मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

छन्त्याल बस्ती म्याग्दीमा म


- गोविन्द डाँडामारे छन्त्याल
यात्रा संस्मरण लेख्ने परम्परा नयाँ होइन । लेखन साहित्यको महासागरमा संस्मरणको छुट्टै स्वादको मिठास छ । समाजमा स्थापित भएका व्यक्तित्वहरुका विविधखाले संस्मरणहरु खोजी–खोजी पढ्ने गरेको पाइन्छ । र विशेषगरी यात्राको वर्णन गरेको बिबरणात्मक संस्मरणहरुले त्यस भूगोल तथा स्थानको सामाजिक, सांस्कृतिक, आर्थिक, प्राकृतिक तथा जैविक विविधताको बारेमा प्रकाश पार्ने गर्दछ । यद्यपि म्याग्दी जिल्लाको मूख्य छन्त्याल बस्तीहरुको मेरो पहिलोपटकको यात्रा साक्षात्कारले गहिराईमा पुगेर विषयहरुलाई बाहिर ल्याउन भने सक्ने छैन । त्यसैले आदरणीय आम पाठकज्यूहरुले इच्छाएबमोजिम धेरै सुचना पाउनबाट बञ्चित हुनेप्रति क्षमाप्राथी छु । तथापि मेरा दृष्टिबाट म्याग्दी जिल्लामा १४ दिनको बसाईबाट देखेका, अनुभव गरेका र साक्षात्कारबाट प्राप्त सुचनाहरुको आधारमा यात्रा बिबरणात्मक शैलीमा यो लेख लेखिएको छ । त्यसैले पनि यस लेखमा सबैका लागि आवश्यक विषयवस्तुहरु समाबेश गर्न सक्ने कुरा मेरो औकात भन्दा धेरै परको विषय भयो ।

लेख बढी छन्त्याल गाउँबस्तीहरुसित केन्द्रित संस्मरणमा आधारित छ । कतिपय स्थान, गाउँ, ठाउँ लगायतको नाम बिर्सेको कारणले फरक पर्न सक्छ त्यसमा नियतबश नठानिदिनु हुन अनुरोध पनि छ । त्यसकारण यस बिबरणात्मक लेखमा भएका कमीकमजोरीहरुलाई औंल्याइँदिएर आवश्यक सुझाब र सल्लाह दिनु हुन सबै आदरणीय पाठकहरुमा अनुरोध छ ।

नेपालमा एक सय वर्षको इतिहास बोकेको जनगणनाहरूमा ११ औं जनगणनासम्म आइपुग्दा नागरिकको तर्फबाट पर्यवेक्षण भएको इतिहास पहिलो हो । मुलुकभरि ७५ जिल्ला र थप ५ जनगणना क्षेत्रमा पर्यवेक्षकहरू पठाउने सिलसिलामा नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत धौलागिरी अञ्चलमा पर्ने पहाडी जिल्ला म्याग्दीका लागि प्रमुख पर्यवेक्षकको रुपमा  म्याग्दी गएको थिएँ । म्याग्दी जिल्लाका सबै गाबिसहरुका जात÷जातिका बारेमा जनगणना प्रक्रिया पर्यवेक्षण गर्ने जिम्मेवारी थियो नै तथापि विशेषगरी ‘छन्त्याल’ जातिको समुदायमा के कसरी जनगणनासम्बन्धी कार्य भइरहेका छन् ? भनी पर्यपेक्षण गर्नु एक महत्वपूर्ण तोकिएको निर्दिष्ट जिम्मेवारी थियो । साथै राष्ट्रिय जनगणना २०६८ नागरिक पर्यवेक्षण समितिको तर्पmबाट म्याग्दी जिल्लामा ‘अर्थुङ्गे’ र ‘कुइनेमंगले’ पर्यवेक्षणका लागि नमुना छनौट भएका गाविसहरू थिए । छन्त्याल गाउँबस्तीहरु पुग्ने सन्दर्भ र प्रसङ्ग यो भन्दा बढ्ता थिएन ।

प्रशिद्ध धौलागिरी हिमालको काखमा अवस्थित म्याग्दी जिल्ला अक्षांश २८ण्२०” उत्तरदेखि २८ण्४७” उत्तरसम्म र देशान्तर करिव ८३ण्०८” पुर्वदेखि ८३ण्५३” पुर्वसम्म फैलिएको छ । पूर्वमा कास्की र पर्वत पश्चिममा बागलुङ, डोल्पा र रुकुम, उत्तरमा मुस्ताङ र डोल्पा तथा दक्षिणमा बागलुङबाट घेरिएको यस जिल्लाको प्रशासनिक सदरमुकाम बेनी बजार हो जुन जिल्लाको सुदुर दक्षिणपूर्वमा पर्दछ । नेपालको प्रमुख पर्यटकीय स्थल पोखराबाट कवि भूपि शेरचन राजमार्ग हुँदै करीव ८० किलोमिटरको यात्राबाट पुग्न सकिने यो बजार दुई प्रमुख नदी कालीगण्डकी र म्याग्दीको संगम स्थलको रुपमा पनि रहेको छ । करिव ६३ किलोमिटर लम्बाइ र ३६.५ किलोमिटर चौडाई गरी जम्मा २२९७.०६ बर्ग किलोमिटर क्षेत्रफल रहेको यो जिल्लामा हाल ४० गाविसहरू र विसं २०५८को जनगणना अनुसार ६१ हजार २ सय ६९ महिला र ५३ हजार १ सय ७८ पुरुष गरी जम्मा १ लाख १४ हजार ४ सय ४७ जनसंख्या रहेको छ । 

जनगणना २०५८ अनुसार नेपालभरी छन्त्यालहरूको जनसंख्या पुरुष ४,५४५ र महिला ५,२६९ गरी जम्मा ९,८१४ छ, जुन नेपालको कूल जनसंख्याको ०.०३ प्रतिशत हुन आउँछ । छन्त्यालहरू सबैभन्दा बढी म्याग्दी जिल्लामा बसोबास गर्दछन् जुन महिला २,३९७ र पुरुष २,०६५ गरी जम्मा ४,४६२ बसोबास गरेको देखिन्छ ।

छन्त्याल बस्तीहरुसम्म पुग्न अप्रत्यक्ष र प्रत्यक्ष रुपमा सहयोग, सल्लाह र सुझाब दिनुहुनेप्रति ऋणी छु जसमध्ये राष्ट्रिय जनगणना पर्यवक्षेण समितिलाई पहिलो क्रेडिट जान्छ जसले प्रमुख पर्यवेक्षकको रुपमा म्याग्दी जिल्लाको जिम्मेवारी प्रदान ग¥यो नत्र अहिले नै यो यात्रा सम्भव हुने थिएन । त्यसैगरी त्यस ठाउँको भूगोलबारे पहिलो सुचना प्रदान गर्नुहुने नेपाल छन्त्याल संघका अध्यक्ष इन्द्रजित भलञ्जा छन्त्याललाई सम्झनै पर्छ । साथै बस्न सहयोग गर्नुहुने बेनीबजारमा नेपाल छन्त्याल संघ म्याग्दी जिल्लाका अध्यक्ष मुकुन्द खड्का छन्त्याल, कालीपुलमा ओम (विकास) तथप्जा छन्त्याल, पर्वत बेनीमा कृष्णा काकी (मेरो घरकै साहिँली बजेको छोरी), र देउप्रसाद छन्त्याल दाई, ध्याँसीखर्कमा पदम तथप्जा छन्त्याल, चौरखानीका चन्द्रमान घ्याप्चन छन्त्याल र कुइनेखानीका चबहादुर घरब्जा छन्त्याललाई पनि बिर्सन सक्दिन । र बेनीबजारको बसाइँमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइदिने र बोरिङ भएको बेला फुर्सदको साथी बनिदिने चन्द्रमान घरब्जा छन्त्याल भाई तथा भतिजी कल्पना घरब्जा छन्त्याल र बेनीबजारमा हाम्रो चलन अनुसार पालैपालो धेरै छाक खाना खुवाउने जसमा चितकुमारी खड्का छन्त्याल (दिदी), कमल छन्त्याल (मामा) र सुत्न दिने आफन्तजनहरु र यात्रामा बाटो देखाईदिने इमान्दार स्थनीय व्यक्तिहरु र विभिन्न सुचना दिनुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै मेरो अनुभवलाई सुचना सम्प्रेषण गरी सहयोग गर्ने कान्तिपुरका पत्रकार मित्र गणेश राई, म्याग्दी जिल्ला प्रमुख अधिकारी, जिल्ला जनगणना अधिकृत, सुपरिवेक्षकहरु, गणकहरु, सरोकारवाला सबै पक्षहरुप्रति पनि आभारी छु ।