मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

बेलायत छन्त्याल संघ छात्रवृति जोनीलाई

सेप्टेम्बर १, २०११/बेलायत । बेलायत छन्त्याल संघले जोनी छन्त्याललाई १० जोड दुईसम्मको छात्रवृति प्रदान गर्ने भएको छ । संघ अन्तर्गत गठित छात्रवृति निर्णायक समितिले जोनीलाई छात्रवृति प्रदान गर्ने निर्णय गरेको हो ।

यस वर्ष एसएलसीमा सर्वोत्कृष्ट अंकसहित उत्तिर्ण छन्त्याल विद्यार्थीहरुमध्ये संघमा जम्मा पाँचजनाको आवेदन परेको थियो । मिडिया सचिव बालकुमार छन्त्यालको संयोजकत्वमा गठित छात्रवृतिसम्बन्धि निर्णायक समितिले पांच जनामध्ये जोनीलाई चयन गरेको संघले जनाएको छ ।

जोनीले २०६७ को एसएलसी परिक्षामा म्याग्दी जिल्लामा सर्वोत्कृष्ट अंक ल्याएर विशिष्ट श्रेणीमा उत्तिर्ण गरेकी थिइन् । पिता गिरीप्रसाद र आमा विश्व छन्त्यालका माहिली छोरी जोनीको जन्म २९ बैशाख २०५२ मा भएको हो । जोनीका ४ दिदीबहिनी र एउटा भाइ रहेका छन् ।

संघले उनको दुई वर्षको मासिक शुल्क उपलब्ध गराउने भएको छ । पहिलो वर्षको छात्रवृति बेलायत छन्त्याल संघ अध्यक्ष तुलप्रसाद छन्त्याल, उहाँका श्रीमती फरम छन्त्याल, पिआर हेमप्रसाद छन्त्याल र उहाँका श्रीमती भानुकुमारी छन्त्यालद्वारा व्यक्तिगत रुपमा व्यहोरिने घोषणा गर्नुभएकोछ । "बेलायत छन्त्याल संघ छात्रवृति" पाउने उनी पहिलो छन्त्याल विद्यार्थी हुन। संघले हरेक वर्ष एस.एल.सी परिक्षामा उत्कृष्ट नतिजा ल्याइ उत्तिर्ण जेहेन्दार एकजना बिद्यार्थीलाई यो छात्रवृति प्रदान गर्ने छ ।

जोनीले ८ कक्षासम्म म्याग्दी जिल्ला सदरमुकाम बेनी बजारदेखि ३७ किलोमिटरको दूरीमा रहेको अत्यन्त विकट ताकमको एक सरकारी माध्यमिक विद्यालयमा अध्ययन गरेकी थिइन् । कक्षा ९ र १० न्यू वेष्ट प्वाइण्ट उच्च माविमा पढिन् । हाल उनी पेन्टागन इन्टरन्याशनल कलेज बानेश्वरमा पढ्दै छिन् । भौतिक विज्ञान अध्ययन गरेर कम्प्युटर इन्जिनियर बन्ने सपना छ जोनीको ।

छन्त्याल डट कम जोनीको उज्ज्वल भविष्यको कामना गर्दछ  !