मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

म्याग्दीमा सम्पन्न राष्ट्रिय स्तरको आर्चरीमा छन्त्याल संघ बिजयी


अगन्धर तिवारी, म्याग्दी, १२ असार । म्याग्दीको सदरमुकाम बेनी बजार नजिकै रहेको ज्यामरुककोट गाविस हाँडीभिरमा राष्ट्रिय स्तरको आर्चरी प्रतियोगिता सम्पन्न भएको छ । विहिबारदेखि सञ्चालन भएको राष्ट्रिय स्तरको आर्चरी प्रतियोगिता शनिवार सम्पन्न भएको हो । आर्चरी खेलले ग्रामिण बस्तीदेखि राजधानी र बिदेशमा समेत लोकप्रियता कमाउँदै गएको अवस्थामा बेनी स्पोर्टस क्लव तथा रिफ्रेसमेन्ट सेन्टरको आयोजनामा सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको हो ।

जिल्लामै पहिलो पटक आयोजना गरिएको आर्चरी प्रतियोगितामा एक सय ८९ अंक प्राप्त गर्दै छन्त्याल संघ काठमाडौले प्रतियोगिताको उपाधि जितेको हो । शनिबार साझ सम्पन्न खेलमा मनाङ मस्याङ्दी आर्चरी संघले एक सय ८३ अंक प्राप्त गरी दोस्रो र अन्नपूर्ण आर्चरी पोखराले एक सय ८२ अंक प्राप्त गरि तेस्रो भएका छन् । यसैगरी मनाङ मस्याङदी आर्चरी संघका टिम क्याप्टेन एङ्गल गुरुङ उत्कृष्ट खेलाडीको उपाधिसहित पाँच हजार रुपैया नगद पुरस्कारले सम्मान गरिएको छ ।

छन्त्याल, गुरुङ, मगर, थकाली समुदायको बस्तीमा मेला पर्वमा रमाइलो मनाउने खेलिने यसलाई तारा खेल समेत भन्ने गरिन्छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टिमले शिल्ड मेडल र प्रमाणपत्र सहित क्रमश रु. ३३ हजार, २२ हजार र ११ हजार रुपैया नगद पुरस्कार जितेका छन् । प्रतियोगितामा म्याग्दी जिल्ला भित्रका साथै मनाङ कास्की र राजधानी काठमाडौ लगायत देशका विभिन्न स्थानका ८ टिम सहभागी भएका थिए । सो मध्ये जिल्ला बाहिरका ४ टिम रहेका छन् ।

आर्चरीको नियमित प्रतियोगिता आयोजना गर्ने बेनी स्पोर्टस क्लव तथा रिफ्रेसमेन्ट सेन्टरले जनाएको छ । ब्यवसायिक रुपमै आर्चरी प्रतियोगिता सञ्चालन गर्न हालै स्थापना भएको बेनी स्पोर्टस क्लव तथा रिफ्रेसमेन्ट सेन्टरको आयोजनामा भएको प्रतियोगिताका दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो । यसलाई प्रचारप्रसार गर्न सकेमा यसबाट पर्यटन प्रवर्द्धनका लागि समेत टेवा पुग्ने म्याग्दीका पर्यटन ब्यवसायीले बताएका छन् ।