मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

काठमाण्डौमा हर्सोल्लासकासाथ छारम्हेङ मनाइयो

काठमाण्डौ, १ माघ । आज छन्त्याल जातिको महान तथा राष्ट्रिय पर्व छारम्हेङ विशेष कार्यक्रमसहित मनाइयो । नेपाल छन्त्याल संघ केन्द्रीय समितिको प्राङ्गणमा औपचारिक कार्यक्रमको साथमा विविध साँस्कृतिक कार्यक्रम गरी छन्त्यालहरुले भव्य रुपमा छरम्हेङ मनाएका हुन् । गाउँहरुमा छारम्हेङलाई जसरी मनाएता पनि नेपाल छन्त्याल संघले काठमाण्डौमा पुस २६ गतेदेखि विविध खेलकुद कार्यक्रमको आयोजना गरी छारम्हेङ मनाएको छ ।

विविध खेलकुदमा तारा खेलतर्फ खुंखानी प्रथम, लाम्मेलाखानी द्वीतीय र बोंगाखानी तृतीय भएका छन् । भलिवलतर्फ बोंगाखानी प्रथम, खुंखानी  द्वीतीय र छापखानी  तृतीय भएका छन् । व्याडमिन्टनतर्फ प्रथम घोसाखानी र द्वीतीय मिलीजुली भएका छन् । छेलोमा प्रथम शिव तथब्जा भएका छन् भने द्वीतीय रेशम झिंराजा भएका छन् । घैटोफोर खेलमा प्रथम दिपक तथब्जा भएका छन् भने द्वितीयमा चित्रबहादुर घरब्जा भएका छन् ।

छारम्हेङकै अवसरमा कुस्बीर मोतिसरा स्मृति पुरस्कार निजी विद्यालयतर्फ छात्रमा अनुपम घरब्जा छन्त्याल (काठमाण्डौ), छात्रामा जोनी घरब्जा छन्त्याल (म्याग्दी) र आचल तथब्जा छन्त्याल (काठमाण्डौ) लाई प्रदान गरिएको थियो । सरकारी विद्यालयतर्फ छात्रमा लालचन घरब्जा छन्त्याल (बागलुङ) र छात्रामा अमृता घरब्जा छन्त्याल (बागलुङ) लाई प्रदान गरिएको थियो । यसैगरी ग्लोबल छन्त्याल विद्यार्थी पुरस्कार क्रमशः छात्रमा अनुपम घरब्जा छन्त्याल (काठमाण्डौ), छात्रामा जोनी घरब्जा छन्त्याल (म्याग्दी) र आचल तथब्जा छन्त्याल (काठमाण्डौ) लाई प्रदान गरिएको थियो । पुरस्कार सर्वमान्य दिलबहादुर घरब्जा, अध्यक्ष ईन्द्रजीत भलञ्जा, मीना घरब्जा, खिमेश घरब्जा, लक्ष्मी घरब्जा र रत्न घरब्जाले गर्नुभएको थियो ।

सरकारले माघ १ गतेको छारम्हेङ पर्व छन्त्याल जातिको राष्ट्रिय पर्वको रुपमा घोषणा समेत गरिसकेको छ । छन्त्याल जातिले पुर्खौदेखि माघ १ लाई छारम्हेङ (नयाँवर्ष) मनाउदै आईरहेको भएता पनि नेपाल सरकारबाट गत पौष २८ गते मात्र छन्त्याल जातिको राष्ट्रिय पर्व घोषणा भएको छ । यो खुशीयालीमा सम्पूर्ण छन्त्यालहरु खुशी र शुभकामना आदान प्रदान गरेका छन् ।

छारम्हेङ अर्थात माघेसंक्रान्तिको दिन विहान सवेरै उठेर मकरात नुहाउने गरिन्छ । आजको दिन नुहाँउदा शारीरिक रोग निको हुने जनविश्वास छ । आजको दिन विभिन्न मीठा मीठा परिकारहरु बनाई खाने, चेलीबेटीलाई तिलाअक्षेता (दान) दिने गरिन्छ । विशेष त आजको दिन तारा हान्ने चलन छ । ताराखेल (वाण हान्ने खेल) आज देखि शुरु भई जेठ महिनामा टुङ्गिन्छ । आज दिनभर तारा खेल खेली रमाईलो गरिन्छ । बर्षभरीको खेतीपातीको काम गरी आजको दिनबाट खेतीपातीको काम पनि कम हुन्छ । त्यसैले जेठ महिनासम्म अर्थात हिउदभरी घरायसी कामको साथमा मनोरञ्जन समेत गरिन्छ ।

नेपाल छन्त्याल संघ केन्द्रीय समितिको आयोजनामा संघका अध्यक्ष ईन्द्रजीत भलञ्जा छन्त्यालको सभापतित्वमा, छन्त्याल सर्वमान्य नेता दिलबहादुर घरब्जा छन्त्यालको प्रमुख अतिथिमा औपचारिक कार्यक्रम सम्पन्न भएको छ । औपचारिक कार्यक्रममा कृष्ण पुराने छन्त्यालले छन्त्याल भाषामा स्वागत भाषण गर्नुभएको थियो भने शुभकामना मन्तव्य तथा नेपाल सरकारबाट राष्ट्रिय पर्वको घोषणासम्बन्धी जानकारी संघका केन्द्रीय सदस्य दीपबहादुर भलञ्जाले गराउनुभएको थियो । 

कार्यक्रमको उद्घाटन प्रमुख अतिथिबाट पानसमा बत्ती बाली गरियो र तरुल वितरण गरी संस्कृति तथा संस्कारको सम्झना गरियो । प्रमुख अतिथी सर्वमान्य दिलबहादुर घरब्जाले आज बढी खुशी भएको कुरा बताउनु भयो । अझै पनि युवा पुस्ता जागरुक बनी संस्कार संकृति संरक्षणमा लाग्नु पर्ने बताउनुभयो । पहिलो चरणको कार्यक्रम सभापतिबाट समापन गरी दोश्रो चरणको कार्यक्रममा पुरस्कार तथा साँस्कृतिक कार्यक्रम नेपाल छन्त्याल विद्यार्थी संघले गरेको थियो ।