मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

रमाइलो भयो यो वर्ष बेलायतमा छार म्हेङ


बेलायत । एउटा नीलो ब्यानरमा 'छन्त्याल हुनुमा हामीलाई गौरव छ' लेखिएको छ ।  त्यसको मुन्तिर बायाँ हातमा छिनो र दायाँ हातमा हथौडी समातेको लोगो रहेको प्यारो ब्यानर छ । बायाँतिर आफ्नो जन्मभूमिको चन्द्र सूर्य अंकित झण्डा टाँगिएको छ । दायाँतिर कर्मभूमि बेलायतको राष्ट्रिय झण्डा छ ।

दुई झण्डाको बीचमा म्याग्दी, मुस्ताङ र बागलुङलगायत जिल्लाहरुका विकट छन्त्याल गाउँहरुको चमकदार फोटोहरु सजिएका छन् । यो मञ्चको अगाडि रहेका डेढ सयभन्दा बढी महिला पुरुषमध्ये अधिकांश छन्त्याल पोशाकमा सजिएका छन् ।

व्यवसायिक पाइपरको मन छुँदो धुनसँगै १२ वटा बत्तिमा छन्त्याल अगुवा तुलप्रसाद भलञ्जासहित उपाध्यक्षहरु, सचिव र महासचिवले दीप प्रज्ज्वलन गर्दै छन्त्यालका १२ थर पुर्खालाई तरुल, सेल, फलफूल र रक्सी चढाउँनुभयो । हल तालीको गड्गडाहटले गुञ्जियो, रमाइलो वातावरण बढ्यो । यो वातावरण युकेमा छार म्हेङ मनाउँदा देखिएको हो ।

बेलायतमा रहेका छन्त्यालहरुले अंग्रेजी महिनाको नयाँ वर्ष (जनवरी १) मा छार म्हेङ मनाउन भेला भएका छन् । रेडिङ शहर, स्कूल रोडको हर्स्ट भिलेज हलमा कप्रसाद झिङराजाले पारदर्शी हिसाबकिताब प्रस्तुत गर्नुभयो । महासचिव वीर घरब्जा र सल्लाहकार झक घरब्जाले कार्यक्रम सञ्चालनमा सबैको ध्यान तानी रहनु भयो ।

याम घरब्जा र ईन्द्र घरब्जाका छोरी यमुना घरब्जालाई मानव स्रोत व्यवस्थापन संकायमा बेलायतबाट स्नातकोत्तर उपाधि लिनुभएकोमा संघले कदर पत्रसहित बधाइ ज्ञापन गर्‍यो । झक घरब्जा र भीमकुमारी घरब्जाका छोरी जीसीएससीमा ५ स्टार प्राप्त गर्न सफल एञ्जना घरब्जालाई पनि प्रमाण पत्रस

हित उज्ज्वल भविष्यको कामना गरियो । छन्त्यालहरुकै इज्जत बढाउन सफल किशोरीहरु सम्मानित हुँदा सबैको थपडीको आवाज बढेर आयो ।

सधै कुशलतापूर्वक आफ्नो जिम्मेवारी बहन गर्दै आउनुभएका  साँस्कृतिक  सचिव नरसिंह घरब्जाले यसपटक मीठा मीठा चुट्किलाहरु पनि पस्कनु भयो । छन्त्याल बालबालिकाको सालैजोलगायतका नृत्यहरुले गाउँघरको याद दिलाए । गाउँघरको जस्तै परिकारको खानपिनपछि नाचुँ नाचुँ लाग्ने नेपाली गीतहरुमा लजाउने छन्त्याल छन्त्याल्नीहरु पनि नाचे ।

'छन्त्याल र सर्वमान्य नेता दिलबहादुर' वृतचित्र प्रदर्शन गरियो । एक घरलाई एक वृतचित्रको सीडी वितरण गरियो । सरिता घरब्जा, हरि घरब्जा र यमूना घरब्जाले बाल खेलकूद सञ्चालन गराए । यमूनाको नेतृत्वमा बच्चाबच्चीहरुले कत्ति राम्ररी सरसफाइ गरे ! प्रगति गर्ने, पदोन्नति हुने र संघमा नव आगन्तुकहरुलाई खादा ओढाएर सम्मान गरियो । यातायात, खानपीन र व्यवस्थापन गर्ने आयोजक एवम् संघका पदाधिकारीहरुलाई हार्दिक धन्यवाद ! ओहो, दोहोरी गाएर रमाइलो गराउने वीणा र धन घरब्जालाई पनि धन्यवाद !

साच्चिकै गज्जब रमाइलो भयो यो वर्षको छार म्हेङ । क्रिस्मस र अंग्रेजी नयाँ वर्ष नै बिर्सियौ हामीले । हुन त हाम्रो मुख्य चाड भएर होला । पूर्ण विश्वास छ, अर्को वर्ष अझ रमाइलो हुनेछ, हामी सबैको भेट हुनेछ ।