मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

बुटवलमा छन्त्यालहरु पाँच दिनसम्म छारम्हेङ मनाउदै


बुटवल, २४ पुस । जातीय पहिचान र उत्थान हाम्रो अभियान भन्ने नारा सहित नेपालको अल्पसंख्यक जातिमा पर्ने छन्त्याल समुदायले आफ्नो प्रमुख चाड छारम्हेङ अर्थात नयाँ बर्ष विभिन्न कार्यक्रम गरी रुपन्देहीमा पनि मनाउने भएको छ । छन्त्यालहरुले माघेसंक्रान्तिको दिन अर्थात माघ १ गते छारम्हेङ मनाउने गर्दछन् । नेपाल छन्त्याल संघ रुपन्देहीको आयोजनामा जातीय कला संस्कृति र भेषभूषा संरक्षणका लागि आजदेखि पाँच दिनसम्म तारा हान्ने, छेलो फाल्ने खेल सहितका गरी छारम्हेङ मनाउन लागेको हो ।

संघले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरी पाँचदिने कार्यक्रमबारे जानकारी गराएको हो । ताराहान्ने खेलको उद्घाटन आज हुने र फाईनल प्रतिस्पर्धा पुस २९ गते हुने पत्रकार सम्मेलनमा संघका अध्यक्ष बलबहादुर घरब्जा छन्त्यालले जानकारी दिनुभयो । प्रतियोगितामा रुपन्देही, बागलुङ, म्याग्दी, काठमाण्डौ लगायतका जिल्लाबाट १० टिम खेलाडी सहभागी हुने अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । बुटवल १४ ढवाहामा हुने प्रतियोगिताको प्रथम, द्वितीय र तृतिय हुनेलाई क्रमशः १० हजार, ६ हजार र ४ हजार तथा बेस्ट मार्करलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको पत्रकास सम्मेलनमा जानकारी गरायो ।

पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्दै संघका जिल्ला अध्यक्ष दलबहादुर छन्त्यालले राज्यले अल्पसंख्यक छन्त्याल जातिको विकास र उत्थानमा ध्यान नदिएको गुनासो गर्नुभयो । पुर्खाहरुले तामा खानीमा काम गर्ने छन्त्याल जाति समयको विकास क्रमसँगै आफ्नो पुख्यौली थलो बागलुङ, म्याग्दी, गुल्मीबाट बसाई सराई गरी काठमाण्डौ, पोखरा, रुपन्देही लगायतका ठाउँहरुमा छरिएकाले भाषा, संस्कृति लोप हुन लागेको छन्त्याल अगुवाहरुको गुनासो छ । पत्रकार सम्मेलनमा संघका निवर्तमान सचिव चक्रबहादुर छन्त्याल लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । २०६८ को जनगणना अनुसार रुपन्देहीमा १ हजार १ सय ४ जनसंख्या रहेको यो जाति देशभर १० हजार संख्यामा रहेको अनुमान छ । 
श्रोतः त्रिलोत्तमा दैनिक, रुपन्देही