी कैव, गीत छोडी बात त भएन ?

वेवसाइट समयमा तयार गर्न नसकेको र देउसीभैलोको रकम केही बढी खर्च गरिएको समाचारका आधारमा मञ्च र समाचारको स्रोत खोज्न शुरु गर्ने वरिष्ठ मित्रले बरु समस्त छन्त्यालहरुले चाहेको संघको पारदर्शी वातावरणका लागि पहल गर्नुभएमा संसारभरका छन्त्यालहरुको धन्यवादको पात्र हुनुहुने थियो । हिलो छ्यापाछ्याप गर्नुभन्दा जातिका लागि केही गरौ भन्ने सोच पलाउनुपर्छ तपाई हामी सबैमा ।

मञ्चले कहिल्यै संघका नकारात्मक कार्यकलापसम्बन्धी सामग्रीहरुलाई स्थान दिएन । बरु देशभित्र र प्रवासमा रहेका थुप्रै छन्त्याल वा गैह्र छन्त्यालहरुले यसलाई छन्त्याल संघकै मुखपत्रको रुपमा लिएर प्रशंसा गर्ने गरेका छन् ।  संघलाई आपत्ति हुने के कस्ता सामग्री छन् मञ्चमा ? हामीसँग किन शिकायत गरिदैन ? हामीसँग शिकायत गर्न नहुने भए किन हाम्रा प्रस्तुति टाउको दुखाइको विषय बन्न जान्छ ?

संघको केन्द्रमा राजनीतिक, भेकीय वा व्यक्तिगत मनमुतावका आधारमा संघको अवस्था जहिले पनि हरेक प्रस्तावहरुमा विवाद र गुटबन्दी हुने गरेका कुरा सार्वजनिक भैरहेका छन् । सबैले सार्वजनिक लेखा परिक्षण गर्न थालेका छन् । खुल्ला बैठक चलाउन थालेका छन् । यस्तो वर्तमान पारदर्शीताको युगमा नेपाल छन्त्याल संघले वेवसाइट बनाएर हरेक गतिविधि प्रकाशन गरेमा इन्टरनेटमा पहुँच सबै छन्त्यालहरुमा जातिय स्वाभिमानको अनुभूति हुने र सचेतनाका लागि महत्वपूर्ण माध्यम बन्ने कुरालाई जोड दिंदा कसैको चल्नीमा तापक्रम बढ्छ किन ?

के केन्द्रिय समितिका ३१ जना फर्मालिटी पूरा गर्ने, विवाद मात्र गर्ने, बैठक पुस्तिकामा निर्णय मात्र लेख्नलाई हो हाम्रो संघ ? अरु पन्ध्रौ हजार छन्त्याललाई आफ्नै जातिको गतिविधि बुझ्ने अधिकार छैन ? यहाँ (संघका पदधिकारी)हरुलाई विनम्रतापूर्वक अनुरोध छ, आ उनुहोस् हामी सबै मिलेर जातिय उत्थानका लागि जसले जहाँबाट जे गर्न सकिन्छ योगदान गरौ । बरु संघका हरेक गतिविधिहरु मञ्चलाई उपलब्ध गराउनुस् न आधिकारिक रुपमा !

भैलोका हिसाबकिताब सबै छन्त्यालहरुलाई जानाकारी दिंदा संघमा कुनै तलमाथि हुँदैन भनेर विश्वास जितिन्छ । अझ उल्टै वास्तविक तथ्यमा रीस उठ्नुको कारण के हुन्छ ? जातिका संस्कृतिहरु लोप हुँदैछन् । जातिय किंवदन्तिहरु 'रे र रे' को आधारमा लोप हुँदै जान थालेका छन् । यो अवस्थामा न दृष्टिकोण छ न मिशन छ, न लक्ष छ न उद्देश्यहरु छन् । आपसी मनमुतावमा संघ चलाउने चेष्टा गरियो भने परिणति हुन्छ - हात लाग्यो शून्य । संघको अवस्था जस्ताको तस्तै ।

हाम्रो सल्लाहसुझाव छ संघका साथीहरुलाई - छन्त्यालहरुबीच मतभेद सृजना गरिनु हुँदैन । वर्तमान पारदर्शीताको जमानामा संकुचित सोच हट्नुपर्दछ सबैको । गल्ती काम गरेको छैन भने कसैको पनि मुखमा 'म्होला' र खुट्टामा 'नेनु' लगाउने काम हुनु हुँदैन । तत्कालका लागि जनगणना र लोपोन्मुख संस्कृतिको संरक्षणमा लागोस् हाम्रो संघ । जय छन्त्याल !!

(जातिय उत्थानका लागि केही गर्नुपर्छ भनी चासो राख्ने युवा भएकोले प्रश्न उठाउन अधिकार सम्झिएँ : योगेन्द्रमिलन छन्त्याल)