मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

म जन्मेको प्यारो गाउँ देखें


बालकुमार छन्त्याल
जुन २१, २०११/ बेलायत
आज त्यही आफु जन्मेको, हुर्केको मेरो प्यारो गाउँ देखें।
त्यही संसार हेर्न मैले पहिलो चोटि आँखा खोलेको ठाउँ देखें।

त्यही धर्ती देखें जहाँ मैले जिन्दगीको पहिलो पाइला टेकेको थिएँ ।
त्यही मेरो घर पारीको पहरामा छङ्छङ् गर्दै झर्ने झरना देखें।

त्यही मेरो घर मुनी सुसाउदै बग्ने खोली दोभान देखें।
त्यही मेरो घर नजिक मिठो पानी रसाउने मुल देखें।

म आज आफ्नै गाउँको एउटा भट्टीमा पुगेछु। त्यो भट्टीमा त उनै म सानो छँदाकी गाउँकी राम्री दिदीलाई भेटेछु । मलाई कुरकुरे बैशले छुँदासम्म ती दिदी कम्ता राम्री त थिइनिन् । उनलाई देख्यो कि कस्तो कस्तो पो हुन्थ्यो त्यति बेला। आजकल ती दिदीले भट्टी चलाउछिन् रे । उनका बुढा कतारमा हुनु हुन्छ भन्छिन् । मैले उनलाई आफुले पहिला चिनेका मान्छेहरुको नाम लिदै फलानो कहाँ छ फलानो कहाँ छ भन्दै सोध्छु । उनी भन्दै जान्छिन् फलानो दुबइमा छ, फलानो जापानमा छ, फलानो कतारमा छ । मैले चिनेको एउटा पनि मान्छे गाउँमा नभएको जसरी कुरा गर्छिन् उनी । मैले मलाई चिन्नु भो भनेर सोध्दा मलाई चिन्न नसकेको कुरा गर्छिन् ।

पछि मैले म फलानोको छोरा हुँ भनेपछि बल्ल उनले मलाई चिन्छिन् । सानोमा अल्लि काले काले थियौ तिमी अहिले त गोरो भएछौ भन्छिन् उनी । मैले काम गर्ने ठाउँमा धेरै हिउँ पर्छ,धेरै जाडो हुन्छ त्यसैले होला भन्छु म । म भित्र भित्रै खुशी पनि हुन्छु मलाई गोरो भनेको सुनेर।

केही क्षणपछि म त्यही हाम्रो घर मुन्तिरको खोली दोभानमा पुग्छु । त्यहाँ केही ठिटाहरु बल्छी खेल्दै गरेका हुन्छन् । एउटालाई मैले चिनिहालें।तिमी फलानो होइनौ र भनेर मैले सोध्दा हो भन्छ त्यो ठिटोले। मैले कुरा अघि बढाउदै भन्छु, म पनि सानो छदाँ खुब बल्छी खेल्थे नि यो खोलामा, खुब पौडी पनि खेल्थे । म त्यो ठिटोसँग हाम्रो घर नजिकैको पानीको मुलको पनि कुरा गर्छु । म भन्छु, हामी सानो हुँदा लखतरान हुँदा सम्म खेलेर थाकेपछि यही मुलमा आएर लम्पसार परेर पानी पिउने गर्थ्यौ । हुन पनि त्यो मुलको पानी जति गर्मी चढ्दै गयो त्यति नै चिसो हुने गर्थ्यो । पिउदा स्वर्गकै आनन्द आउथ्यो। मलाई अझै पनि सम्झना छ गाउँमा पानीको पाइप नआउँदासम्म सबैले त्यही मुलको पानी पिउथे ।

म त्यो ठिटोलाई मलाई चिन्यौ भनेर प्रश्न गर्छु । उसले पनि मलाई चिन्न नसकेको कुरा गर्छ। मलाई कसैले पनि नचिन्दा कता कता मेरो मन खिन्न हुन्छ । म भित्र भित्रै छट्पटाउछु। त्यतिकैमा मेरो निद्रा खुल्छ।

छेउमा टेबुलमा राखेको घडीमा हेर्छु बल्ल बिहानको ११ बजेको हुन्छ । रातको ड्युटी गरेर बिहान ७ बजे सुत्न गएको बल्ल ४ घण्टा पो सुतिएछ । भरे फेरि रातको ड्युटी गर्न जानु छ केही घण्टा त सुत्नु पर्छ भनेर मन मनै सोच्छु तर निद्रा लागे पो त ! सपनीमा देखेका त्यही कुराहरु मेरा नजर वरिपरि घुम्न थाल्छन् । जिन्दगीले लगभग तीन दशक पार गरिसकेको छ। लगभग एक दशक यही पराइको मुलुकले निलिसकेको छ । जब देशमा द्वन्द सुरु भयो मेरो परिवार पनि गाउँ छोडेर शहर पसेको थियो ।

म पनि आफ्नो भाग्य खोज्न त्यतैबाट यो पराइको मुलुक छिरेको थिएँ । म आफ्नो गाउँ नगएको पनि लगभग उही रामको चौध वर्षको वनवासको कथा जस्तै भएको छ । हुन त यो विदेशको बसाइको क्रममा दुई तीनचोटि नेपाल नगएको भने होइन । तर त्यही त हो वर्षौ पछि बल्ल बल्ल छुट्टी मिलाएर गयो, अनेकौ काम लिएर गयो । सबै समय काठमाडौं मै बित्छ। त्यसमाथि गाउँमा आफ्नो भन्ने केही पनि छैन, बसाई सर्दा सबै बेचेर शहर पसियो। भएन भनेर द्वन्द कालमा आफन्तहरु पनि लगभग सबै शहर पसे। शहर मै सबैलाई भेट्दै ठीक्क हुन्छ एक महिना त।

आज सपनीमा आफु जन्मेको गाउँ पुगेको थिएँ । त्यही घर पारीको झरना, त्यही घर मुनिको खोली दोभान, त्यही घरपरको पानीको मुल देख्दा मलाई कता कता यी सबैले एकचोटी त हामीलाई भेट्न आइज भन्दै छन् जस्तो अनुभूति भयो । तैले माया मारे पनि हामीले त तलाई बिर्सेंका छैनौ भन्दैछन् जस्तो लाग्यो। कता कता मन भारी भएर आयो। थुइक्क यो विदेशको गुलामी जिन्दगी भन्न मन लाग्यो।