मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

छन्त्यालको मौलिक पहिचान


- गोवीन्द छन्त्याल
बहुआयिमकता,सामाजिक सांस्कृतिक बहुलता र भौगोलिक विविधता नेपालको बिशेषता हो । भौगोलिक विविधता अनुसार विभिन्न क्षेत्रमा बसोबास गर्ने जाति जनजातिहरुको आफ्नै किसिमको सामाजिक, सांस्कृतिक बिशेषता र आस्थाको बिकास भएको पाईन्छ । विसं २०५८ मा गरिएको जनगणनाले यहाँ १ सय जाति र जनजाति समूहहरु, ९२ भाषाभाषी तथा ८ धार्मिक समूहहरु रहेको जनाएको छ । जस अन्तर्गत हालसम्म नेपालमा सुचिक्रित ५९ आदिवासी जनजातिहरु मध्ये छन्त्याल जाति पनि एक अल्पसंख्यक समुदाय हो ।

जसको आफ्नो छुट्टै भाषा, धर्म, संस्कृति, संस्कार, परम्परा, रीतिरिवाज, चालचलन र रहनसहन आदि रहेको छ । जसको जनसंख्या ९ हजार ८ सय १४ छ, जुन नेपालको जनसंख्याको ०.०३ प्रतिशत हुन आउछ । जसमा पुरुष ४ हजार ५ सय ४५ र महिला ५ हजार २ सय ६९को संख्यामा छन् । छन्त्याल जातिको उत्पत्ति र ईतिहासको तथ्यगत प्रमाणहरु हाल सम्म नपाए पनि वर्तमान समयमा मध्य पहाडी क्षेत्र अन्तर्गत धवलागिरी अञ्चलको म्याग्दी, बाग्लुङ, गुल्मी र प्युठान जिल्लाका क्षेत्रहरुमा मूल थतथलो हुन् । त्यसैगरी रुकुम, रुपन्देही, दाङ, काठमान्डौ, कास्की आदि जिल्लाहरुमा पनि फैलिएर रहेका छन् । बाग्लुङ र म्याग्दी जिल्लाका क्षेत्रहरुमा मुख्य बसोबास भएता पनि नेपालको ३२ जिलाहरुमा छरिएर रहेका छन् ।

छन्त्याल जनजाति बारे आजसम्म गहन ढंगले समाजशास्त्र र मानवशास्त्रीय दृष्टिकोणले अध्ययन अनुसन्धान हुन नसक्नाको कारण बुढापाकाको भनाइ, किंबदन्ती आदिको आधारमा लेखिएको ईतिहास र पहिचानका सामाग्रीहरु माथि विश्वास र भर पर्नु पर्ने बाध्यता छ । जसले गर्दा एेतिहासिक पक्ष बारे थाहा पाउन निकै कठिन र चुनौतिपूर्ण भएको देखिन्छ । यस जातिको परम्परा, सामाजिक चालचलन र ब्यबस्था, संस्कृति, भाषा , धर्म र बुढापाकाहरुको भनाइ र हाल्सम्मा छन्त्याल संग सम्बन्धित विभिन्न समयमा प्रकाशित पुस्तक, पत्रपत्रीका, लेख आदि नै यस जातिका सन्दर्भ ग्रन्थ हुन् । " छन्त्याल जातिले आफ्नो बसोबास स्थल वरिपरि भौगोलिक बातावरण र अवस्था संगै आफ्नो छुट्टै भाषा, संस्कृति, धर्म, संस्कार र मूल्य मान्यताको बिकास गरेको पाईन्छ । यस जातिको एतिहासिक उत्पत्ति, सामाजिक रीतिथिती, चालचलन, चाडपर्व, देवी देवता, धर्म, संस्कार, संस्कृति भेषभूषा, विश्वास, आस्था, मुल्य मन्यता एबं प्राकृतिक स्रोत्साधनहरुको उपयोग गर्ने तरिका अनय जाति जनजातिहरुको भन्दा फरक हुनु नै यस जनजातिको मौलिक पहिचान हो (हरिचन छन्त्याल, छन्त्याल जातिको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक अवस्थाको एक अध्ययन, २०५६)।" प्राप्त सुचना र सामाग्रीको आधारमा छन्त्यालहरु नेपालका विभिन्न आदिवासी जनजाति मध्ये एक जनजाति भएको प्रष्ट हुन्छ ।

छन्त्याल र तामाखानी बिच घनिष्ट सम्बन्ध रहेको छ । खानीको अध्ययन बिना छन्त्याल अध्ययन अपुरो हुन्छ । यिनिहरुको पुर्खौली पेशा खानि खन्ने भएको सहजै अनुमान लगाउन सकिन्छ किनकी हाल बाग्लुङ र म्याग्दी जहाँ उनिहरुको घना बस्ती छ त्यस ठाउको नाम पछाडि खानि जोडीएर आएको तथ्य बाट स्पस्ट छ । तसर्थ पछील्लो समयमा भए गरेका सामान्य विभिन्न अध्ययन, अनुसन्धानका आधारमा छन्त्यालहरु मंगोल मूलका आदिवासी जनजाति हुन् । छन्त्यालको एतिहासिक अन्तर्वस्तु बारे गहिराइमा समाज तथा मानशास्त्रीय अध्ययन र अनुसन्धान हुनु जरुरी छ । र , जसको लागि छुट्टै बहस र छलफलको खांचो र आवश्यकता हुन सक्दछ । यसर्थ यहाँ छन्त्यालको एतिहासिक पृष्ठभूमिका पक्ष बारे सबिस्तार गर्नु भन्दा पनि यसको सामाजिक, संस्कृतिक, आर्थिक र शैक्षिक अवस्था तथा पक्षलाई संक्षिप्तमा कोट्याउन जरुरी देखिन्छ। यसले छन्त्याल जतिको एक संक्षिप्त परिचय तथा चीनारीलाई समेट्नेछ वा छन्त्याल जाति परिचयको एक अंग हुनेछ ।

छन्त्यल जतिको सामाजिक सांस्कृतिक पक्ष अरुको भन्दा प्रिथक हुनु नै यस्को मौलिक पहिचान हो । यस जातिको मैलिक सामाजिक ब्यबस्था थियो र हाल पनि केही कायमै छ । संयुक्त परिवारमा बस्ने चलन बढी पाईन्छ। यस जातिमा कुनै बर्ण ब्यबस्था र छुवाछुत लगायतका अन्य विभेद थिएन र छैन पनि । यस समुदायका कुनै ब्यक्तिलाई समस्या आइपर्दा सामुहिक र ब्यक्तिगत दुबै तरिकाले सहयोग गर्ने चलन रहेको पाईन्छ । यस जाती लगनशील, इमान्दार र सहयोगी भावनाका हुन्छन । मौलिक सामाजिक ब्यबस्था र चलन छन्त्याल जातिमा अझै रहेको पाईन्छ ।

छन्त्याल जातिको परम्परागत रुपमा आस्था रहदै र मान्दै आएको धर्म प्राकृतिक धर्म हो । किनकी प्रत्येक छन्त्याल बस्तीहरुमा वायु, भूमी, पानीको मूल, खानी, कुलदेवता, शिद्ध, शिकारी, चुरेनी आदिको पूजाआजा गर्ने गरिन्छ । जस्ले गर्दा छन्त्यालहरु प्रकृति पूजाक भएको कुरा पुष्टि गर्दछ । छन्त्यालहरुले परापूर्वकाल देखी माघे संक्रांति र साउने संक्रांति बिशेष महत्वका साथ मनाउने चाड हुन । यी दुबै चाडलाई प्रमुख चाडका रुपमा लिन्छन् । तथापि दसैं तिहार जस्ता चाडहरु पनि मनाउने गर्दछन् ।

कुनै पनि जातिलाई प्रिथक बनाउने आधार उसको मौलिक संस्कृति हो । संस्कार जातीय पहिचानको आधार स्तम्भ खडा गरेको हुन्छ जुना परम्परागत रुपमा जीवन चल्दै आएको हुन्छ । छन्त्यालको पनि प्रिथक परम्परागत संस्कारहरु छन् । छन्त्यालहरुको संस्कारमा छैंठी र धुप गर्ने (न्वारान), भात खुवाई (पास्नी), पुतपुराऊ, छेवर (छोराको कपाल काट्ने) र गुन्युचोली दिने (छोरी), विवाह :(चोरी, प्रेम र मागी विवाह) र विवाह चरण ( दुलही भित्र्याउने, सोधनी जाने, माइती भेट्ने), मृत्यु संस्कार : दाह संस्कार तथा अन्त्येष्टी, काजकृया आदि पर्दछन् ।

छन्त्यालहरुले बोल्ने भाषा भोट बर्मेली परिवार संग सम्बन्धित छ । छन्त्याल भाषालाई खाम भाषा भन्ने पनि गरिन्छ । कुल जनसंख्याको ५ हजार ९ सय १२ ले मात्रा छन्त्याल भाषा बोल्ने गरेको २०५८ को तथ्यांकले देखाएको छ ।

छन्त्याल जतिको आफ्नै किसिमको परम्परागत भेषभूषा रहेको छ । खासगरी लोग्ने मनिसहरुले सुतिको भोटो र फेटा , चौबन्दी, धोती, काजबन्दी र हातले बुनेको पटुका, भेडाको उुनबाट बनेको हार्डउला, बाख्राको उुनबाट बनेको घुम, टोबे लगाउछन् र आईमाईले घलेक, छिट्को गुन्यू, मजेत्रो, चोलो, पटुका, टीका आदि लगाउछन् । त्यसैगरी महिला र पुरुष दुबैले पुवाबाट बनेको दोचा(जुत्ता) लगाउने गर्दछन् भने ओढ्नको लागि उुनबाट बनेको राडी, पाखी र काम्लो आदि बनाइन्छ । छन्त्याल महिलाले कानमा ढुङ्ग्री, माडुली, यार्लुङ, रिङ् नाकमा फूली बुलाकी घाटीमा ठ्याङरा, चारआने, नौ गेडी, तिलहरी र हातमा रैयां, बालो, चुरा र औलामा औंठी लगाउछन् । तर वर्तमान समयमा महिला र पुरुष दुबैमा यो पोशाक र गरगहना बिरलै देख्न पाईन्छ ।

छन्त्याल जातिले मनोरन्जन गर्ने र परम्परागत चलेको रीतलाई जोगाउनका लागि पिउरा, खैंचडी, मुजुरा, मौरी बाजा, पैचन, मादल, मुरली र बासुरी जस्ता लोकबाजा तथा संगीतका साधनहरु प्रयोग गरेको पाईन्छ । छन्त्याल समुदायका बिचमा झाम्रे, लालै, सोरठी, मारुनी गीत, लस्के सालैजो र यानीमाया आदि गीतहरु प्रचलित छन् । हाल छन्त्यालको एतिहासिक नाचहरु मारुनी टाढा पुरुसिङ्गे नाच र डाँफे नाच देख्न पाइदैन । तारा खेल (तोरन्लो तथा आर्चरी) छन्त्यालहरुको परम्परागत खेल हो । धनु, बाण (सर) र कोठले आदि प्रयोग गरेर यो खेल खेल्ने गरिन्छ । यस जातिमा १२ वटा थरहरु रहेको पाईन्छ । ती हुन् : घरब्जा, तथब्जा, भलन्जा, पोट्लाङ्गे, पुराने, घ्याप्चन, डाडामारे, सिङगे, घर्ती, झिंराजा, खड्का र बुढाथोकी । आन्तरिक र बाह्य दुबै संस्कृतिको प्रभावले भेषभुषा मात्र नभै अन्य सामाजिक सांस्कृतिक मूल्य मान्यता क्षीण हुँदै गएको छ ।

शैक्षिक पक्ष

छन्त्याल जातिको शैक्षिक चेतनाको आरम्भ बिसं २०२०।०२५ सालतिर छिटपुट रुपमा देखिन थालएको पाईन्छ । वर्तमान अवस्थामा यस जातिको साक्षरता करिब ४५ प्रतिशत रहेको देखिन्छ । जसमा महिला ३० र पुरुष ६० प्रतिशत साक्षर छन् । विगतदेखी वर्तमानसम्म हेर्दा अझै सम्म सन्तोषजनक शैक्षिक स्थिति छैन किनकि हाल नेपालमा ५४ प्रतिशत साक्षर छन् । तर आशा लाग्दो बिषय के छ भने करिब ७० प्रतिशत छन्त्याल बालबालिका विधालय जान्छन् । साक्षरता दर ४५ प्रतिशत भएको यस जातिको शैक्षिक अवस्था भने निकै चिन्ताजनक रहेको एक अध्ययनले देखाएको छ किनकि माध्यमिक त्यहाँ पूरा गरेकालाई आधार मान्दा कुल जनसंख्याको केवल १० प्रतिशत मात्रा शिक्षित रहेका छन् ।

मात्रीभाषामा पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरी प्राथमिक तह सम्म संचालन गर्ने सरकारको निति भएपनि सो बमोजिम हालसम्म छन्त्याल भाषामा हुन सकेको छैन । जुना हाल नेपालमा विभिन्न विधालयमा प्राथमिक तहसम्म ८ वटा मात्रीभाषामा कक्षा संचालन भैरहेको छ । बसाइसराइ गरेर सुविधा सम्पन्न शहरमा बसोबास गर्दै आएका छन्त्याल समुदायका बालबालिकाले दश जोड दुई सम्मको पढाई सन्तोषजनक भएता पनि उच्च शिक्षा प्राप्त गर्नेको संख्या न्यून अथवा शून्यप्राय नै देखिन्छ । एक शैक्षिक वर्षमा विश्वविधालयमा पाइला टेक्ने छन्त्याल विद्धार्थी १।२ जना भन्दा बढी आउन सकेको देखिदैन । छन्त्याल समुदायको शैक्षिक स्तरमा सुधार नगरे सम्म राज्यका हरेक अंगमा प्रतिनिधित्व र सहभागीता असम्भव हुन्छ । त्यसकारण शैक्षिक स्थिति सुधार गर्न सम्बन्धित समुदाय र राज्यसरकारको ध्यान जानु आवश्यक छ ।

आर्थिक पक्ष

छन्त्याल जाति आर्थिक रुपले गरिब तथा पिछडिएको जाति हो । परम्परागत पेशा खानी भएकोले तत्कालिन समयको प्रमुख आयस्रोत यसैमा आधारित भएको पाइन्छ । खानी खन्ने प्रमुख पेशा भएको खानी बन्द भएपछि कृषि र पूर्ण रुपमा पशुपालन व्यवसाय अपनाएता पनि कृषि उत्पादन योग्य जमिन तथा पशुपालनको लागि चरनहरु गैर छन्त्यालहरुले कब्जा जमाइ सकेका थिए । खानी खन्ने इजाजत खारेज भए पछि त सबका सब छन्त्यालहरु सुकुम्बासीमा परिणत भए। - डा. शास्त्रदत्त पन्त " धवलागिरीका छन्त्याल २०५३"।

जसले गर्दा आर्थिक रुपले विपन्न र गरिब हुदै गए । छन्त्यालको बस्ती पहाडी क्षेत्रको उच्च भागमा भएकोले जौं गहु मकै फापर कोदो आलू पिडालु कुनै क्षेत्रमा धान आदि बाली उत्पादन गरेको पाइन्छ । गाई भैसी भेडा बाख्रा आदि बाट बनेको दुध दही र मही प्रयोग गर्दछन् । वर्तमान समयमा यस जातिको करिब ८५ प्रतिशत जनसंख्या कृिष र पशुपालनमा आश्रित र १४ प्रतिशत जनसंख्या स्वदेशी तथा बिदेशी राजगारीमा आश्रित भएको पाइन्छ भने २ प्रतिशत मात्र विभिन्न व्यवसायमा संलग्न रहेको एक अध्ययनले देखाएको छ । आर्थिक रुपले आश्रित जनसंख्या भने करिब ४० प्रतिशत रहेको छ । पछिल्लो समयमा परम्परागत पशुपालन प्राकृतिक स्रोत साधनको उपयोग र व्यवस्थापन प्रणालीमा परिवर्तन आएको देखिन्छ । साथै विज्ञान र प्रविधिको विकास सहर केन्द्रित विभिन्न सुविधाहरुको उपलब्धता मानिसको सुविधाभोगी चाहना आदि कारणले परम्परागता ज्ञान सीप र प्रविधि भएका मानिसहरु प्रायः सहरी क्षेत्र तथा तराईतिर बसाईसराई गरेको देखिन्छ ।

निष्कर्ष

छन्त्याल समुदाय विसं २०४३ सालदेखि संस्थागत रुपमा संगठित हुन थालेको हो । यो लगभग साढे दुइ दशक अवधि निकै छोटो वामे सर्दै गरेको अवस्था पनि होइन र निकै लामो बुढो दाह्ी जुंगा पुूलेको पनि अवश्य होइन । तथापि गर्न सकेको भए प्रयाप्त समय चाहि अवश्य हो । यो अवधिमा छन्त्याल समुदायले सांगठनिक संरचना निर्माणमा ठूलै फड्को मारेको देखिन्छ । महिला, युवा, विद्यार्थी आदिको केन्द्रदेिख गाउस्तरसम्म मातहतका संगठनहरु केही बनेका र बन्ने क्रम जारी रहेको छ । तर समय र परिस्थिति अनुसार मानिसहरुको विचार चिन्तनमा फरक आउछ । त्यसलाई छन्त्याल सम्बन्धित संस्थाहरुले चिन्न र बभुन नसकेको भने सत्य हो जसले गर्दा छन्त्याल समुदायले आशातित प्रतिफल नपाउदा निराशपन छाएको छ । तसर्थ इतिहासको गर्भमा पुरिएका अरु थुप्रै रहस्यहरुको उद्घाटन गर्नका लािग छन्त्याल जातिको सामाजिक सांस्कृतिक आर्थिक भाषिक ऐतिहासिक आदि पक्षँहरुको अध्ययन संरक्षण र विकास आवश्यक छ । जसको लागि मूख्यत छन्त्याल केन्द्रित संघ संस्थाहरुको निर्णायक संयोजनकारी प्रभावकारी र समयानुकुलको भूमिका नै बढ्ता आवश्यकता हो भने राज्यसरकार र सरोकारवाला विज्ञ विद्धान र अध्ययन अनुसन्धानकर्ता आदिको पनि त्यत्तिकै आवश्यकता हो ।