मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

साथीलाई पत्र

-मिमप्रसाद घरब्जा छन्त्याल 
काठमाण्डौ/जुन ७, २०११
प्रिय मित्र मदन, 
विशेष लेख्नैपर्ने नयाँ र ताजा खबरहरु त खासै थिएनन् तै पनि तिम्रो याद आइरहदा आज यो पत्र कोर्ने जमर्को गर्दैछु । कुन मोडबाट शुरु गरौं आफैलाई अप्ठ्यारो महशुस भइरहेको छ । तिमीले गत महिनामा पठाएको पत्र पढ्ने मौका मिल्यो र स्वदेशमै भएता पनि विदेशको बारेमा देखे जस्तै भोगे जस्तै महशुस भयो ।

तिम्रा बास्तविकता भोगाईका कतिपय भनाईले मनमा अनेकौ तरंग उत्पन्न गराईदियो । ४०/४५ डिग्रीको गर्मीमा मेसिन झै जोतिनु अवश्य कष्टकर र पिडादायी हुन्छ नै, अत्याधिक तातो र चिसोको असरले संगै सुतेको साथी सदाको लागि नबिउँझनु झन दुःखद हो । यस्ता घटना देख्दा देख्दै पनि हामी अभागी नेपालीहरु विदेशिन बाध्य छौं र निरन्तर विदेशिई रहेका छौं । यो क्रम तीस लाख भन्दा बढी ब्यक्ति बाहिरीदा पनि रोकिने कुनै मेलोमेसो छैन । 

वास्तवमा भन्दा अहिले देशको अर्थतन्त्र नै तिमी हामी जस्ताले ज्यानको मायाँ नगरी कमाएर पठाएको रेमिट्यान्सबाट धानिएको छ । बर्षैपिच्छे फेरिने हाम्रा निकम्मा सरकारहरुले हामी जस्ता यूवाहरुलाई स्वदेशमै कसरी व्यवस्थापन गर्ने भन्ने कुनै सोंच बनाउन आवश्यक ठानेनन् । देश विकासको ठेक्का पाएका राजनैतिक दलहरु र तिनका नाइकेहरुको अकर्मन्यताले गर्दा आज हामीले यो नियती भोग्न परेको छ । यति धेरै युवाहरु विदेशिदा पनि हरेक नेपालीले जन्मनासाथ रु.१००००(दश हजार) को वैदेशिक ऋणको भार बोक्नु परेको छ ।

जलश्रोतको दोस्रो धनी देश भएर पनि दिनमा १४ घण्टा लोडसेडिङको मार खेप्नु परेको छ । प्रिय मित्र म तिमीलाई आफ्नो गाउँघर इष्टमित्र र साथीहरुको बारेमा नयाँ र ताजा खबर भनौ भने मैले गाऊँ छोडेर यो विरानो शहरमा आई बस्न थालेको पनि २ बर्ष भएछ । त्यसैले तिमीलाई यस विषयमा सेकेण्डहेण्ड खबर बाहेक ताजा हालखबरहरु बताउन त सक्दैन तै पनि मैले अन्य इष्टमित्रहरुबाट सुने अनुसार आजकल हाम्रो गाउँघरमा पनि विकाशले विस्तारै गति लिन थालेको छ रे । साँझ विहान घरघरमा बिजुली झलमल्ल बल्छ रे । यसपाली त मोटरबाटो खनेर पनि मोटर चल्न थाल्यो रे । गाउँका युवा र अलि हुनेखाने सबैको हातमा मोबाईल फोन छ रे । तर म भने उच्च शिक्षा हासिल गर्न यस विरानो शहरमा आएदेखि सबै इष्टमित्र साथीभाई सित विरानो झै भएको छु । सायद अब त धेरैले सम्झन पनि छाडिसके होलान् । तिमी परदेश भएर टाढियौ भने म स्वदेशमै भएर पनि परदेशी झै भएको छु ।

विशेषकारणवश आफ्नो गाउँघर, इष्टमित्र र साथीहरुबाट टाढिए पनि अन्य ठाउँबाट बसाइ सरी थुप्रै नयाँ नयाँ इष्टमित्रहरुसित चिनजान भएको छ । त्यसैले यस विरानो शहरमा चिनजान भएका र चिनजानै नभएका विभिन्न ब्यक्तिहरुले आयोजना गर्ने विभिन्न पार्टी, भोज र समारोहमा मलाई पनि बोलाउछन् । कहिले चिनजान भएकाको निम्तो आउँछ भने कहिले चिनजानै नभएकाहरुको पनि आउँछ । एउटै समुदाय, एउटै भेग, एउटै पेशा र वर्गका ब्यक्तिहरुले प्रत्यक्ष चिनजान नभएता पनि साथीभाईमार्फत भोजमा सहभागी हुन निम्तो पत्र पठाउँदा रहेछन् । यस्ता पार्टीहरुमा स्थायी अस्थाई कर्मचारी, विद्यार्थी, व्यापारी कसैलाई नछुटाई निम्त्याइदो रहेछ त्यति मात्र नभएर आ–आफ्ना छरछिमेकका अन्य जाति तथा समुदायका ब्यक्तिहरुलाई पनि सहभागी गराईदो रहेछ । 

यही सिलसिलामा यो महिनामा मात्र २ वटा छेवर, १ वटा विवाह र १ वटा जन्मदिन (Birthday)को निम्तो पत्र प्राप्त भएको छ । यसले मलाई गम्भिर द्विविधामा उभ्याइएदिएको छ । एकातिर म जस्तो सामान्य ब्यक्ति जो उच्च शिक्षा हासिल गर्न भर्खर काठमाण्डौ आएको छ, यस्तो ब्यक्तिलाई सम्झेर निम्तो गर्नु र विभिन्न गन्य मान्य ब्यक्तिहरु सित भेटघाट हुन पाउनु मेरो लागि सौभाग्य हो भने अर्कोतर्फ यो महिनाको खर्च ब्यवस्थापन कसरी गर्ने भन्ने गम्भिर समस्या तेर्सिएको छ । किनभने शहरमा त आधुनिक सुविधा सम्पन्न होटेल रेष्टुरेन्ट र पार्टी प्यालेसहरुमा आयोजना गरिने विवाह र छेवर जस्ता शुभकार्यका भोजमा सरिक भएवापत पनि सकेसम्म ठूलो रकम टक्र्‍याउन पर्दोरहेछ । भनाई स्वेच्छाले आफ्नै गच्छे अनुसार दक्षिणा दिने भनिएता पनि कार्यक्रम स्थलमा दक्षिण राख्ने भाडोको छेवैमा कापी कलम लिएर बस्ने बहिदारहरुको क्रियाकलापले ठूलै रकम झार्नैपर्ने बाध्यता सिर्जना गर्दोरहेछ । सकेसम्म बन्द खाममा नाम लेखी दिनुपर्ने र नाम नलेखिएको खाम भएमा सँगै रहेका जमिनदारको मुनिमजी झै राखिदिएका बहिदारजीहरुले नाम, ठेगाना सोधी दर्ता कापीमा नाम उतार्ने चलनले साँच्चिकै अप्ठ्यारो बनाउदो रहेछ । 

थोरै रकम दिदा अरुको अगाडि बेइज्जत पो हुन्छ कि भन्ने डरले प्राय मानिसहरु ५०० रुपैया भन्दा माथिकै रकम राख्दा रहेछन् । त्यति मात्र नभएर मनोरञ्जनको नाममा बोलाईएको गाउँले दमाईले पनि घटीमा रु ५०० राखेर नाच्नुपर्ने बनाउदो रहेछ अर्थात दमाइले बजाउने बाजाको तालमा एकछिन नाचे बापत पनि पैसा तिनुपर्ने संस्कारको थालनी भएको रहेछ । यस प्रकार सामान्य रुपले हेर्दा साधारण ब्यक्तिले एउटा भोजमा उपस्थित भए वापत कम्तिमा रु ५०० देखि रु.१००० सम्म खर्चको व्यवस्था गर्नुपर्दोरहेछ । हुनेखाने र धनाढ्यहरुको लागि त यो सामान्य होला तर तिमी हामी जस्ता हुदाखानेहरुको लागि यो एक किसिमको आर्थिक समस्या र शोषण हो । किनभने मलाई मेरो वुवाआमाले अड्कलेर पठाउने मासिक रु ५ हजारको खर्चबाट मैले यो रकम विनियोजन गर्नुपर्दछ । पाँच सय जम्मा गर्न मेरो वुवाआमाले कति दुःख र मेहनत गर्नु पर्दछ भन्ने त मलाई मात्र थाहा छ । 

वास्तवमा यो महिनाको खर्च व्यवस्थापन गर्न मलाई एकदमै मुश्किल भएको छ । वुवाआमालाई मात्र कति माग्नु त्यसैले प्रिय मित्र मलाई दुई हजार रुपैयाँ जति पठाई सहयोग गरन ल । म तिम्रो सहयोगको आभारी हुनेछु । यस समस्याले म मात्र होइन बोर्डिङ्ग स्कूलमा नौ हजार तलब खाएर पढाउने डम्मर दाई, विर अस्पतालमा नर्स काम गर्ने शान्ती दिदी, कतारमा रहेका श्रीमानको भरोसामा छोराछोरी पढाउन बसेकी माहिली भाउजु, किराना पसल चलाएर बस्ने देवेन्द्र भाई, नयाँ बसपार्कमा चिया पसल गरी छोराछोरी पढाउने मनोजको परिवार, नेपाल बैंकमा चौकिदार गर्ने गैराघरे साइला, ज्याला मजदुरी वा घर बनाउने काम गर्ने ओखरबोटका दाईहरु, विदेश जान भिसाको आशा गरी होटेलमा बस्ने मित्रहरु सबैलाई पिरोलेको छ । 

आफ्नो जन्मथलो र साथीभाईसितको विछोडको पीडा, महिनैपिच्छे घरबेटीले बढाउने घरभाडा, दिन दुईगुणा रात चौगुणा गरेर बढ्दै गएको महंगी, पढाईको लागि राखिएको घरखेत बन्धकी, बढ्दै गरेको ऋणको भार, योग्यता पुगेर पनि बेरोजगार हुनुपर्दाको पीडा त छदैछन, त्यसमाथि यस्ता खालका समाजिक, आर्थिक समस्याले जेलिदा उच्च शिक्षा हासिल गर्न स्वार्थै स्वार्थले भरिएको यस शहरमा आउनुपर्ने मेरो भूल भएछ कि भन्ने लाग्दछ । शुभकार्य भनेको त सम्पूर्ण इष्टमित्रहरु जमघट भई एक आपसमा सुख दुःख र शुभकामना आदान प्रदान गर्ने अवसर हो त्यसकारण यस्ता अवसरहरुमा पेसाको अस्वभाविक र अस्वस्थ प्रतिस्पर्धा गर्नु कदापि राम्रो होईन । यसले भोलिका दिनमा सिङ्गो समुदायमा वर्गिय विभाजन ल्याउछ जुन समुदायकै लागि अति घातक रहनेछ । 

यस कार्यको शुभकार्यमा आफ्नो परम्परा र संस्कृतिलाई निरन्तरता दिने नाममा हाल विभिन्न समुदायको प्रभावमा पर्दा विभिन्न तडकभडक र आर्थिक विकृतिले जरो गाडिसकेको छ । आफ्नो खुशीयालीको अवसरमा पूर्व योजना र तामझामका साथ गरिने यस्ता कार्यमा आयोजकले निःशुल्क भोजभतेरको व्यवस्था गर्न कुनै कञ्जुस्याई गर्नु हुदैनथ्यो तर यहाँ त त्यसको साटो निम्न आय भएका निम्तालुहरुको ढाड सेक्ने गरी उठाईने प्रचलन बसेको रहेछ । मैले सुन्ने गरेको थिएँ कि विदेशमा त सबै साथीहरु मिलेर पार्टी गर्ने र लागेको रकम बराबर गरी आ–आफ्नो भाग आफै तिर्ने प्रचलन छ रे यहाँ पनि त्यही चलनको सिको गरिएको हो कि ? अनि एकथरीको दृष्टीमा यसलाई सरियोको रुपमा पनि हेरिदो रहेछ । हामी जस्ता साँझ विहान छाक टार्न मुश्किल पर्ने अनि कुनै उद्देश्य पूर्तिका लागि अस्थाई रुपमा केही समय यस शहरमा बस्ने बासिन्दाले यस प्रकारको कार्यक्रम गर्न हिम्मत गर्दछौं त ? यदि गरिदैन भने हामीले तिरेको रकम फिर्ता हुने त कुरै भएन नि । त्यसैले फिर्ता नहुने रकमलाई सरियो हो भन्न त सकिदैन होला नि हैन र ? 

सबैभन्दा दुःख लाग्दो र लाजमर्दो कुरा के हो भने अन्य जाति तथा समुदायबाट आउने निम्तालुहरुको दृष्टिमा हाम्रो चलन कस्तो देखिएला भन्ने हो । विभिन्न देशी तथा विदेशी अनुसन्धानकर्ताहरु हाम्रो बसोबास रहेको दूर दराजका ग्रामीण वस्तीमा नपुगी शहर बजारमा बसोबास गर्ने ब्यक्तिहरु र उनीहरुले आयोजना गर्ने साँस्कृतिक र सामाजिक कार्यक्रमहरुलाई श्रोत सामग्री बनाउने हुनाले पनि यस्ता विकृत सांस्कृतिक, सामाजिक कार्यक्रमले सिङ्गो समुदायकै बेइजती र उपहास गराउने छ । त्यसैले जमाना जतिसुकै आधुनिक र सभ्य भएता पनि हाम्रो पहिचान र निधिको रुपमा रहेको परम्परा र संस्कृतिलाई कहिल्यै मूल्यमा आँक्नु हुदैन । जसरी परापूर्वकालदेखि हालसम्म छोरीले माईती भेट्दा लिईने एक रुपैयाको “पिछा” जिवन्त छ त्यसरी नै यस्ता हर्ष बढाईका कार्यक्रममा पनि न्यूनतम मापदण्ड निर्धारण गरी सर्वसाधारणको सहभागिता र सहकार्य हुने खालको बनाउन अति जरुरी छ । 

तिमी हामीले कल्पना गरेको समानता र भेदभावरहित समाजको सिर्जना गर्न अल्पसंख्यक टाठाबाठा र धनीहरुको हित हुने र आफ्नो समुदायकै बेइज्जत गराउने यस्ता खालका विकृत चलनको अन्त्य गरी बहुसंख्यक गरिबहरुको हित र उत्थान हुने खालको संस्कारको थालनी गर्न तिमी हामी जस्ता जागरुक ब्यक्तिहरुले हातमा हात मिलाई संघर्ष गर्नुपर्ने आवश्यकता देखिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समानता, संघीयता र स्वतन्त्रतासम्बन्धि हक अधिकारको वकालत गर्नेहरुले आफ्नै समुदाय भित्रका बिकृति, बिसंगति र असमानतालई चिर्नैपर्ने भएको छ ।

त्यसैले मित्र एकसरो सुकिलो लाउन र दुईछाक मिठो खानकै लागि विदेशीको सेवा गर्न छोडी अब त फर्क भो आफ्नै समाजको सेवा गरौं, किनभने मलाई मात्र नभई सिङ्गो समाजलाई तिम्रो साथ र सहयोग अति आवश्यक भएको छ । आशा छ तिमीले मेरो यस कार्यमा अवश्य सहयोग गर्नेछौ । लेख्दा लेख्दै पत्र पनि निकै लामो भएछ आजलाई यति नै बाँकी खबर भएमा अवश्य अर्को पत्रमा भेट हुने नै छ । 

उही तिम्रो हितैषी मित्र सागर छन्त्याल 
सामाखुशी, काठमाण्डौ, नेपाल ।