मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

तीन छन्त्याल विद्यार्थीले पाए छात्रबृत्ति

छन्त्याल डट कम/काठमाण्डौ
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अनुसार सूचिकृत ५९ आदिवासी जनजाति विद्यार्थीहरूलाई दश जोड दुई तहदेखि उच्च शिक्षासम्म छात्रबृति प्रदान गर्दै आएको ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ले आर्थिक वर्ष २०६७/६८ मा कूल ३४३ विद्यार्थीहरूमध्ये तीन छन्त्याल विद्यार्थीहरूलाई छात्रबृत्ति प्रदान गरेको छ । जसमा अमिन छन्त्याल, रुमादेवी छन्त्याल र तारा छन्त्याल रहेका छन् ।

जसले क्रमशः रू ९,७००/– (अक्षेरुपी नौ हजार सात सय मात्र) का दरले पाएका छन् । अमिन जगमान छन्त्याल र रुमादेवी चक्रप्रसाद छन्त्यालका छोरी दुबै कुइनेमंगले म्याग्दीका हुन् भने तारा छन्त्याल यामबहादुर छन्त्यालका छोरा खुंगा बागलुङका हुन् । अमिन र रुमादेवी दुबै म्याग्दी बहुमुखी क्याम्पस बेनीमा स्नातक तह व्यवस्थापन संकाय दोश्रो वर्षका विद्यार्थी हुन भने तारा छन्त्याल सरस्वती बहुमुखी क्याम्पस व्यवस्थापन संकाय पहिलो वर्षका विद्यार्थी हुन् ।

प्रतिष्ठान नेपालको ३७.२८ प्रतिशत आदिवासी जनजाति समुदायको लागि कार्य गर्ने स्थानीय विकास मन्त्रालय अन्तर्गतको एक सरकारी निकाय हो । प्रतिष्ठानले विगत एक दशकदेखि छात्रबृत्ति प्रदान गर्दै आएको छ । ‘लोपोन्मुख सामाजिक सुरक्षा भत्ता सरकारले लोपोन्मुख समुदायहरू (राउटे, कुसुन्डा, बनकरिया, चेपाङ) आदि समुदायलाई गत तीनवर्षदेखि दिन थालेपछि लोपोन्मुख समुदायका प्राथमिकदेखि माविसम्मका विद्यार्थीहरूलाई प्रदान गरिने छाञबृत्ति नदिने व्यवस्था गरिएको हो’ भन्छन् छात्रबृत्ति पनि हेर्ने सञ्चार अधिकृत राम मादेन । त्यसपश्चात् दश दुई जोडदेखि उच्च शिक्षासम्म मात्र छात्रबृत्ति प्रदान गर्ने गरिएको छ ।

प्राविधिक, अपाङ्ग, दश जोड दुइ (+२) तथा क्याम्पस तह र स्नातकोत्तर शोधपत्र (थेसिस) गरी क्रमशः ३०, ४६, २५२ र १५ गरी जम्मा ३४३ विद्यार्थीहरूलाई कूल ३७ लाख रुपैयाँको हारहारीमा छात्रबृत्ति प्रदान गरिएको अधिकृत राम मादेन बताउँछन्– ‘सरकारी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई मात्र छात्रबृति प्रदान गरिन्छ ।’ छात्रबृत्ति वैज्ञानिक हुन नसकिरहेको गुनासो बेलाबेलामा पोखिने गर्दछ ।

‘पहिला त जरामा हो मल हाल्नुपर्ने जरा नै मलिलो नभएपछि टुप्पा कसरी राम्रो हुन सक्छ ?' भन्ने प्रतिप्रश्न गर्दै छात्रबृति पाएका विद्यार्थी तारा छन्त्याल भन्छन्– ‘म बिबिस पढ्न सक्ने भएर न छात्रबृत्ति पाएँ प्रावि, निमावि, मावितहको शिक्षासमेत बिचैमा छोडेको भए म कसरी पाउनलायक हुन्थे ।’ छात्रबृत्ति पाएकोमा त्यति खुसी नभएको भन्दै उनी थप्छन्– ‘प्रावि, निमावि, माविको पढाईसमेत पढ्न नसक्ने गरीब र बिपन्न छन्त्याल भाइबहिनीहरूको बारेमा सम्बन्धित छन्त्याल संघ/संस्था तथा जिम्मेवार ठान्ने छन्त्याल व्यक्तिहरूले सोच्ने मात्र होइन केही कार्यको शुरुवात गनुपरयो ।’