मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

राष्ट्रिय जनगणनाको प्रश्न ५०, जनजातिको चासो ५


म्याग्दीको बेनीबजार पुगेका पर्यवेक्षक गोविन्द छन्त्यालले पहिलो दिनको अनुभव सुनाउँदै कान्तिपुरलाई भने, 'गणकहरु नै जाति र थरमा स्पष्ट नरहेको पायौं । साथै धर्मको महलमा घरमूलीले जे मान्छ त्यही लेखिदिने गरेको पाइएको छ । धर्म व्यक्तिगत भएकाले घरमूलीले जे लेखायो त्यही नहुन सक्छ ।'

काठमाडौं, अषाढ ४ - राष्ट्रिय जनगणना राष्ट्रकै कार्यक्रम हो । त्यसका निम्ति ५० वटा प्रश्नावली तयार पारिएको छ । जसमा २३ वटा पारिवारिक र २७ वटा व्यक्तिगत छन् । जनगणनालाई बढी वैज्ञानिक र नेपालको परिवेशअनुकुल प्रभावकारी बनाउन प्रश्नावली निर्माण गरिएको केन्द्रीय तथ्याङ्क विभागको दावी छ । यति धेरै प्रश्नमध्ये आदिवासी जनजाति समुदायले पाँच बुँदामात्र चासोका रुपमा लिएका छन् ।

राष्ट्रिय जनगणा २०६८ का निम्ति निर्मित प्रश्नावलीमध्ये उनीहरूले व्यक्तिको नाम, थर, जाति, मातृभाषा, दोस्रो भाषा र धर्म प्रमुख ठानेका छन् । 'जनगणना जातीय पहिचानको सवाल पनि हो', किरात राई यायोक्खाका महासचिव चन्द्रविक्रम राई भन्छन्- 'यति धेरै प्रश्नमध्ये पाँचवटा मात्र हाम्रो सरोकारको विषय मानेका छौं ।'

विभागले जनगणनालाई राज्य पुनःसंरचनाको आधार निर्माण गर्ने कडीका रुपमा पनि लिएको छ । त्यसमा जाति र भाषा आधार मानिएको छ । भाषाप्रति जनजातिको बुझाइ भने अलि फरक छ । 'दोस्रो भाषाका रुपमा छिमेकमा बोलिने भाषा उल्लेख गरे, उसको पनि अस्तित्व बाँच्छ', राईको ठम्याइ छ ।

नेपाल आदिवासी जनजाति महासंघले जनगणनालाई 'मिथ्याङ्क' हुन नदिन केन्द्रदेखि स्थानीय तहसम्म सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ । 'अहिले पनि हामीले भनेजस्तो जनगणना हुनसकेको छैन', सबै पक्षको चासो उत्तिकै रहेको उल्लेख गर्दै महासंघका अध्यक्ष राजकुमार लेखी थारुले भने- 'हामीले जाति,  भाषा, धर्म स्पष्ट पार्न भनेका छौं ।'

देशभरि ८० जिल्ला जनगणना कार्यालय र साढे तीनसय इकाला जनगणना कार्यालय छन् । त्यसअन्तर्गत साढे आठहजार सुपरिवेक्षक र ३४ हजार गणक खटाइएका छन् । स्थानीय तहमा जनजाति, दलित, अल्पसंख्यक मैत्री जनगणनाका निम्ति सम्बन्धित जातिको गणक हुनुपर्ने महासंघले भनेको थियो ।

राष्ट्रिय जनगणनो, २०५८ मा देशमा सशस्त्र द्वन्द्व जारी थियो । जनगणना सुरु भएलगत्तै जेठ १९ गते दरबार हत्याकाण्ड भएको थियो । जसले गर्दा जनगणना प्रभावित बनेको थियो । द्वन्द्व प्रभावित क्षेत्रमा जनगणना लिन सकिएको थिएन । विशेषगरी पश्चिम रुकुम, रोल्पा, दैलेख आदि जिल्लाहरूमा । जसरी भएपनि दसौं राष्ट्रिय जनगणना पूरा गरियो । मुलुकको जनसंख्या २ करोड ३१ लाख ५१ हजार देखाएको छ । त्यसमध्ये ३७ दशमलब ८ प्रतिशत आदिवासी जनजातिको संख्या रहेको छ ।

जनगणनामा खटाइएका सुपरिवेक्षक र गणकले विगतमा जस्तो चौतारीमा बसेर या गाउका कुनै ठालुको घरमा मेजमान खाएर उसले जे-जे भन्यो त्यही त्यही कुरो जनगणनाको लगत लिने जमानाको अन्त्य भएको छ । विभागले दावी गरेजस्तै जनगणना तथ्याङ्क जनजजाति समुदायले मिथ्याङ्क भन्ने गरेका छन् । 'यस पटक राम्रो र हाम्रो होस् भएको चाहेका छौं', राईले भने ।

यसअघि धर्मको महलमा हिन्दु, बौद्ध, क्रिश्चियन, किरात र मुस्लिम उल्लेख थियो । यो पटक खुल्ला राखिएको छ । 'धर्म, मातृभाषा, थरमा त्यत्ति धेरै सजग छैनन्', नागरिक पर्यवेक्षण समितिको तर्फबाट म्याग्दीको बेनीबजार पुगेका पर्यवेक्षक गोविन्द छन्त्यालले पहिलो दिनको अनुभव सुनाउँदै कान्तिपुरलाई भने, 'गणकहरु नै जाति र थरमा स्पष्ट नरहेको पायौं । साथै धर्मको महलमा घरमूलीले जे मान्छ त्यही लेखिदिने गरेको पाइएको छ । धर्म व्यक्तिगत भएकाले घरमूलीले जे लेखायो त्यही नहुन सक्छ ।'

किरात जातिभित्रका राई, लिम्बू, याक्खा र सुनुवार (कोइँच)ले धर्मको महलमा 'किराँत' उल्लेख गर्दै आएका छन् । मातृभाषाको महलमा राई समूहका २४ भन्दा बढी भाषाहरू र दोस्रो भाषाको महलमा राईभित्रकै भाषा लेख्न भनेका छन् ।

किरात सुनुवार (जसलाई मुखिया भनेर पनि चिनिन्छ) जातिलाई कतिपय अवस्थामा दलित (सुनार) समेत भन्ने गरिएकोले यो जातिमा पीडा थपिएको छ । त्यसैले अबको राष्ट्रिय जनगणनामा सुनुवारले आफूलाई 'कोइँच' भनेर स्थापित गर्न चाहेको सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले बताए ।

त्यसैगरी नेपाल तामाङ घेदुङले जातिमा तामाङ, मातृभाषा तामाङ दोस्रो भाषामा जनजातिको कुनै एक भाषा र धर्ममा बौद्ध लेख्न आह्वान गरेको घेदुङका सचिव प्रतिक तामाङले बताए । नेपाल मगर संघले जातिमा मगर, मातृभाषा मगर -तीन किसिमका छन् (ढुट, काइके र खाम), दोस्रो भाषा जनजातिकै भाषा र धर्ममा बौद्ध लेखाउन आह्वान गरेको महासचिव बसन्त घर्तीमगरले बताए ।

तमु ह्युल छोंजधी (गुरुङ राष्ट्रिय परिषद)ले जातिमा गुरुङ (तमु), मातृभाषा गुरुङ (तमु), दोस्रो भाषा मगर जनजाति र धर्म बौद्ध/बोन लेख्न आव्हान गरेको परिषदका महासचिव रेशम गुरुङले जनाए । नेवाः देय दबूले जातिमा नेवार, नेपालभाषा (नेवार), दोस्रो भाषा छिमेकको भाषा र धर्म हिन्दु वा बौद्ध लेखाउने भनेको छ । धर्म व्यक्तिको इच्छाअनुसार हुने भएपनि आदिवासीय पहिचान जोगाउनका निम्ति परम्रादेखिको भाषा र धर्म लेखाउनु परेको अधिकारकर्मीको दावी छ ।

भाषाशास्त्री प्राध्यापक योगेन्द्र यादव मातृभाषापछि समुदायमा बढी बोलिने भाषालाई दोस्रो भाषा उल्लेख गर्न सकिने बताउँछन् । 'दोस्रो भाषा व्यापक सञ्चारका लागि प्रयोग गर्छौं', देश संघीय संरचनामा जाँदा सम्पर्क भाषाका रुपमा जनगणनाको लगतमा उल्लेख दोस्रो भाषा हुनसक्ने उल्लेख गर्दै भन्छन्- 'त्यसैले व्यापक सञ्चारको भाषालाई दोस्रो भाषा लेखाउन उपयुक्त हुन्छ ।'

तथ्याङ्क विभागका उपमहानिर्देशक विकास विष्टका अनुसार सबैभन्दा बढी बोलिने भाषालाई दोस्रो भाषा र व्यक्तिले दिएको विवरणअनुसार थर, धर्म उल्लेख गरिनेछ ।
- इकान्तिपुर.कम